सपनाको हवन

सपनाको हवन


✍ प्रथा ओमकार

समयले डसेर
आफ्नै विश्वासका जून-घामहरू
किन यसरी अस्ताइरहेछन्
आज एकाएक जीवनको एक्लो मतानबाट ?
रहरहरू मुस्कुराउने जङ्गलभित्र
डढेलो सल्किएर
आफ्नै सपनाहरूले पोल्न थालेपछि
यतिखेर म,
लमतन्न पल्टिएको छु- शहीदगेटको छायाँमुन्तिर !
०००
एउटा सुकिलो अर्धवैंसे मान्छे
सङ्ग्रहालय नजिकै बसेर
बटुवाहरूलाई सुनाइरहेछ- जनयुध्दको सवाई !
बारूदको घुम्टो ओढेर
वलिदान मुस्कुराइरहेको आकाशमा
म एकटकले हेरिरहेछु
निम्बस बादलले बनाउँदै मेट्दै गरेका आकृतिहरू !
जब मेटिन्छन्
आफ्नै रगतले कोरिएका तस्बिरहरू
सायद,
म जस्तै दुखी बन्दो हो- त्यो चित्रकार पनि !
०००
यतिबेला,
म फेरि सम्झिँदै छु
आफैँले तरीआएका भयावह नदीहरूको कथा !
०००
तिम्रो चुल्ठीको शीरफूल
भन न प्रिया,
कसरी झऱ्यो खुत्रुक्कै चिसो जमिनमा ?
केही त पक्कै भएको छ
र त यो वतास पनि उल्टो बहँदैछ !
किनारामा उभिएर
कसले सुनाइरहेछ- नदीलाई खडेरीको भजन
र त्यो फुङ्ग उडेको अनुहार
आज किन बिझाइरहेछ- आँखाका भरोसाहरूमा ?
मेरी जलजला !
साँच्चै नढाँटि भन है
के तिमी आजभोली सञ्चै त छ्यौ ?
०००
यतिखेर म मेरो सुखानी/रोल्पा सम्झिँदैछु !
०००
यो बेला,
ब्रोडसिटको निधारभरि
पुनः लेखिन सक्छ- एउटा रम्भा कविता !
सडक पेटीमा बसेर
हाब्रेझैँ चिच्याइरहन सक्छन्- एकहुल गोठालाहरू
सलाईको काँटी कोरेर
फेरि सल्काउन सक्छन्- वनडढेलो शिकारीहरूले
प्यारी जलजला !
वसाहाजस्ता नाङ्गेबाबाहरूले
उल्टो भट्याउन सक्छन्- गणतन्त्रको भैलेनी
र कुनै अदृश्य हवनकुण्डमा
चढाइन सक्छ- हाम्रा करोडौँ सपनाहरूको हवन !
०००
यो उदास गीत सुनेर
बौरिन सक्छन्- आर्यघाटमा निदाएका मूर्दाहरू !
उही पुरानो बालन खेल्दै
फेरि मडारिन सक्छ- एउटा मुर्कट्टा आतङ्क
विनबाजाको धुन बजाएर
सर्पले उल्टो नचाउन सक्छ- सपेराहरूलाई
गतिको काँटा हरायो भने
पुनः बिग्रिन सक्छ- यो जिन्दगीको भित्ते घडी
र सदा सदाका लागि
थाहै नपाइ गुमाउन सक्छ
इतिहासले आफैमाथिको अन्तिम विश्वास पनि !
०००
थाहा छैन, जलजला !
यतिखेर-
मैले रेट्ने सारङ्गी लाटो बनेको छ कि
मेरा गीतहरूले आफ्नै आवाज गुमाएका छन् ?