परिवर्तन राईसम्म पुगेपछि सुन तस्करीको पर्दा खुल्ने

परिवर्तन राईसम्म पुगेपछि सुन तस्करीको पर्दा खुल्ने


अन्तर्राष्ट्रिय शक्तिले सूचना र दबाब दिएपछि मात्र करिब एक क्वीण्टल सुन पक्राउ गर्न राजस्व अनुसन्धान विभाग बाध्य बनेको जानकारी घटना र विचारलाई प्राप्त भएको छ ।

जानकारीअनुसार प्रधानमन्त्री प्रचण्डमाथि सुन तस्करी रोक्न लामो समयदेखि दबाब परिरहेको थियो । तर, प्रधानमन्त्रीले त्यसतर्फ खासै चासो दर्शाउन पाउनुभएको थिएन । पछिल्लो पटक विस्तृत सूचना नै उपलब्ध गराइएपछि मात्र नेपाल भित्रिएको सुनसहित यस कार्यमा संलग्न ब्यक्तिहरू पक्राउ पर्ने क्रम सुरु भएको बताइन्छ ।

नेपालमा केही वर्षयता व्यापक मात्रामा सुन तस्करी हुँदै आएको चर्चा चलेपनि यसरी ठूलो मात्रामा सुन पक्राउ पर्न सकेको थिएन । तस्करीका निम्ति मूख्य लगानीकर्ता मारवाडी ब्यापारीहरू रहँदै आएको र, यस कार्यमा केही राजनीतिकर्मी, तिनको परिवारका सदस्य, राजस्व अनुसन्धान र भन्सार कर्मचारी तथा भन्सार एजेण्टहरू सङ्गठित ढङ्गले संलग्न रहँदै आएको तथ्यहरूले देखाएको छ । त्रिभुवन विमानस्थलको भन्सार परिसरभित्रै अनधिकृत रूपमा ठाउँ कब्जा गरेर भन्सार एजेण्टको काम गर्दै आएका ब्यक्तिहरूलाई पक्राउ गरेर अनुसन्धान गरियो भने तस्करीमा सामेल सबैको नाम सतहमा आउने स्थिति छ ।

भन्सार एजेण्टहरूमध्ये हाल कोशी प्रदेश सरकारको महान्यायाधिवक्ता रहेका परिवर्तन राई र उनको निम्ति काम गर्दै आएका राजेन्द्र राई सबैभन्दा ‘सक्रिय’ एजेण्टमध्ये पर्दछन् । मुख्य मानिस परिवर्तन राईलाई गिरफ्तार नगरेसम्म सुन तस्करीको भित्री तहसम्म पुग्न नसकिने जानकारहरूको भनाइ छ । परिवर्तन राई भन्सार एजेण्टको रूपमा काम गर्दागर्दै अहिले कोशी प्रदेश सरकारको महान्यायाधिवक्ता बन्न पुगेका छन् । माधवकुमार नेपाललाई एउटा गाडी उपहार दिएर राजेन्द्र राई मुख्यमन्त्री हुँदा महान्यायाधिवक्ता बनाइएका परिवर्तन राईको भित्री काम अहिले पनि भन्सार एजेण्टकै भएको बताइन्छ । निज राईलाई गिरफ्तार नगरेसम्म तस्करहरूको विस्तृत विवरण प्राप्त हुन मुस्किल पर्ने विमानस्थल सूत्रले जनाएको छ ।