कति मिठो छ जिन्दगीमा आत्मीय भेटघाट !

कति मिठो छ जिन्दगीमा आत्मीय भेटघाट !


थोत्रो नोकरशाहको जस्तो अररो मानसिकता नभएका, मनका दैला उघारेर बात मार्ने, राजनीतिका सूत्रहरूलाई क्षण-प्रतिक्षणको जीवनको धड्कनसँग जोडेर हेर्न रुचाउने, जनसाधारणले पनि बुझ्ने भाषा बोल्ने नामहरू नै मलाई मन पर्ने नामहरू हुन् ।

✍ डिल्ली अम्माई

पछिल्लोपटक मातृभूमि यात्राका क्रममा जसले चासो दिएर मेरो बारेमा सोधखोज गरे उनिहरूसँग मैले समय निकालेर भेटेँ । जोसँग मेरो आत्मिय सम्बन्ध बनेको छ, उनिहरूसँग भेट्न म सदैव आतुर रहेँ । तर हिजोका सम्बन्धलाई जसले केवल औपचारिकताको रुपमा मात्र हेरे, उनीहरूमध्य धेरैजसो मित्रसँग मेरो नजिकको आइजाइ र हिमचिम न हिजो थियो न त आज छ । तैपनि मेरा एकाध भेटघाट तिनीहरूसँग पनि नभएको भने हैन । करबलका साथीहरूसँग मेरो भेट सडकमा, गमघटमा, विचारगोष्ठीमा र कसैसँग घर-गाउँमा पनि भयो । तर यस्ता भेटघाटले मेरो मनमा कुनै छाप र स्मरणीय सन्दर्भ छोडेको भने मलाई सम्झना छैन ।

उसो त कुनै ठुलो अपेक्षा राख्ने मित्रहरूसँगको एउटा भेटले ती मित्रलाई फेरि भेटूँभेटूँ लाग्ने अनुभूति धेरै कम छन् । बरु साथी भेटेर अलग हुँदा स्वार्थका बटारिएका पट्यारलाग्दा शब्द र अपेक्षाहरूको चाङ, निन्दा र एकोहोरो प्रलापको भारीले डँडेल्नो बाङ्गिएका उदाहरण कति छन् कति ! त्यस्ता मित्रहरू सधैँ भेटिरहनु आवश्यक पनि छैन र यो पटक पनि भेट्न मन लागेन ।

खासगरी कृत्रिम औपचारिकताका लागि गरिएका भेटहरू मेरा लागि सरस, सहज, सुखद र प्रेरणादायी हुँदैनन् । चर्चित लेखक खगेन्द्र सङ्ग्रौलाको शब्दमा भन्दा ‘अनुत्पादक भेटवार्तामा दैनिक जीवनका पल-प्रतिपलका अनुभूति र अनुभव, आकाङ्क्षा र सपनासँग जीवन्त रूपले जोडिएका सन्दर्भ प्रायः हुँदैनन्, जीवनदेखि परका बिरानाजस्ता लाग्ने आत्माभिमानका सूत्र, घटना, सन्दर्भ र दृष्टान्तका अमूर्त शृङ्खला मात्र हुन्छन् । उनिहरूसँग जीवनको जिउँदो ज्ञान र अनुभव, उल्लास र सार्थकताको अनुभूति खोज्ने रहरले जाँदा अक्सर पट्यार, झिँज्याहट र विकर्षण मात्र हातलागी हुन्छ । जीवनदेखि धेरै टाढा कतै निर्जन टापुमा बस्ने पुस्तकपन्थी, सपाट, अरुचिकर, अनुभूतिशून्य र संवेदनाहीन कुनै सूत्रजीवीलाई भेटेजस्तो । त्यसैले, जीवनको स्पन्दन, जीवनको उमङ्ग र जीवनको उल्लासको न्यानो पाउने आशाले साखिल्ला मित्रहरूका छेउमा जाँदा प्रायशः हातलागी हुन्छ केवल चिसोपन, एकरसता, निरसता र वितृष्णा मात्र ।’

मेरा लागि एकपटक भेटेपछि घरी-घरी भेट्न पाए हुन्थ्योे भने जस्तो लाग्ने केही नाममध्येका नाम हुन्- जयप्रकाश त्रिपाठी, देव दाजु, नवीनजी, बबिता दिज्युलगायत घटना र विचार टिमका सदस्यहरू, धर्मेन्द्र झा, महेश्वर दाहाल, लक्ष्मण गुरुङ, मोहराज शर्मा, कमलराज सापकोटा, दिलिप अधिकारी, हरिराम दाइ, दीपक आचार्य, चन्द्र सापकोटा, कृष्ण सापकोटा, राजन सापकोटा, कृष्ण संगीत, कृष्ण आले, दिपेन्द्र श्रेष्ठ र प्रिय अग्रज, शुभचिन्तक तथा आफन्तजनहरू । त्यसमा मेरा अति प्यारा दुई बहिनीहरू नपर्ने कुरै भएन । तेजेन्द्र सापकोटा, प्रकाश विक्रम शाह लगायत अरु केही मित्रहरू पनि छन् उनीहरूलाई मैले नेपालको याद आउँदा नआउँदै सम्झिसकेको हुन्छु ।

थोत्रो नोकरशाहको जस्तो अररो मानसिकता नभएका, मनका दैला उघारेर बात मार्ने, राजनीतिका सूत्रहरूलाई क्षण-प्रतिक्षणको जीवनको धड्कनसँग जोडेर हेर्न रुचाउने, जनसाधारणले पनि बुझ्ने भाषा बोल्ने नामहरू नै मलाई मन पर्ने नामहरू हुन् । खगेन्द्र सङ्ग्रौलाको शब्द सापटी लिएर भन्दा रकमी कम र मानिसजस्ता बढी लाग्ने नामहरू हुन् मलाई मन पर्ने । जीवन पत्रकारिताका लागि लागि होइन, पत्रकारिता मानव जीवन र सृष्टि लागि हुन् भन्ठान्ने नामहरू हुन् मलाई मन पर्ने । व्यङ्ग्यविनोद र ठट्टा गर्न बिर्सिनसकेका नामहरू र मानिसको भावनात्मक र मनोवैज्ञानिक जीवन पनि हुन्छ भन्ने सत्यलाई स्वीकार गर्न सक्ने नामहरू हुन् मलाइ मनभित्र छुने !

मोहराजजीसँग मेरो पहिलो भेट अमेरिकाको साहित्यिक सम्मेलनमा भएको थियो भने पत्रकार लक्ष्मण गुरुङको भेट सर्वप्रथम बेल्जियममा भएको थियो । तर उनीहरूसँगको पहिलो भेट नै मेरो बोधो स्मृतिपटमा अमिट बनिसकेको छ । अमेरिकाको बोष्टनमा भएको अनेसासको सम्मेलनले मलाई नखोसिने गरि मोहराज दियो । त्यहाँ हामी दुई रात र दुई दिन सँगै भयौँ । त्यसपछि मित्रताको लगन कसियो र यो पटक नेपाल आउँदा त्यहि प्रेमले भेट गरायो । मेरा यी साथीहरू खोलेको किताव जस्तै खुल्ला छन् । बिल्कुल खुल्ला ! यो कुरा नेपालको सन्दर्भमा मात्र हो है, वैश्विक मानचित्रमा मेरा अरु पनि धेरै आत्मिय मित्र छन् !

साउनको उत्तर मध्यम समय अर्थात अगस्त ८ तारिक । बादलमा ढुस्स फुलेपनि अलिक उज्यालो दिन थियो त्यो । सामाखुशी दीपक भाइकोबाट नेपाल पत्रकार महासंघको कार्यालय पुग्दा मध्यान्न भइसकेको थिएन । बेल्जियम शाखाको सिफारिस लिएर अग्रिम सुचनासहित कार्यालय पुग्दा कार्यालयमा केही कर्मचारीबाहेक अरु थिएनन् । कार्यालयसचिव भुवन कार्की बिदामा, पदाधिकारी अन्यत्र कतै ! त्यहाँ पुगेपछि म बिलखबन्दमा परेँ र, महासचिव रोशन पुरीलाई फोन गरेँ । उनी प्रेस सेन्टरको कार्यक्रममा रहेछन् । अध्यक्षले धेरै पटक फोन नै उठाएनन् । उनले फोन नउठाएको लामै समय भएको थियो । मैले म्यासेज छोडेको पनि थिएँ । सोचेँ– आफ्नालाई दुःख दिने बाटाहरूको रोजाइ हाम्रो कार्यालयसम्म पुगेछ । अध्यक्षले त फोन गरेको प्रति उत्तर अझैसम्म गरेका छैनन् । पश्चाताप भयो, अधमरा जस्ता, सुन्य जस्ता र कठोर हृदय भएका माउलाई सम्मान गरेकोमा ।

त्यसपछि नेपाल पत्रकार महासंघका सुरेश दाइपछिका कार्यकालहरू सम्झेँ, आफ्ना माताहतका शाखा त्यसमा पनि प्रवाशी शाखाका पत्रकारहरूलाई कति मायाँ गर्थे अग्रजहरूले । सुरेश, तारा दाइ, धर्मेन्द्र दाइ, महेन्द्र बिष्ट, गोविन्द आचार्य, खिल भण्डारीहरूले कति माया गर्थे प्रवासका पत्रकारहरूलाई । म नेपालबाट बाहिर वा भित्र जता जाँदा पनि फलो गरिरहन्थे मेरा आदरणीय अग्रजहरूले ।

तर भन्नैपर्छ, यो पटक आफ्नो लाग्ने पत्रकार महासंघको कार्यालय पूर्णतया पराइ लाग्यो । अध्यक्ष विपुल पोखरेल आफ्ना हैन, अरु कसैका सम्राट जस्तो महसूस भयो । अरुको के कुरा गर्नु, आवश्यक परे गरौँला । केन्द्रिय कार्यालयको केहीबेरको पर्खाइपछि वर्तमान नेतृत्व र अग्रज नेतृत्वप्रति सम्मान बोकेर नेपाल पत्रकार महासंघको केन्द्रिय कार्यालयबाट फर्कें ।

मैले आफैं फोन गरेपछि महासचिव रोशन पुरीको बोलाओटमा म सिंहदरबारको गेटनजिकैको एक अन्तरक्रिया कार्यक्रमतर्फ छिरेँ । उनले कहिल्यै मेरो कामको बारेमा चासो दिने त परको कुरा आफैं फोन गर्ने लेठा कहिल्यै उठाएनन् । उनले औपचारिकबाहेक कुरा गर्ने वा कामबारे सोध्ने चेष्टा नै गरेनन् । त्यसपछि मलाई लाग्यो, चलन फेरिएछ । पत्रकारका दुःखहरू सुन्ने र पारिवारिक स्नेहको मोहकतामा हार्दिकताको आदानप्रदान गर्ने संस्कार अब नोकरशाही र स्वार्थकेन्द्रित ध्येयमा बदलिएछ । रोशनलाई बेल्जियमस्थित घरमा बोलाएर दिएको सम्मान र टिकट मिस हुँदा गरेको सहजता र, पारिवारिक प्रेमप्रति मलाई अफसोच पो भयो ! बुझ्नुस्.. सहकर्मीप्रतिको यो अपमान मैले जीवनपर्यन्त भुल्ने छैन । आदरणीय पत्रकार तथा महिमामा काम गर्दाका मेरा गुरु महेश्वर सरसँग बिदा मागी अभिवादन गर्दै म कार्यक्रम स्थलबाट बाहिरिएँ । बाहिर मेरा पत्रकार मित्र लक्ष्मणजीले मलाई कुरिरहनु भएको थियो ।

अगस्त ८ तारिक दिउँसो ३ बजेतिरको कुरा हो । प्रिय पत्रकार मित्र लक्ष्मण गुरुङ र म समयको पावन्दीलाई ख्याल गर्दै भेटघाट रेष्टुरेन्टबाट एपीवान टेलिभिजनका सम्पादक तथा साहित्यिक पत्रकार मित्र मोहराज शर्मालाई भेट्न बुद्धनगर (युएन पार्कअघि) छेवैमा भएको ‘रेल स्टेसन’ कफीसपमा पुग्यौँ । मित्र लक्ष्मणजीले आफ्नो गाडी बाटोको एक कुनामा पार्किङ गरिसक्नुभएको थियो ।

हामी कालो कफी पिएर गफिन थाल्यौँ । समय कति बित्यो घडी हेर्ने लेठा नै गरिएन । हाम्रा गफ अमेरिकामा भएको अनेसासका साहित्यिक गतिविधि र बहसमा केहीबेर चल्यो । फिजीका नेपालीहरूको बारेमा पनि अलिक बेर गफियौँ । पारिवारिक गफ हुने नै भयो ।

केही बेरमा मोहराजजी आउनुभयो । अभिवादनपछि मोहराजजीले रेल स्टेशन क्याफेमा जाने इशारा गर्दै भन्नुभयो– ‘डिल्लीजीलाई तपाईंलाई नेपालमा स्वागत छ ।’ अनि उहाँले लक्ष्मणजीसँग पनि परिचय गर्नुभयो । ‘मित्रहरू ! आज बडो शुभ साइतमा आउनुभो । जाउ कफी पिउँदै एकछिन प्रेम र हार्दिकता साटौँ ।’

मोहराजजीले वेटरसँग तीन वटा कालो कफीको माग गर्नुभयो ।

केहीबेर म चुपचाप रहेँ । उता दुई पत्रकारबीच गफ चल्दै थियो । पारिवारिक र पत्रकारिताका गफ खुल्दै गए ।

मोहराजजीले फिजीका नेपालीहरूको बुझाइबारे मलाई सोध्न थाल्नुभयो, ‘फिजीमा एकपटक टिम मिलाएर जानुपर्छ र एउटा डकुमेन्ट्री बनाउनुपर्छ ।’

मैले थपेँ– ‘मलाई लागेको पनि त्यो हो तर तिनीहरूलाई इण्ट्रिग्रेट गर्ने कुरामा म बेल्जियम पुगेपछि प्रवास साहित्यका अग्रज जीवा सरसँग पनि सल्लाह गर्छु र एउटा रणनीति बनाउँला ।

मलाई चिन्ता भेटघाटको भन्दा पनि लोप हुँदै गएको नेपाली भाषाको थियो ।

गफ चल्दै थियो, लक्ष्मणजी अचानक उठ्नुभयो र बाटोतर्फ हेर्दै भन्नुभयो– ‘अरे पुलिस आएछ बाटोमा, अब जरिवाना हान्छ होला गाडीलाई ।’

हामी तीनै जना कफीको पैसा तिरेर तल झऱ्यौँ । ट्राफिक प्रहरीले लक्ष्मणजीको गाडीलाई लक गर्दै रहेछ ।

‘अरे ! अब फाइन हान्ने भो, लाइसेन्स नखोसे हुने ! के गर्ला ?’

हामी ट्राफिक प्रहरीअगाडि पुग्यौँ । लक्ष्मणजीले परिचय दिँदै सम्बन्धित ट्राफिक प्रहरी अधिकारीलाई सोध्नुभयो– ‘फाइन लाग्ने नै भयो होइन सर… ?!’

जवाफ थियो– ‘तपाईंलाई सामान्य जरिवाना गर्छौं, पत्रकारको गाडी रहेछ, झन् राम्रो भयो, कमसेकम तपाईंहरूले सचेतना अभियानमा हामीलाई सघाउने हुनुभयो । खुशी लाग्यो !’

हामी निःशब्द भयौँ । जरिवानाको पर्ची लक्ष्मणजीले प्राप्त गर्नुभयो । मोहराजजी मुसुक्क मुस्कुराउनुभयो । अचानक नचिताएको घटना भयो । मेरो लागि लक्ष्मणजीले पाँच सय जरिवाना तिर्नुपर्ने अवस्था निम्तियो । यस सन्दर्भले हाम्रो भेटघाटलाई झन् अविस्मरणीय र ‘महँगो’ बनायो । साथीको लागि त्याग गर्ने सहृदयी पत्रकार मित्र र कानुनको पालना गराउने ट्राफिक प्रहरी दुवैलाई सलाम !