‘छिट्टै नयाँ जहाज आउँछ, तर कमिसन आउँदैन’ : मन्त्री किराती

‘छिट्टै नयाँ जहाज आउँछ, तर कमिसन आउँदैन’ : मन्त्री किराती


photo: rss

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली ध्वजाबाहक नयाँ जहाज छिट्टै खरिद गरिने बताएका छन् । प्रेस सेन्टर नेपाल झापाले बिर्तामोडमा आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री किरातीले भूपरिवेष्टित राष्ट्रको समृद्धिका लागि जहाज विकास महत्त्वपूर्ण हुने भएकाले थप जहाज ल्याउन लागिएको बताए ।

‘हाम्रो जस्तो भूपरिवेष्टित मुलुकको समृद्धिका लागि जहाज महत्त्वपूर्ण हुँदोरहेछ, तीन वटा नयाँ र दुई वटा पुराना जहाज खरिद प्रक्रियामा रहेको छ, छिट्टै ती जहाज आउँछ, तर कमिसन आउँदैन’- उनले भनेका छन् । नेपाली जहाजकै ‘कनेक्सन फ्लाइट’बाट नेपाली उत्पादनहरु विदेश निर्यात गरेर समृद्धि हासिल गर्न सकिने उनको भनाइ छ ।

मन्त्रालय सम्हालेपछि भ्रष्टाचारका प्वालहरु टाल्ने काम गरिरहेको जिकिर गर्दै उनले चार अर्ब ऋण तिरेर नयाँ जहाज किन्न सक्ने अवस्था सिर्जना भएको तर्क गरे । ‘देशको ठूलो समस्या भ्रष्टाचार हो, यसको अन्त्य जरुरी छ’ भन्दै मन्त्री किरातीले पर्यटनसम्बन्धी राष्ट्रिय नीति बनाउन सरकार लागिपरेको जानकारी दिए । नेपाली एयरपोर्ट सुरक्षित बनाउन कडाइका साथ लाग्नुपर्ने उनको धारणा थियो ।