- नारद कोहार, कपिलवस्तु
कपिलबस्तुमा अनुदानको मल सहज रुपमा कृषकहरुलाई उपलब्ध हुन मुस्किल पर्ने गरेको छ । कृषि सामग्री कम्पनी लिमिटेडले अनुदानको मल सहकारी मार्फत बिक्रीवितरण गर्दै आइरहेको छ । अनुदानको मल सहकारीमार्फत वितरण भएपनि सहकारीकै पदाधिकारीहरुले आफ्ना नजिकका व्यक्ति वा नातेदार हेरे उपलब्ध गराउने गरेका र आम कृषकका लागि सहजता नभएको कृषकहरुले गुनासो गरेका छन् ।
कपिलबस्तु नगरपालिका वडा नं. ६ का कृषक जनार्दन यादवका अनुसार कम्पनीले वितरण गर्दै आएको मल सार्वसाधारण किसानले प्राप्त गर्न अति नै मुस्किल पर्ने गरेको छ ।
‘कृषि सामग्रीले सहकारीमार्फत वितरण गर्दै आएको मल सर्वसाधारण किसानले पाउँदैनन् तर एग्रोभेटहरुमा कसरी पाइएको छ ? एग्रोभेटले पाउने तर वास्तविक कृषकले किन नपाउने ?’ उनको प्रश्न छ ।
सरकारले दिएको अनुदानको मल एग्रोभेटहरुले डिएपीको तीन हजारदेखि तीन हजार आठ सयसम्म लिने गरेको कृषकहरु बताउँछन् । कपिलबस्तु नगरपालिका ६ थुम्हवाका राम मिलन धोवीका अनुसार अनुदानको मल नपाएर भारतीय बजारबाट चर्को मुल्यमा किनेर ल्याउनुपर्छ । खेत रोपेर एक साता बितिसक्दा पनि मल पाउने कुनै छाँटकाट नभएपछि भारतबाट आयात गरिने मलखाद खरिद गरेको उनको भनाइ छ ।
कृषि सामग्री कम्पनी लिमिटेड तौलिहवा शाखाका प्रमुख नरहरि पोखरेल सामग्रीमा आएको मल सहकारीमार्फत वितरण गर्दै आएको बताउँछन् । गत सोमबारदेखि केन्द्रिय परिपत्रअनुसार अर्को आदेश नआएसम्म जिल्लामा मलखादको बिक्रीवितरण बन्द गरिएको उनले बताए । तौलिहवा शाखाले १५४ सहकारीमार्फत अनुदानको मल बिक्रीवितरण गरिँदै आएको उनले बताए । यहाँ वार्षिक रुपमा २० हजार मेट्रिक टन युरिया र १५ हजार मेट्रिक टन डिएपी मल खपत हुने गरेको छ ।
यसैबीच कपिलवस्तुको शुद्धोधन गाउँपालिका ३ लवनीमा रहेको ओम कृषि सहकारी संस्थाको नाममा कृषि सामग्री कम्पनी लिमिटेड तौलिहवाबाट लगिएको ५४ बोरा रासायनिक मल अध्यक्ष भगिरथी यादवले आफ्नो ससुराली घर शुद्धोधन ६ मा रहेको बनारसी यादवको घरमा राखेपछि प्रहरीले अनुसन्धान थालेको छ ।
कृषि सामग्री कम्पनी लिमिटेड तौलिहवा शाखाले जिल्लाको कपिलबस्तु, बाणगंगा नगरपालिका, शुद्धोधन, मायादेवी र यशोधरा गाँउपालिका हेर्ने गरेको छ ।
प्रतिक्रिया