उत्तर कोरियाको अधिकार उल्लङ्घन र क्षेप्यास्त्र कार्यक्रमबारे समीक्षा हुने

उत्तर कोरियाको अधिकार उल्लङ्घन र क्षेप्यास्त्र कार्यक्रमबारे समीक्षा हुने


संयुक्त राज्य अमेरिकाले उत्तर कोरियाको मानव अधिकार उल्लङ्घन रेकर्ड, विश्व शान्ति र सुरक्षासँग कसरी सम्बन्धित छ भनेर समीक्षा गर्न अगस्ट १७ मा संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को सार्वजनिक बैठकलाई अनुरोध गरेको भ्वाइस अफ अमेरिका (भीओए) ले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत लिन्डा थोमस-ग्रिनफिल्डका अनुसार उत्तर कोरियाले यस वर्ष अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्रका साथै ठूलो सङ्ख्यामा ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । उत्तर कोरियाले कोरियाली प्रायद्वीपको तनावपूर्ण स्थितिका लागि संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाबीचको संयुक्त सैन्य अभ्यासलाई जिम्मेवार ठहऱ्याउँदै आएको छ र आफ्नो क्षेप्यास्त्र कार्यक्रम आफ्ना प्रतिद्वन्द्वीहरूलाई धम्काउन र ‘भय उत्पन्न गर्न’ बनाइएको दाबी गर्दै आएको छ ।

दक्षिण कोरिया, जापान र अल्बानियाका राजदूतहरूसँगको संयुक्त अन्तक्र्रियामा ग्रिनफिल्डले भन्नुभयो, ‘हामीलाई थाहा छ, उत्तर कोरियाली सरकारको मानव अधिकार उल्लङ्घनले सामूहिक विनाशका गैरकानुनी हतियार र ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रमलाई अगाडि बढाउन मद्दत पुऱ्याउँछ ।’

‘सुरक्षा परिषद्ले किम सरकारले आफ्ना नागरिक, जापान र गणतन्त्र कोरियालगायत अन्य सदस्य राष्ट्रका नागरिकविरुद्ध दिनहुँ हुने आतङ्क, दुर्व्यवहार र अपराधलाई सम्बोधन गर्नुपर्छ’, अमेरिकी राष्ट्रसङ्घका लागि अमेरिकी कुटनीतिज्ञले भनेका छन् ।

संयुक्त राज्य अमेरिकाले यसै महिना १५ सदस्यीय सुरक्षा परिषद्को आलोपालो अध्यक्षता गर्दैछ र थोमस-ग्रीनफिल्डले मानव अधिकार मुख्य विषय हुने धारणा राखेका छन् ।

सन् २०१७ पछि उत्तर कोरियामा अधिकारका विषयमा परिषद्ले पहिलो पटक सार्वजनिक सत्र आयोजना गर्न लागेको हो र ग्रीनफिल्डले यसलाई ‘लामो समयदेखि पर्खाइमा रहेको’ बताएका छन् । रूस र चीनले सुरक्षा परिषद् मानव अधिकारका विषयमा छलफल गर्ने उपयुक्त स्थान नभएको तर्क गर्ने गरेका छन् ।

तर, बिहीबार पत्रकारहरूलाई ब्रिफिङ गर्ने एक वरिष्ठ अमेरिकी अधिकारीले उत्तर कोरियाको डब्लूएमडी (सामूहिक विनाशको हतियार) र ब्यालिस्टिक क्षेप्यास्त्र प्रगतिबीचको सम्बन्धबारे अन्य कुनै पनि फोरममा ध्यान केन्द्रित नभएको बताउँदै यो नै उपयुक्त फोरम हुने बताए ।

मस्को र बेइजिङले बैठक रोक्न प्रक्रियागत मतदानका लागि आह्वान गर्न सक्छन् । त्यसपछि परिषद्का १५ सदस्यमध्ये नौ जनाले बैठक सञ्चालनका लागि प्रस्तावको पक्षमा मतदान गर्नुपर्नेछ । वरिष्ठ अमेरिकी अधिकारीका अनुसार सुरक्षा परिषदमा पर्याप्त समर्थन प्राप्त गर्ने सन्दर्भमा वासिङ्टन ‘सहज स्थानमा’ छ ।