कोशीमा पानीको बहाव उच्च, ५६ वटै ढोका खोलियो

कोशीमा पानीको बहाव उच्च, ५६ वटै ढोका खोलियो


सुनसरीस्थित सप्तकोशी नदीमा पानीको बहाव यस वर्षकै उच्च मापन गरिएको छ । पहाडी क्षेत्रमा लगातार भइरहेको वर्षाका कारण बाढी आएपछि कोशी ब्यारेजमा पानीको बहाव उच्च भएको हो । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहका अनुसार पानीको बहाव उच्च भएपछि अहिले कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ ।

ब्यारेजमा खतराको सङ्केत स्वरुप रातो बत्ती बालिएको जानकारी दिँदै डिएस्पी सिंहले आज बिहान ४ बजे पानीको बहाव चार लाख ६२ हजार क्युसेक मापन भएको जानकारी दिए । तथापि, अहिले पानीको बहाव केही घट्दो क्रममा रहेको छ ।

सप्तकोशीमा सन् १९८९ मा चार लाख ७२ हजार क्युसेक मापन भएको थियो । आज बिहान पनि चार बजे चार लाख ६२ हजार क्युसेक मापन गरिएको कोशी ब्यारेज कल्टोलरुमले जनाएको छ । चैतीस वर्षपछि यस वर्ष कोशीमा पानीको बहाव उच्च देखिएको हो । पानीको बहाव उच्च भएपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।