यस्तो छ एनआईसी एशिया बैंकको चौथो त्रैमासिक वित्तीय नतिजा

यस्तो छ एनआईसी एशिया बैंकको चौथो त्रैमासिक वित्तीय नतिजा


एनआईसी एशिया बैंक लिमिटेडले आ.व. २०७९/८० को चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । मुलुकभर फैलिएका शाखा सञ्जालमार्फत आफ्ना लाखौं ग्राहकमाझ गतिशील बैंकिङ्ग प्रदान गर्दै आएको तथा बैंकिङ्ग क्षेत्रको विभिन्न वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको यस बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेको बैंकले जनाएको छ ।

बैंकले आ.व. २०७९/८० को चौथो त्रयमाससम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा रकम रू. २७१.५९ अर्ब पुऱ्याउन सफल भएको छ भने निक्षेपतर्फ कुल निक्षेप संकलन रू. ३१४.३१ अर्ब पुऱ्याउन बैंक सफल रहेको बताइएको छ । सो बैंकले यस त्रयमास सम्ममा खुद मुनाफातर्फ रू. ४.६५ अर्ब आर्जन गर्न सफल भएकोे छ, जुन वार्षिक विन्दुगत आधारमा १० प्रतिशतको वृद्धि हो ।

यसैगरी बैंकको स्व-पूँजीमा प्रतिफल १७.०७ प्रतिशत रहेको छ भने बैंकले वार्षिक प्रति शेयर आम्दानी रू. ४०.२२ आर्जन गर्न सफल भएको छ । स्व-पूँजीमा प्रतिफल र प्रति शेयर आम्दानी २० वटै बाणिज्य बैंकहरूमध्ये अग्रणी रहेको अनुमान बैंकले गरेको छ । बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जा अनुपातलाई चौथो त्रयमाससम्ममा ०.८० प्रतिशतमा सीमित राख्न सफल भएको जनाएको छ ।

एनआईसी एसिया बैंकले आ.व. २०७९/८० मा ६ लाख बढी नयाँ ग्राहक थप गर्दै ३८ लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ । यसै त्रयमाससम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८८ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ । साना तथा मझौला कर्जा लगानीमा मुलुकका समग्र वाणिज्य बैंकहरू भन्दा यस बैंक अग्रणी स्थानमा रहेको बैंकको अनुमान रहेको छ ।

ज्ञातव्य छ, एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ५५९ एटिएम, १११ वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधीरनाथ पाण्डेले जानकारी दिएका छन् ।