प्रवासी पीडा

प्रवासी पीडा


✍ डिल्ली अम्माई

आउन त सम्राट आउने बाटोबाटै आयौँ
जेब्रा क्रसबाट बाटो काट्यौँ तर भरिया बन्यौँ
मालिकको भऱ्याङ बनेको भेउ नै पाएनौँ
र, हरियो बत्ती कुरेर धेरै समय पर्खिबस्यौँ
केही नलागेपछि कसैको केही नबिगारी गाउँ छोड्यौँ
एक-एक अन्जुली प्रेम लिएर बाहिरियौँ
थोरै रिस र आशा पनि लिएर हिँड्यौँ
हृदय सुकाएर बिझ्नु थिएन कसैसँग
प्रतिकार कमजोर भएर विदेश पस्यौँ
केही फूलहरू अझै उतै छन्
फूलका भवँराहरू पनि उतै छन्
सम्झनाहरू पनि उतै छन्
कन्चन जलासय र पोटिला सपनाहरू उतै छन्
उतै छन् चम्पा, चमेली र वसन्तीहरू पनि
तर हामी प्रवाशमा निशब्द बाहिरियौंँ
देश नै आफ्नो नहुनेलाई के देश के मधेश !
हावाले मान्छे उडाएको देशमा
माटो खोज्नु मुर्खता हो
निःशब्द शब्दमा उठाउँदा
मौनता आफैं गतिशील बन्दछ
निःशब्द आफैं बहुलाउन थाल्दछ
र आगो बन्दछ
नागरिक सकिएको दिन
देशको एउटा संस्कृति सकिने छ
देशको एउटा सभ्यता सकिने छ
पहाडका गराको प्राण सकिने छ
हिमालको चहक र तराइको रंग सकिने छ
भगवानलाई कोठाबाट निकाल्दा
मानवको विवेक सकिने छ !