नक्कली तुसाहिटी र ‘स्टोन क्यान्सर’को पीडा !

नक्कली तुसाहिटी र ‘स्टोन क्यान्सर’को पीडा !


इतिहास
✍ सुनिल उलक

पाटन दरबारक्षेत्र भ्रमणमा धेरैजसो पुग्ने गर्दछन्, तर त्यहीँ रहेको पाटन सङ्ग्रहालयभित्र खासै पस्दैनन् । किनकि, यो त विदेशीले मात्र हेर्ने झैँ मानिन्छ । यही पाटन सङ्ग्रहालयभित्र छ ऐतिहासिक सुन्दरी चौक तथा तुसाहिटी ।

वि.सं. १६७५ देखि १७१६ सम्म पाटनमा राज्य गरेका सिद्धिनरसिंह मल्लले पाटन क्षेत्रमा धेरै धार्मिक तथा सांस्कृतिक महत्वका कामहरू गरे । कृष्णबाट प्रभावित भएर शिखर शैलीमा कृष्णमन्दिर बनाएका थिए । यसैगरी कार्तिक नाचको शुरुवात गराए । पाटन दरबारक्षेत्रभित्र निकै सुधार गराए । थुप्रै मन्दिर तथा बिहारहरूको पनि निर्माण गराएका थिए ।

यसैमध्य उल्लेख गर्नैपर्ने पाटन दरबारको सुधारको क्रममा बनाएका तीन चोकहरू थिए- मूल चोक, केशवनारायण चोक तथा सुन्दरी चोक । सुन्दरी चोक पाटन दरबारभित्र अन्य चोकभन्दा निकै सुन्दर छ । चारैतिर आकर्षक झ्यालसहितका दरबार र बीचमा ठूलो खुला चोक । चोकको बीचमा अति नै आकर्षक धारा- जसलाई तुसाहिटी भनिन्छ, यो हिटी अर्थात् धारा ढुङ्गेधारा नै भए पनि यसको सजावट भने भिन्न प्रकारको छ ।

वि.सं. १७०४ मा जमिनको सतहभन्दा करिव ५ फिट तल तीनतिर विभिन्न ५२ वटा देवीदेवताको आकर्षक ढुङ्गेमुर्तिहरूले सजिएको तथा बीचमा अति राम्रो ढुङ्गेधारालाई सुनको जलप लगाएर बनाइएको छ । ‘तु’ भन्नाले उखु तथा ‘सा’ भन्नाले रस अर्थात् उखुको रस जस्तै मिठो पानी आउने भएकोले यो धाराको नाम तुसाहिटी (मिठो पानी आउने धारा) रहन गएको हो । तर यसमा पनि केही अन्य तर्कहरू पनि छन् । तुंसालेगु हिटी अर्थात् इनारको पानी यो धाराबाट आउने हुदा तुंसाहिटी तथा थुँसाहिटी अर्थात् धाराको मुखको आकृति राँगोको मुखजस्तो भएकोले थुँसाहिटीबाट तुसाहिटी भएको भन्नेहरू पनि छन् ।

धारा त धेरै ठाउँमा भए पनि यो धाराको महत्व विशेष हुनुको कारण यो शाही स्नान गरिने धारा भएको भन्ने गरिन्छ । तर यस तर्कलाई अस्विकार गर्नेहरू पनि छन् । चारैतिर देवीदेवताको मुर्ति राखिएको धारामा राजा वा अन्य परिवारले कसरी नुहाउन सक्छ भन्ने तर्क दिइन्छ । अति नै धार्मिक प्रवृत्तिका सिद्धिनरसिंह मल्लले नुहाउनै सक्दैनन् भन्ने धेरै छन् । तैपनि दरबारभित्रको धारा केवल सजावटको लागि मात्र बनाइएको भने पक्कै होइन । यसको उपयोग नुहाउन नै गरिन्थ्यो । धारासँगै राखिएको ठूलो चारपाटे ढुङ्गाको उपयोग नित्यकर्मको लागि गर्दथे । झण्डै १० इन्च मोटो तथा ८ फिट लम्बाइ र ४ फिट चोडाइको यो ढुङ्गामा बसेर राजा सिद्धिनरसिंह मल्लले दैनिक स्नानपछि योग तथा ध्यान गर्दथे ।

२०६७ सालमा पाटन दरबार क्षेत्रमा पुनःनिर्माणका कामहरूको थालनी भएको थियो । थालनी भएको केही समयमा नै ऐतिहासिक महत्वको तुसाहिटी चोरी भयो । यस धाराको चोरीले ठूलै हल्लाखल्ला पनि भयो । छिटो-छिटो पाटनका मुर्तिकारहरूलाई उस्तै तुसाहिटी बनाउन लगाइयो । तर संयोगले चोरी भएको एक वर्ष नहुँदै २०६८ भदौ २४ गते शनिबार प्रहरीले वास्तविक तुसाहिटी भेट्टायो । तर तुसाहिटी भेटिए पनि सुरक्षाको नाममा वास्तविक तुसाहिटी सुन्दरी चोकमा राखिएन । बरु नक्कली तुसाहिटी राखियो ।

आज पनि तुसाहिटीको वास्तविक सङ्ग्रहालयमा नै राखिएको छ भने उस्तै प्रकारको पछि बनाइएको तुसाहिटी यहाँ जडान गरिएको छ । यो त भयो हिटीको कुरा यस वर्ष तुसाहिटीमा पाटन दरबार सङ्ग्रहालयका कार्यकारी प्रमुख सुरेश लाखेसँग दरबारक्षेत्र विस्तृत रूपमा घुम्दै गर्दा तुसाहिटीवरपर बनाइएका मुर्तिहरू रहेको ढुङ्गामा भने स्टोन क्यान्सर लागेझैँ देखेपछि मैले सोधेँ- ‘के भएको यस्तो ?’ ‘भित्र-भित्र पानी पसेर भएजस्तो छ, हामीले ट्रिटमेन्ट गर्दैछौँ’ भन्ने जानकारी पाएँ । हेरौँ अबका वर्षहरूमा कतिको उपचार हुन्छ ।

तस्बिरमा वास्तविक तुसाहिटीको चोरीपछि उस्तै बनाइएको तुसाहिटीको प्रतिकृति तथा दोश्रो तस्बिर तुसाहिटी रहेको महत्त्वपूर्ण मुर्तिहरू रहेको ठाउँमा आकर्षक आकृतिहरू कुँदिएको ढुङ्गामा लागेको ‘स्टोन क्यान्सर’ । समयमै उपचार भएन भने यसले समुच्च भाग नै कुरूप बनाउने छ ।