- डम्बर निदाल, डडेल्धुरा
भीमदत्त राजमार्ग पूर्णरुपमा सुचारु नहुँदा पेट्रोलियम पदार्थको अभाव भएको छ । सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने एक मात्रै राजमार्ग भीमदत्त राजमार्ग एक सातासम्म पूर्णरुपमा सुचारु हुन नसक्दा पहाडी जिल्लामा डिजेल र पेट्रोलको अभाव भएको हो ।
इन्धन आपूर्ति नहुनुका साथै विभिन्न स्थानमा पहिरो गएको कारण सवारी साधन सञ्चालनमा व्यवधान पुग्दा पहाडका किसानले उत्पादन गरेको तरकारी निर्यात हुन नसकी कुहिन थालेको छ । कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोला क्षेत्रमा यही साउन २३ गते बिहान खसेको पहिरोको कारण राजमार्ग भाँसिदा सडक अवरुद्ध भएको थियो ।
आइतबार साँझदेखि राजमार्ग आशिंक रुपमा सञ्चालन भए पनि पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङकर भने ल्याइएको छैन । दोहोरो यातायात सञ्चालन हुन नसके पनि एकतर्फी रुपमा राजमार्ग सुचारु भएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख हरि सुवेदीले जानकारी दिए । सडक मर्मतको काम पनि भइरहेको छ भने सवारी साधनलाई केही समय रोकेर एकतर्फी रुपमा सञ्चालन भइरहेका छन् पूर्ण रुपमा सञ्चालनमा आउन भने अझै समय लाग्ने उनले बताए ।
राजमार्ग पूर्ण रुपमा सञ्चालनमा नआएकाले इन्धन लोड गरेर ट्याङकर धनगढीमा राखिएको उग्रतारा पेट्रोल पम्प डडेल्धुराका सञ्चालक तेज बहादुर साँकीले जानकारी दिए । धनगढीमा पर्याप्त इन्धन भए पनि राजमार्ग अवरुद्व हुँदा ल्याउन नसकिएको उनको भनाई छ । सडक पूर्ण रुपमा सञ्चालन नहुँदा पहाडमा पेट्रोलियम पदार्थको अभाव भएको नेपाल आयल निगम प्रादेशिक कार्यालय धनगढीले जनाएको छ । धनगढीको डिपोमा पर्याप्त मात्रामा पेट्रोलियम पदार्थको मौज्जात भएता पनि राजमार्ग अवरुद्व हुँदा पहाडका लागि लोड गरिएका ट्याङकर पठाउन सकिएको छैन । एकतर्फी सञ्चालित सडकमा ट्याङकरलाई आवतजावत गर्न सहज हुने भए भोलिसम्म डडेल्धुरा इन्धन पुग्ने कार्यालयले जानकारी दिएको छ ।
तराई पहाड जोड्ने राजमार्ग अवरुद्ध भएपनि जिल्ला सदरमुकामका सडक सुचारु नै रहेका छन् । यहाँ यातायातका साधन ओहोरदोहोर गरिरहेका छन् । केही ग्रामिण सडकहरुमा पनि यातायातका साधनहरु सुचारु नै रहेका छन्, तर डिजेल, पेट्रोलको अभाव हुदा छोटो दुरीमा सञ्चालनमा रहेका यातायातका साधनहरु ठप्प हुने स्थिति सिर्जना भएको उग्रतारा डडेल्धुरा सार्वजनिक यातायात प्रा.लीका अध्यक्ष मान बहादुर साउदले बताए ।
प्रतिक्रिया