आन्तरिक राजश्व कार्यालय डडेल्धुराद्वारा लक्ष्यभन्दा बढी राजश्व संकलन

आन्तरिक राजश्व कार्यालय डडेल्धुराद्वारा लक्ष्यभन्दा बढी राजश्व संकलन


  • डम्बर निदाल, डडेल्धुरा

आन्तरिक राजश्व कार्यालय डडेल्धुराले लक्ष्यभन्दा बढी राजश्व संकलन गरेको छ । कार्यालयले गत आर्थिक वर्ष भन्दा ३४ प्रतिशत र लक्ष्यभन्दा बढी राजश्व संकलन भएको जनाएको छ ।

सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला कार्य क्षेत्र रहे पनि डडेल्धुरा बैतडी, बझाङ र दार्चुला गरि चार जिल्लाका करदाताबाट आर्थिक वर्ष २०७८/०७९ मा ५८ करोड ६ लाख ३५ हजार रहेकोमा आर्थिक वर्ष २०७९/०८० मा ७७ करोड ७५ लाख संकलन भए पछि गत वर्ष भन्दा ३३ दशमलब ९५ ले बृद्धि भएको आन्तरिक राजश्व कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।

संकलन भएको राजस्व अन्तरगत आयकरबाट ४३ करोड ४ लाख, मूल्य अभिबृद्धि करबाट ३० करोड ५६ लाख, अन्तःशुल्क करबाट १ करोड ३९ लाख र बहालकरबाट २ करोड ४९ लाख तथा ब्याजकर लगायत अन्य बिबिध करबाट २७ लाख गरि जम्मा ७७ करोड ७५ लाख संकलन भएको आन्तरिक राजस्व कार्यालय डडेल्धुराका प्रमुख कर अधिकृत तिर्थराज बरालले जानकारी दिए ।

कार्यालयले व्यक्तिगत वा एकलौटि फर्म, आयकर, पूँजिगत लाभकर, प्रालि दर्ता तथा ब्याज लाभांश, बहाल र आकस्मिक कर, पारीश्रमिकमा आधारित सामाजिक सुरक्षा कर, बस्तु बिक्रि तथा बितरण, परामर्श र ठेक्का, संचार बिमा हवाई तथा पर्यटन सेवा, मदिरा तथा सूर्तिजन्य पदार्थ बिक्रिबितरण र औद्योगिक उत्पादन, सरकारी प्रतिष्ठान तथा व्यक्तिगत पान दर्ता गरिएका फर्महरुबाट गत आर्थिक बर्ष भरीमा उक्त राजस्व संकलन भएको हो ।

यसबाहेक कार्यालय अन्र्तगत करदाता सेवा कार्यालय डोटीले आर्थिक वर्ष २०७९/०८० मा डोटीले ३० करोड ४१ लाख र बाजुरा सहित अछामको करदाता सेवा कार्यालय अछाम साँफेले ३५ करोड ८९ लाख राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।

कार्यालयले बजार अनुगमन, लेखा परीक्षण तथा राजश्व अनुसन्धानका कार्यक्रमहरु समेत संचालन गर्नुका साथै आर्थिक वर्ष २०७९/०८० मा लक्ष्य भन्दा १४ प्रतिशतले राजश्व संकलन वृद्धि भएको आन्तरिक राजश्व कार्यालय डडेल्धुराको भनाइ छ ।

कर कार्यालयमा आउने सेवाग्राहीका लागि कार्यालय अगाडि खुलेका आधा दर्जन बढी अनलाइन सर्भिस फर्महरुले सेवाग्राहीलाई सहजीकरण र आवश्यक सेवासुविधा पनि प्रदान गरेका छन् ।