गाउँको बाटो

गाउँको बाटो


✍ मौन आवाज

अहिले
उजाड छ गाउँको बाटो !
सपनामा आमा खोज्दै हिँडिरहेको टुहुरो बालक झैँ
अहिले
अलपत्र छ गाउँको बाटो ।
अविराम अभावको आँशुले कुल्चेर
अहिले
हिलाम्मे छ गाउँको बाटो !
टेकेर जानेहरूले बिर्सेपछि
नआएपछि फर्केर प्रिय पाइतालाहरू
अहिले
उदास छ गाउँको बाटो !
बूढो रुखको कापबाट
चुहिन्छ कहिलेकाहिँ जूनको उज्यालो
कहिलेकाहिँ
आइपुग्छ टाउकोमाथिको जंगलबाट
सान्त्वना बोकेर केही लहर बतासहरू !
रोगी स्वास्नीको खकारमा देखेपछि रगत
गुज्रँदै गएपछि तमसुकको म्याद
परदेश गएका छोराहरूको सम्झनामा
चिठी लेखिरहेको पिता झैँ–
अहिले
व्याकुल छ गाउँको बाटो !
स-साना बच्चा नदीहरूलाई
जसलाई पाठशाला पठाउनु छ
वनझाँक्रीहरूसँग लडेर उनिहरूलाई
जिताउनु छ
सभ्यताको नवीन संसारमा प्रवेश गराउनु छ
समयलाई अँध्यारोबाट जोगाउनु छ ।
युगौँदेखि यसरी नै
घिसार्दै घिसार्दै आफ्नो नियति
हिंडिरहेको छ गाउँको बाटो ।
यहीँबाट कति पुगे राजधानीमा नेता हुन
कोही योजना आयोगको अध्यक्ष भए
कोही इन्जिनियर भए
कोही कवि भए
कोही डाक्टर भए
कोही कलाकार भए
कोही पत्रकार भए !
तर
अहिले पनि किन उस्तै जीर्ण छ गाउँको बाटो ?