बङ्गलादेशी नागरिकलाई बन्धक बनाउने सात जना प्रहरी नियन्त्रणमा

बङ्गलादेशी नागरिकलाई बन्धक बनाउने सात जना प्रहरी नियन्त्रणमा


काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले बङ्गलादेशका नागरिकलाई अपहरण गरी नेपाल ल्याएर शरीर बन्धक बनाउने गिरोहका सात जनालाई पक्राउ गरेको छ । पक्राउ परेका सातै जनालाई पत्रकार सम्मेलन गरी प्रहरीले आइतबार सार्वजनिक गरेको हो ।

अपरेशन ‘ब्राभो किलो’ नाम दिएर उक्त गिरोहलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक डा. मनोजकुमार केसीले जानकारी दिए ।

एसएसपी केसीका अनुसार पक्राउ पर्नेमा बङ्गलादेश गाजीपुर घर भइ काठमाडौं महानगर–९ कालिमाटी बस्ने ४७ वर्षीय अमिर होसेन, बङ्गलादेश बरिसाल घर भई ललितपुर महानगरपालिका–२८ हरिसिद्दी बस्ने ३७ वर्षीय मोहम्मद मोशिउर रहमान, बङ्गलादेश कुमिल्ला घर भई हरिसिद्दी बस्ने ३८ वर्षीय सलिम मियाँ र उनकी श्रीमती सिन्धुपाल्चोक घर भएकी २७ वर्षीय तारा नेपाली, बङ्गलादेश ढाका घर भई काठमाडौँ हाँडीगाउँ बस्ने २१ वर्षीया ताहमिना बेगम, बङगलादेश ढाका घर भई काठमाडौँ कपुरधारा बस्ने २१ वर्षीय जाहङ्गिर आलम र इलाम घर भइ काठमाडौंको नक्साल बस्ने ३३ वर्षीया रोशनी राई रहेका छन् ।

पक्राउ परेको उक्त गिरोहले बङ्गलादेशी सात जना नागरिकलाई वैदेशिक रोजगारीका लागि पोल्याण्ड लैजाने भन्दै नेपाल ल्याइ काठमाडौंका विभिन्न स्थानमा रहेका होटलमा बन्धक बनाएर राख्ने र उनीहरुका परिवारसँग पैसा माग्ने गरेको खुल्न आएको प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक ड. केसीको भनाइ छ । उक्त घटनामा प्रहरीले आठ जना बङ्गलादेशी नागरिकलाई सकुसल उद्धार गरेको बताइएको छ । पक्राउ परेकामाथि थप अनुसन्धान अघि बढाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।