सुन तस्करीसम्बन्धी अनुसन्धान र छानवीन गर्ने प्रक्रियामा नेपाल प्रहरीलाई सामेल गर्न नचाहनुलाई रहस्यमयी घटनाका रूपमा लिइएको छ । खासगरी प्रधानमन्त्री प्रचण्डले छानवीन प्रक्रियामा प्रहरीलाई सामेल गर्न नचाहनु भएको हो ।
स्मरणीय छ, तस्करहरूले लगेजमा सुन ल्याउन छोडेर विगत केही वर्षयता कार्गोमार्फत सुन तस्करी गर्दै आएको र, भन्सारको कार्य क्षेत्रमा राजस्व र भन्सारका कर्मचारीबाहेक प्रहरीको प्रवेशलाई समेत रोक लगाइएको थियो । भन्सार क्षेत्रमा प्रहरीको प्रवेशलाई रोक लगाइएदेखि नै कार्गोमार्फत सुन तस्करी हुँदै आएको अनुमान गरिन्छ ।
दुई साताअघि सुन पक्राउ परेलगत्तै नेपाल प्रहरीले अनुसन्धान र छानवीन प्रक्रियामा सामेल हुने इच्छा दर्शाएको थियो । गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि प्रहरीको सीआइबीलाई यसको जिम्मेवारी दिनु उपयुक्त हुने सुझाव प्रधानमन्त्रीलाई दिनुभएको बताइन्छ । तर प्रधानमन्त्री प्रचण्ड कुनै हालतमा पनि प्रहरीलाई अनुसन्धान र छानवीनको जिम्मा दिन तयार हुनुभएन । जुन निकायका कर्मचारीको सहयोगबिना सुन तस्करी सम्भव हुन्न तिनै निकायका कर्मचारीलाई मात्र राखेर प्रधानमन्त्रीले छानवीन समिति बनाउनुभएको छ । विपक्षी दल नेकपा एमालेले उच्च स्तरीय समिति बनाएर छानवीन गर्नुपर्ने मागसहित दबाब दिँदा पनि प्रचण्ड त्यसनिम्ति सहजै तयार हुनुभएन । यसरी छानवीनको दायरा आफूभन्दा बाहिर जान नदिएपछि प्रधानमन्त्री प्रचण्ड नै शङ्काको घेरामा पर्नुभएको छ । आफू नियन्त्रित छानवीन समिति बनाउनुपर्ने बाध्यता प्रचण्डलाई किन पऱ्यो भन्ने विषयमा चौतर्फी प्रश्न उठाउन थालिएको छ ।
अर्कोतिर प्रहरीको सीआइबीले आफ्नै अग्रसरतामा किन छानवीन प्रक्रिया अघि बढाएन भन्ने प्रश्न पनि उठ्न थालेको छ । भनिन्छ, सीआइबीले आवश्यक ठानेका हरेक अपराधको अनुसन्धान र छानवीन गर्ने हैसियत राख्दछ । कुनै पनि प्रकृतिको अपराधमाथि छानवीन गर्न प्रहरीले प्रधानमन्त्रीको आदेश पर्खनुपर्ने वैधानिक ब्यवस्था नभएकोले पनि सीआइबीले अनुसन्धान प्रक्रिया सुरु गर्न ढिलाई गर्नुनपर्ने हो । तथापि, किन सीआइबी सुन तस्करीको छानवीन गर्न आनाकानी गर्दैछ, यो अर्को आश्चर्यको विषय बनेको छ । प्रधानमन्त्रीको ब्यवबहारले प्रधानमन्त्रीको नियतमाथि प्रश्न उठाएझैँ सीआइवीको व्यवहार पनि रहस्यमयी ठानिएको छ । उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले एउटा अर्को जोखिम मोल्दै सीआइबीलाई छानवीन र अनुसन्धान सुरु गर्न आदेश दिनुपर्ने माग सर्वत्र उठिरहेको छ ।
प्रतिक्रिया