क्वार्ज क्रिष्टल’ गोरखामै राख्न पहल गरिदिन प्रधानमन्त्रीसँग माग

क्वार्ज क्रिष्टल’ गोरखामै राख्न पहल गरिदिन प्रधानमन्त्रीसँग माग


गोरखा नगरपालिकाले प्रहरीले बरामद गरी जिल्ला प्रहरी कार्यालय गोरखामा विशेष सुरक्षाका साथ राखिएको टल्कने ढुङ्गा ‘क्वार्ज क्रिष्टल’ गोरखा दरबार परिसरमा राख्ने व्यवस्था मिलाइदिन माग गर्दै प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ ।

जिल्लाका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिसहितको टोली प्रधानमन्त्री निवास बालुवाटार पुगेर नगरप्रमुख कृष्णबहादुर रानामगरले प्रधानमन्त्रीलाई टल्कने ढुङ्गा गोरखा दरबारमा नै राख्नका लागि आवश्यक पहल गरिदिन माग गर्दै ज्ञापनपत्र बुझाएको नगरपालिकाकी उपप्रमुख मसलीमाया थोकरले जानकारी दिएकी छन् ।

“गोरखा नगरपालिका–७, सतिपिपलस्थित चन्द्रबहादुर शाहीको घरबाट गत असार १४ गते बरामद गरिएको टल्कने ढुङ्गा ‘क्वार्ज क्रिष्टल’ भएको खानी तथा भूगर्भ विभागले पुष्टि गरिसकेको छ, शाही परिवारले पुर्खौंदेखि कुल देवताका रूपमा पूजा गर्दै आएको अलौकिक शिला गोरखा दरबारमा नै प्रतिस्थापन गर्नु उपयुक्त हुन्छ”, ज्ञापनपत्रमा भनिएको छ ।

प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा गोरखा नगर कार्यपालिका बैठक तथा नगरपालिकासहित विभिन्न सङ्घसंस्था र सरोकारवालाको बैठक बसेर टल्कने ढुङ्गा जिल्ला बाहिर पठाउन नहुने र गोरखा दरबार परिसरमा नै आवश्यक सुरक्षासहित राख्ने निर्णय गरिसकेको उल्लेख गरिएको छ ।

गोरखा जिल्लाका आमनागरिक समाज, बुद्धिजीवी, सङ्घसंस्था, राजनैतिक दल तथा सरोकारवाला सबैको मागलाई मध्यनजर गरी जनभावनाअनुसार क्वार्ज क्रिष्टल (अलौकिक शिला) धार्मिक आस्थासँग पनि जोडिएको हुँदा गोरखकाली मन्दिर परिसरमा राख्नका लागि आवश्यक सहयोगका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्रमार्फत अनुरोध गरिएको उपप्रमुख थोकरले जानकारी दिएकी छन् । थोकरका अनुसार ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले गोरखामा भेटिएको क्वार्ज क्रिष्टल गोरखामा नै राख्नका लागि आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

खानी तथा भूगर्भ विभागले बरामद गरिएको क्वार्ज क्रिष्टल खानी तथा भूगर्भ विभागमा पठाउन जिल्ला प्रशासन कार्यालयलाई सुझाव दिएपछि गोरखा नगरपालिकासहित जिल्लाभित्रका विभिन्न सङ्घसंस्थाले कुनै पनि हालतमा बाहिर पठाउन नहुनेमा जोड दिँदै आएका छन् ।

गोरखा नगपालिका गोरखाले बैठक नै बसेर प्रहरीले बरामद गरेको क्वार्ज क्रिष्टल गोरखा दरबार परिसरमा राख्ने निर्णय गरिसकेको छ । शाही परिवारले पनि आफ्नो धार्मिक आस्थाको रूपमा रहेको अलौकिक शिला ‘क्वार्ज क्रिष्टल’ लाई गोरखकाली मन्दिर परिसरभित्रै नै राख्नुपर्ने र आफूहरूले चाहेका बेला समयसमयमा पूजा गर्न पाउनुपर्ने इच्छा व्यक्त गर्दै आएको छ ।

गोरखावासीहरूले खानी तथा भूगर्भ विभागमा राखे पनि पनि क्वार्ज क्रिष्टल राज्यकै हुने र गोरखा दरबारमा राखे पनि पनि राज्यकै सम्पत्तिको हुने भएकाले अलौकिक शिला गोरखा दरबारमा राख्नुपर्ने भन्दै यसले जिल्लाको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनलाई थप सहयोग पुग्ने बताउँदै आएका छन् ।