आजको पञ्चाङ्ग एवम् राशिफल (३१ श्रावण २०८० बुधबार, १६ अगस्ट २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (३१ श्रावण २०८० बुधबार, १६ अगस्ट २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ वर्षा ऋतु पिंगलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०८० श्रावण ३१ गते बुधबार तद्अनुसार सन् २०२३ अगस्त १६ तारिख अधिक श्रावणकृष्णपक्ष अमावश्या तिथि अश्लेषा नक्षत्र वरियान योग किंस्तुघ्न करण आनन्दादिमा राक्षस योग चन्द्रमा कर्कट राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ५ः३५ मा भयो र सूर्यास्त साँझ १८ः४० बजे हुनेछ । स्नानदानका लागि औंसी, हलो बार्ने, अधिकमास अपूपदान समाप्ति, मत्स्यनारायण मेला समाप्ति ।

आजको राशिफल

मेष – विगतका समस्या बल्झिन सक्छन्, आजको प्रयत्न निष्फल जस्तै हुने योग छ । तथापि, प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । व्यापार–व्यवसायमा भने सोचेको लाभ नमिल्न सक्छ । सहयोगको आशा देखाउनेहरूले झुक्याउलान्, सचेत रहनुहोला । व्यस्तता बढ्नेछ । मित्रजनको साथ प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त होला ।

वृष – प्रतिस्पर्धामा विजयी भइनेछ । शत्रुहरू किनारा लाग्नेछन् भने आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्ने योग छ । विशेष योजनाहरू बन्नेछन् । शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा भएपनि आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । आरोग्यता बढ्नेछ । सन्तानसुख मिल्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ । मान पुरस्कारप्राप्तिको योग पनि छ ।

मिथुन – न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । लगानी र श्रमको उचित मूल्य नमिल्ला । समुदायको लागिचाहिँ राम्रै काम गर्न सकिनेछ । सामाजिक उत्तरदायित्व वहन गर्ने जिम्मेवारी हात पर्न सक्छ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । सन्तान पक्षबाट सुखको योग छ । आरोग्यता वृद्धि हुनेछ ।।

कर्कट – आजको दिन शत्रुहरूको चलखेल बढ्नाले गल्तीबिनै आरोप लाग्न सक्छ, सावधान रहनुहोला । इर्ष्या गर्नेहरूले काममा अवरोध पुऱ्याउन सक्छन् । योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन नसकुन् भनी विशेष प्रयास गर्नुपर्नेछ । रसरागमा आकर्षण बढ्नेछ भने यात्रामा सफलता प्राप्त होला ।

सिंह – रोकिएका काम बनेर आर्थिक पक्ष सबल हुने समय छ । प्रेमको बन्धन कसिएला । आजको दिन सवारीसाधन उपयोग गर्दा अलिक सावधानी अपनाउनुपर्नेछ, रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला । खेलकुद, भ्रमण जस्ता कार्यमा आकर्षण बढ्नेछ । रसरागको भाव वृद्धि होला ।

कन्या – इनाम र प्रतिष्ठा कमाउने बेला छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ला । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ तर गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ । साझेदारीको काम बन्नेछ । मिठो भोजन प्राप्त होला । रसरागमा आकर्षण बढ्ने समय छ ।

तुला – बाध्यताका काममा जुट्नुपर्ने समय छ । यात्रागत कार्यमा समस्या आउने योग रहेकोले यात्रा स्थगन गर्नुमै हित होला । दम्पत्तिसुख मिल्नेछ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । पुरानो सम्झौता भंग हुने सम्भावना छ । धैर्यसाथ बुद्धिको उपयोग गर्दा बिस्तारै काम बन्नेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो रहला ।

वृश्चिक – धेरै परिश्रमपछि न्यून मात्रामा सफलता मिल्ने समय छ, केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला । आशा देखाउनेहरूको भरपर्दा धोका हुन सक्छ । यसका बाबजुद समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । बौद्धिक र सृजनात्मक काममा सफलता मिल्ला । मिठो भोजन प्राप्त हुनेछ । अन्ततः कर्ममा सफल साबित हुनुहुनेछ ।

धनु – बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन् । प्रभावशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रन सक्छन् । विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । प्रतिस्पर्धीलाई हराउन सकिनेछ । साझेदारीको काम बन्नेछ । धनको आगमन भैरहनेछ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनु हुनेछ । मित्रजनको सहयोग समर्थन प्राप्ति हुनेछ ।

मकर – आजको दिन व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ । तर, पढाइलेखाइमा भने प्रगति हुनेछ । स्वास्थ्य कमजोर रहे पनि आम्दानी बढ्नेछ । आतिथ्यपूर्ण सम्मान प्राप्त हुन सक्छ । प्रेमको बन्धन कसिने तथा दाम्पत्य जीवन सुखद बन्ने समय छ । आफन्तको साथ मिल्नेछ । आयस्रोत बढ्ला ।

कुम्भ – गुरुजनको विशेष सहयोग जुटे पनि लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । प्रयत्न गरेका काम ढिलै सम्पादन भए पनि उपलब्धि राम्रै पाइनेछ । काम बिग्रने भयले सताउन सक्छ तर आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । यात्रापरक काममा सफलता प्राप्त हुनेछ ।

मीन – दिन चुनौतीपूर्ण छ । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । बदनाम व्यक्तिहरूले मात्र सहयोगको तत्परता देखाउने योग परेकोले विशेष सजगता अपनाउनु हितकर होला । शोख पूरा गर्नमा खर्च हुनेछ । तथापि, पराक्रम वृद्धि हुनेछ भने रसरागमा आकर्षण बढ्ला । मिठो भोजन प्राप्त हुनेछ ।