सवाल मर्यादाक्रमको

सवाल मर्यादाक्रमको


पत्रकारले कुनै ठाउँमा गएर समाचार सङ्कलन गर्न कसैको आदेश कुरिरहँदैन । निम्तो कुर्ने त कि निम्तालु प्रतिनिधि वा पाहुनाले हो । पत्रकार जुनसुकै पार्टी सङ्घ-सङ्गठनको समाचार सम्प्रेषणमा लाग्ने हुनाले कसै-कसैले पत्रकारलाई ‘सदावहार विपक्षी’को संज्ञा पनि दिएका छन् ।
✍ डिल्ली अम्माई

नेतादेखि कलाकर्मी, सरकारदेखि अख्तियार, सार्कदेखि यूएनओ साथै संसारका माथिल्ला वैधानिक निकायद्वारा प्यारो गरी सम्बोधन गरिने एउटा कर्मीको नाम हो- सञ्चारकर्मी । भनिन्छ, २४ घण्टमा संसारभरका यिनै कर्मीले आफ्नो कलममा चाबी लगाइदिए भने त्यो समयभित्र संसारभर बिजुली प्रवाह रोकिएभन्दा बढी नोक्सानी हुन्छ । दुर्घटना स्तरको त सीमै रहँदैन ! त्यसैले विकसित देशहरूमा पत्रकारिताको महत्वलाई शरीरमा हुने संवेदनशील सूचना सञ्चालक नशा (नर्भ)सँग तुलना गरिएको छ । शरिरमा उक्त अङ्गले काम गर्न छाड्यो भने सम्पूर्ण शरिर निर्जिव जस्तै हुन्छ । अन्य कुनै अंगले काम गर्नै सक्दैन । त्यही कार्य महत्वानुसार त्यसको जिम्मेवारी र प्रभावकारितालाई पनि शरीरले सम्मान दिएको छ । विकसित देशहरूमा पत्रकारलाई उसको क्षेत्रअनुसार सूचनाको गम्भीर सामाजिक दायित्व सुम्पेको पनि छ ।

संसारभर पत्रकारको विश्वसनीयतालाई अनुसन्धानकर्मीको प्रतिवेदनभन्दा बढी मान्यता दिइन्छ । सामान्यतया अपराध अनुसन्धान गर्ने आधारभूमि पनि पत्रकारको कलम नै हो भन्दा हुन्छ । राज्यको हात नपुगेका सामाजिक, राजनैतिक र आङ्तककारी गतिविधिका विकृत शाखाहरूसम्म आफ्नो पहुँच पुऱ्याएको हुन्छ पत्रकारले ।

त्यसैले पत्रकारको कलमभित्र अपराध अनुसन्धानको सकरात्मक झिल्काझिल्कीहरू प्रशस्त भेटिन्छन् र त्यसैको आधारमा अनुसन्धानकर्मीहरूले आफ्नो गोरेटो तय गर्दछन् । त्यसैले एउटा पत्रकारलाई सूचनावाहकको रूपमा मात्र नभएर राज्यको अत्यन्त सम्मानित अनुसन्धानकर्मीको रूपमा समेत हेरिन्छ । भन्नैपर्ने हुन्छ कि संसारभर रहेका धेरै नेपाली सङ्घ-सङ्गठनहरूले यी ‘कर्मी’लाई सम्मान दिनु त कता हो कता एउटा ‘तलबी गार्ड’लाई जत्तिको पनि महत्व दिएको देखिएन । यसबारेमा हामीसँग धेरै उदाहरणहरू छन् ।

उदाहरण-

१) बेल्जियम वा अन्य देशका सङ्घ–सङ्गठनहरूले नेपाल पत्रकार महासङ्घका कुनै पनि शाखालाई आतिथ्यताको लागि औपचारिक निमन्त्रणा गर्दछन् । तर सम्बोधन गर्ने बेलामा कि त सङ्गठनको नाम नै भनिँदैन, भन्नैपरे पुछारतिर त्यो पनि कसैले ‘चिट’ दिएर सम्झाइदियो भने सम्बोधन हुन्छ । तर कार्यक्रमको तयारी र सम्पन्न भइसकेपछि सर्वप्रथम मिडियाकर्मी खोजिन्छ । यसका सयौँ अनुभव छन् ।

२) २०१५ मा सम्पन्न एनआरएनएको कोपनहेगेन क्षेत्रिय बैठकमा नेपाल पत्रकार महासंघका कोषाध्यक्ष सूर्यमणी गौतम, के.स. रोशन पुरीलाई निम्ता दिएर नेपालबाट बोलाइयो तर न उनीहरूलाई कुनै सम्मान दिइयो न त सम्बोधन गरियो । युरोपमा पत्रकार महासङ्घको शाखा थियो । त्योसँग कुनै संयोजन नगरी नेपालबाट त्यति धेरै सञ्चारकर्मीहरू बोलाएर अत्यन्त अपमान गरियो । आखिर अहिलेसम्म एनआरएनएले त्यो अपमानजनक ब्यवहारका लागि माफी मागेको छैन, किन ? यसको उत्तर कसैसँग छ जस्तो लाग्दैन ।

बेल्जियमको एनआरएनएको पनि अवस्था त्यही छ । निश्चित समयमा पासा पुच, तमु समाज, तमु धिं लगायतका जातिय सामाजिक सङ्गठन, जनप्रगतिशील मञ्च र मोर्चालगायत भातृसङ्गठनहरूको अधिवेशन भइरहन्छ । पत्रकारलाई नदिइ नभएर दुःखसम्मत निम्तो दिइन्छ ।

पत्रकार महासङ्घका प्रतिनिधि लुरुलुरु कार्यक्रममा जान्छन् । तर, विचरा सम्मान त कता हो कता टोले समितिको नाम भनिसकेर उसको मर्यादाक्रमको ख्याल नगरी बल्लतल्ल पत्रकार महासंघको कतै-कतै नाम लिइन्छ कतै लिइँदैन । हालत अहिलेसम्म त्यो भन्दा फरक छैन । यो मान खोजेर भन्दा पनि दोहोरो सम्बन्धका आधारहरूबारे समीक्षामात्र गरिएको हो भनेर बुझौँ ।

पत्रकार भ्याएसम्म पदाधिकारीहरू साङ्गठनिक प्रतिनिधित्वका लागि र सम्वाददाता गतिविधिको रिपोर्टिङको लागि जानुपर्छ । संवाददाताले आफ्नो काम गर्छन्, त्यसको मतलव भएन तर अतिथिको रूपमा सङ्गठनको प्रतिनिधित्व गर्दै आएका प्रतिनिधिको मर्यादाक्रमबारे आयोजकलाई वास्तै हुँदैन ।

साङ्गठनिक मर्यादाक्रमबारे ख्याल गरिदिने आयोजकको काम हो । पत्रकार महासङ्घको युरोप शाखा भनेको एनआरएनएको युरोप क्षेत्रिय समितिको समान मर्यादा स्तर र हैसियतको हो भनेर भनिरहन नपर्ला । त्यस्तै एनआरएनएको राष्ट्रिय परिषद्भन्दा महत्व बोकेको नेपाल पत्रकार महासङ्घ र त्यो नभएको ठाउँमा पत्रकार संजाल हो । सके एनआरएनए भन्दा अगाडि महासंघको नाम आउनुपर्छ नभए एकैसाथ आउनुपर्छ । त्यो कुरा आयोजकले पत्रकारले भन्नुअगावै जान्ने कुरा हो ।

हुन त निम्तै नदिए पनि पत्रकारहरू कार्यक्रममा सकेसम्म पुग्नुपर्ने हुन्छ । पत्रकारले कुनै ठाउँमा गएर समाचार सङ्कलन गर्न कसैको आदेश कुरिरहँदैन । निम्तो कुर्ने त कि निम्तालु प्रतिनिधि वा पाहुनाले हो । पत्रकार जुनसुकै पार्टी सङ्घ-सङ्गठनको समाचार सम्प्रेषणमा लाग्ने हुनाले कसै-कसैले पत्रकारलाई ‘सदावहार विपक्षी’को संज्ञा पनि दिएका छन् । उसले सूचनामा अन्याय गर्दैन वा गर्नै हुँदैन । सूचनामा कुनै पनि मोलतोल गरी कसैको प्रभावले सूचनाको सानो अंशमा पनि लुकाइन्छ भने त्यो समाजप्रतिको अन्याय र घोर अपराध हो । उसले सम्प्रेषण गरेका पत्रकारिता पीत पत्रकारिताभित्र पर्दछ ।

त्यो रिपोर्टिङको पाटो भयो । आतिथ्यताको पाटो र त्यसको कर्म अलिक फरक हुन्छ । सङ्घ-सङ्गठनले निम्तो दिएको ठाँउमा अतिथि हुन आफ्नो संरचनाको मूली वा सङ्गठनले तोकेको प्रतिनिधिलाई पठाउँछ । संसारभरको प्रचलनअनुसार पठाएको पत्रकार प्रतिनिधिको मर्यादाक्रम राजदूतपछिको हुन्छ । उसले जोसुकैलाई तोकेपनि उसको मर्यादाक्रममाथि अन्याय गर्न पाइँदैन ।

जानाजान मर्यादा मिचिएको ठाउँमा बस्दा भन्दा नबस्दा स्वाभिमान जोगिन्छ । किनकि, सूचना वा समाचारको महत्वलाई संसारभर एक नम्बरमा राखिएको छ र सूचनाको वैश्विक रणनीति तय गर्ने भनेको पत्रकारहरूले नै हो । त्यसैले यति कुरा जानकारी गराउन आवश्यक यस मानेमा देखियो कि नेपाली सङ्घ-सङ्गठनहरूले यसको महत्वलाई सम्झनुपर्ने ठाउँमा पर्गेल्न थाले । भन्नुस् यो लेख सम्बन्धित पक्षको लागि नैतिक दबाब पनि हो ।

मित्रहरूलाई थाहै भएको कुरा हो कि पत्रकारलाई राज्यको चौथो भाग वा राज्य संयन्त्रको चौथो अङ्ग मानिएको छ । यसको चौथो मर्यादाक्रमलाई कानूनी राज्य भएका धेरै देशहरूले मान्यता दिएका छन् । तर हाम्रो सङ्घ-सङ्गठनहरूले पत्रकारलाई सबैभन्दा पहिलो कार्य (सूचना प्रवाह) को लागि खुब प्रयोग गर्दछन् । तर प्रतिनिधिको रूपमा निमन्त्रणा गरिसकेपछिको कार्यक्रममा सम्बोधन र सम्मान गर्दा शत्रुलाई झैँ अत्यन्त दरिद्र पारा देखाउँछन् ।

पत्रकार महासंघको हैसियत भनेको आन्तरिक मर्यादाक्रमको सूचीको अन्तिम पदावली हो भन्ने सोच्छन् क्यारे सङ्घ–सङ्गठनका सञ्चालकहरूले । पत्रकार शाखाका अध्यक्ष समुदायको सूचना क्षेत्रका अध्यक्ष हुन् भन्ने कुरा सङ्घ–सङ्गठनहरूले बुझिदिएको भए पङ्क्तिकारले यति गफ दिनैपर्ने थिएन । तर अति भएपछि भन्न बाध्य हुनुप¥यो । अब त सम्बन्धित पक्षलाई लाज लाग्ला कि, वा कुन्नि ? नाम नबताउँ, नयाँ वर्ष २०२३ आसपासको कार्यक्रममा पनि ५२औँ को सम्बोधनपछि दुःखजिलो गरेर पत्रकार महासङ्घ बेल्जियमका अध्यक्षको नाममा आसन ग्रहण गराइयो । पङ्क्तिकारलाई अति पीडाबोध भएर आयो ।

पत्रकारलाई बढी सम्मान चाहिएको हैन तर उनीहरूको महत्व र कार्यअनुसार साङ्गठनिक संरचना कुन स्तरको हो हेक्का राखेर मर्यादाक्रमलाई मिलाउनुपर्ने हुन्छ । यो सवाल, रिपोर्टिङमा गएका पत्रकारको हकमा उठाइएको कदापि हैन । कुरा अतिथि पत्रकारहरूको सन्दर्भमा मात्र हो, जसलाई अधिवेशन वा उत्सवहरूमा औपचारिक निमन्त्रणा पठाएका हुन्छन् ।

सन् २०१५ को कुरा हो, एनआरएनए कोपनहेगेन क्षेत्रिय सम्मेलनमा आफैंले निमन्त्रणा गरी नेपालबाट बोलाएका पत्रकारहरूको मानमर्दन गरिएको कुरा स्वयम् पत्रकारहरूको मुखबाट सुन्न पाइयो । पत्रकारका केन्द्रिय कोषाध्यक्षलाई सम्मेलनमा आशन ग्रहण पनि नगराइ अपराधीलाई खानतलासी गर्न ठेलामा राखी हाकिमसामु उभ्याए जस्तो गरी हदैसम्मको अपमान गरियो । त्यस्तै गत वर्ष भएको स्टकहोम बैठकमा त पत्रकारहरूले मागेको आधा घण्टा पनि दिइएन । कार्यपत्र लेखेर कार्यक्रमस्थल पुगेका पत्रकारहरू ‘बिचरा’ बनेर फर्किए ।

त्यस्तो सङ्कीर्ण र दुःखदायी अवस्थाको भोगाइ र अवस्थाहरू धेरै ठाउँमा देखेर मैले यी अक्षर कोरेको हुँ । मतलव, अरुको मर्यादाक्रमलाई ख्याल गर्न सकियो वा सूचनाकर्मीको महत्वलाई बुझ्न सकियो भने भावी पुस्ताले आयोजकहरूको मर्यादाक्रमलाई पनि पक्कै ख्याल राख्नेछन् । नत्र खालि अपमानकै लागि नेपालबाट किन पत्रकारहरूलाई बोलाइरहनु ?!

यसमा मैले के मात्रै खोजेको हो भने देश, समाज र सङ्गठनका कार्यक्रमहरूमा मर्यादाक्रमलाई युनेस्कोले बनाएको मापदण्डमा आधारित रहेर व्यवस्थित गर्नैपर्छ । त्यसले नै समूहमा विश्वास र सामूहिकताको विकास गर्छ । मर्यादाक्रम कामको महत्ताले निर्धारण गर्ने कुरा हो । कामको महत्वमा तौलेर सङ्घ-सङ्गठनहरूको मर्यादाक्रम मिलाउन सङ्घ-सङ्गठनहरूले पहल गर्नैपर्छ । यसले नै सबैसँग एउटा भावनात्मक सम्बन्धको विकासलाई विश्वासिलो नजिरको रूपमा स्थापित गर्नेछ ।

निष्कर्ष :

हाम्रो मर्यादा क्रमबारे युनेस्कोले बोलेको छ । उसले सूचनाकर्मीहरूका आधार र आगामी कार्यभारबारे पनि बोलेको छ । साथै उपरिसंरचनामा हिंसाका विविध आयामको व्याख्यासहित सूचनाकर्मीको मर्यादाक्रमको सिमा पनि तोकेको छ ।

संयुक्त राष्ट्र सङ्घको विशेष निकाय युनेस्को जसले संसारभर न्याय, विधिको नियम एवम् मानवअधिकार तथा मूलभूत स्वतन्त्रताबारे वैश्विक नीति निर्माण र अनुगमन गर्छ । यसको स्थापना १६ नोभेम्बर १९४५ मा हो । यसको निश्चित उद्देश्य संसारभर शान्ति र सुरक्षा, शिक्षा, विज्ञान एवम् संस्कृतिको क्षेत्रमा योगदान दिनु रहेको छ ।

उसले पत्रकारहरूका लागि एक अलग्गै निर्देशन जारी गरेर ‘सार्वजनिक हितको रूपमा सूचना’लाई निर्विवाद र भरोसायोग्य बनाउन विश्वभरिका पत्रकारहरूलाई आग्रह गरेको छ भने व्यवसायिक, स्वतन्त्र पत्रकारिताले सङ्कटको समयमा समुदायलाई जीवन बचाउने जानकारी प्रदान गरेर महत्वपूर्ण योगदान पु¥याएको कुरालाई कसैले बिर्सन नहुने बताएको छ । यसको सोझो अर्थ हो- समुदाय वा समुदायका अन्य सङ्घ–संस्था र पत्रकारहरूबीच दोहोरो र सम्मानपूर्ण सम्बन्ध हुनुपर्छ ।

हरेक कार्यक्रममा सूचनाकर्मीसँग विश्वब्यापी मर्यादाक्रमको मापदण्डभित्र रहेर सम्मानपूर्ण सम्बन्ध स्थापित गर्नुपर्छ । एनआरएनहरूले पनि बुझ्नुपर्छ कि पत्रकारहरू सार्वजनिक हितका लागि सूचना खोज्दै तपाईंहरूको समीप आएका हुन् । तसर्थ, साझा सार्वजनिक हितको रूपमा पत्रकारहरूलाई तपाईंहरूको सम्मानपूर्ण समर्थन चाहिन्छ ।

महामारीले हामीलाई पत्रकारहरूको कामको मूल्य अझ उच्च देखाएको छ, र उनीहरूले हरेक दिन सामना गर्ने खतराहरू कम भएका छैनन् भन्ने कुरा छर्लङ्ग पारेको छ । ज्ञात रहोस्, संसारभरि २००० भन्दा बढी पत्रकार कोभिड महामारीको कारण शहीद भएका छन् । त्यसका साथै द्वन्द्व र युद्धमा ज्यान गुमाउने पत्रकारहरूको सङ्ख्या पनि बढ्दो छ । समुदायलाई सुरक्षा सूचना प्रवाह गर्दा गर्दै सङ्क्रमित भएर उनीहरूको ज्यान गएको हो ।

कसैको धम्की, अपमान र ब्यक्तिगत सुरक्षाका कारण हामी डराएका छैनौँ । कुनै पनि अपमान, कानूनी मुद्दा, कालो प्रचार र झुटले पत्रकारहरूलाई चुप लगाउन सक्दैन । बोल्न, भन्न, उत्खनन् गर्न र कार्यपत्र प्रस्तुत गर्न नदिएर पत्रकारहरूका सूचना चियाउने क्यामरा र कलम रोकिने छैनन् । तर पनि स्थानीय सन्दर्भलाई जोडेर अपमानजनक हिंसाका विरुद्ध केही कुरा भन्न बेला-बेलामा हामी बाध्य हुनुपरेको छ । यो खाली प्रेमपूर्ण सम्बन्धका लागि हो, आपसी सम्मान र अझ बढी पारदर्शी सूचनाका हकहरूको सम्मानका लागि हो ।

पत्रकारप्रतिको उनीहरूको नियत खासगरी अवसरवादी र भ्रष्ट नेतृत्वमा रहेकाहरूको नियतको कुरालाई पखाल्न हामीले धेरै ढोकाहरू ढक्ढक्यायौँ । विश्वासपूर्ण सम्बन्धका लागि हजारौँ ढोका हजारौँ पटक ढक्ढक्यायौँ । सबैभन्दा गाह्रो कुरा मलाई लाग्छ, बुझ्ने-बुझाउने कुरा भन्दा पनि नियत बदल्ने कुरा हो । संसारभरिको महत्वपूर्ण सूचनामा पत्रकारहरू फ्रन्टलाइनमा छन् र नागरिकलाई भरपर्दो र प्रमाणित जानकारी ल्याउन हरेक दिन आफ्नो सुरक्षालाई जोखिममा राख्छन् । उनीहरूको योगदान हामी सबैको लागि अमूल्य छ । तर, धेरैसँग सुरक्षात्मक उपकरण र स्वास्थ्य सेवामा पहुँचको अभाव छ, र कसैलाई उनीहरूको स्वास्थ्य सङ्कटको बाबजुद मानसिक हिंसाका साथै जीवनको अन्तिम मूल्य तिर्न बाध्य बनाइएको छ । हामी यो कठिन र खतरनाक समयमा मिडियाकर्मीहरू र उनीहरूका परिवारसँग ऐक्यवद्धतामा खडा छौँ ।