- डम्बर निदाल, डडेल्धुरा
पहिरोले राजमार्ग अवरुद्ध हुँदा तरकारी कुहिने अवस्थामा पुगेको छ । यसै साताको सोमबार राति परेको अविरल वर्षाका कारण भीमदत्त राजमार्ग चार दिनदेखि अबरुद्ध भएपछि डडेल्धुराको ताजा तरकारी कुहिने अवस्थामा पुगेको हो ।
सुदूरपश्चिमका नौ जिल्लामा तरकारी आपूर्ति हुने डडेल्धुराको तरकारी उपभोक्तासम्म जान नसक्दा तयार भएको तरकारी बारीमै र बिक्रीका लागि गएको तरकारी बजारबाट फिर्ता हुन थालेपछि कृषक र कृषि व्यवसायी चिन्तित भएका छन् ।
अमरगढी नगर क्षेत्रका किसानहरुले बेमौसमी रुपमा उत्पादन गरेको काउली, बन्दा काउली, टमाटर, भेडे खुर्सानी, खुर्सानी, मूला, बैगन जस्ता ताजा तरकारीहरु सोमवारको वर्षातले भिमदत्त राजमार्गअन्तर्गत कैलालीको खानीडाँडा–बुढितोला क्षेत्रमा पहिरो गई राजमार्ग पूर्ण रुपले क्षतीग्रस्त भए पछि सवारीसाधन आवागमन बन्द हुँदा तरकारी निर्यात हुननसक्दा किसानहरु मार्कामा परेका हुन् ।
बजार पठाउन लागिएको बिभिन्न तरकारी फिर्ता आएको र संकलन केन्द्रमा पनि तरकारी कुहिन थाले पछि करिब ६० क्वीन्टल अथवा १५ लाख बराबरको तरकारी नोक्सानी भएको स्थानिय कृषक खडक बहादुर ऐरले बताए ।
आकस्मिक रुपमा आएको वर्षातको पानीले राजमार्ग सडक नै आवतजावत अबरुद्ध हुने गरि ठूलो क्षती भएको भन्दै यस्तो प्राकृतिक विपदका बेला किसानलाई पनि कम भन्दा कम क्षतीको अनुभूति गराउन प्रदेश तथा स्थानीय सरकारसँग किसानहरुले माग राखेका छन् ।
अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको छ ।
प्रतिक्रिया