चितवनमा आँखा पाक्ने रोगको सङ्क्रमण घट्दै

चितवनमा आँखा पाक्ने रोगको सङ्क्रमण घट्दै


चितवनमा आँखा पाक्ने रोग (कन्जिङटिवाईटिस) का बिरामी घट्दै गएका छन् । रोग फैलिएपछि अस्पतालमा एकाएक वृद्धि भएका आँखाका बिरामीको सङ्ख्या पछिल्ला दिनमा घट्दै गएको हो । आँखा पाक्ने रोग फैलिएपछि अन्य रोगका बिरामी पनि अस्पताल जाने क्रम घटेको छ । अस्पताल जानेमध्ये ६० प्रतिशत हाराहारी आँखा पाक्ने रोगका बिरामी रहेका छन् ।

भरतपुर आँखा अस्पतालका वरिष्ठ प्रशासक दयाशङ्कर चौधरीका अनुसार भरतपुर आँखा अस्पताल र यसअन्तर्गतका अस्पताल तथा आँखा उपचार केन्द्रमा हिजो सोमबार एक हजार चार सय २१ बिरामी उपचारका लागि आएका थिए । तीमध्ये आठ सय ३१ जना (५८ दशमलव ४८ प्रतिशत) आँखा पाक्ने रोगका बिरामी छन् ।

भरतपुरमा रहेको मुख्य अस्पतालमा पाँच सय ४६ बहिरङ्ग (ओपिडी) का बिरामी आएकोमा एक सय ६६ आँखा पाक्ने रोगका रहेका थिए । यस हिसाबले ३० दशमलव ४० प्रतिशत मात्रै आँखा पाक्ने रोगका बिरामी छन् । सेकेण्डरी आँखा अस्पताल ठोरीमा दुई सय २० बिरामीमध्ये एक सय ४४ जना (६५ दशमलव ४५ प्रतिशत) आँखा पाक्ने रोगका छन् ।

भरतपुर ओरालोमा रहेको सिटी क्लिनिकमा एक सय चार जना बिरामी मध्ये ८२ जना (७८ दशमलव ८५ प्रतिशत) आँखा पाक्ने रोगका आएका छन् । अस्पतलका चितवन, धादिङ, तनहुँ, नवलपरासी, सर्लाहीमा रहेका १४ वटा आँखा उपचार केन्द्रमा पाँच सय ५१ बिरामी बहिरङ्गमा आएकामध्ये चार सय ३९ जना (७९ दशमलव ६७ प्रतिशत) आँखा पाक्ने रोगका छन् ।

आइतबार एक हजार एक सय ९८ बिरामी बहिरङ्ग सेवामा थिए । तीमध्ये सात सय १८ जना (५९ दशमलव ९३ प्रतिशत) आँखा पाक्ने रोगका रहेका चौधरीले जानकारी दिए । अघिल्लो आइतबार अस्पताल र मातहतका केन्द्रमा दुई हजार तीन सय ५७ जनाले सेवा लिएका थिए । त्यसमध्ये ६० प्रतिशत हाराहारी आँखा पाक्ने रोगका थिए । अघिल्लो हप्ताभन्दा यस हप्ता बिरामीको सङ्ख्यामा कमी आएको छ ।

आँखा पाक्ने बिरामीको उमेर, बिरामीको जटिलताको अवस्था हेरी फरकफरक औषधि प्रयोग गर्नुपर्ने चिकित्सकहरू बताउँछन् । चिकित्सकसँग परामर्श नगरी एउटा औषधि सबैले प्रयोग गर्न नहुने उनीहरूको सुझाव छ ।