भूमध्यसागरबाट सयौँ आप्रवासीको उद्धार

भूमध्यसागरबाट सयौँ आप्रवासीको उद्धार


फ्रान्सको एक गैरसरकारी संस्थाले भूमध्यसागरमा सङ्कटले घेरिएका चार सय ३८ जना आप्रवासीको ज्यान बचाएको छ । उक्त संस्थाले उद्धार जहाज ओशन वाइकिङमार्फत बितेका दुई दिनमा ती आप्रवासीलाई उद्धार गरेको हो ।

उद्धारक संस्था एसओएस मेडिटरेनीले लिबिया र ट्युनिसियाको अन्तरराष्ट्रिय जलक्षेत्रबाट उनीहरूको उद्धार गरेको जनाउँदै गत बिहीबार मध्य भूमध्यसागरमा तीनवटा डुङ्गा परिचालन गरेर २३ देशका दुई सय ७२ जनाको ज्यान बचाउको बताएको छ ।

उक्त जलक्षेत्र आप्रवासीहरूका लागि विश्वको सबैभन्दा खतरनाक सामुद्रिक मार्ग हो । उद्धार गरिएकामध्ये ३२ जना नाबालिग, नौ जना बालबालिका र पाँच जना अपाङ्गता भएका व्यक्ति थिए । हिजो पछि शुक्रबार पनि थप एक सय ६६ जनाको उद्धार गरिएको एसओएस मेडिटरेनीले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घीय आप्रवासन निकाय इन्टरनेशनल अर्गनाइजेसन फर माइग्रेसनका अनुसार यस वर्ष मध्य भूमध्यसागर पार गर्ने प्रयासमा कम्तिमा दुई हजार १३ जनाको मृत्युभएको छ । गत जुनमा पश्चिमी भूमध्यसागरमा एउटा डुङ्गा डुब्दा ८२ जनाको इहलीला समाप्त भएको थियो । अघिल्लो वर्ष युरोपमा सहज जीवन यापन गर्ने सपना साकार पार्न हिँडेका एक हजार चार सय १७ जना आप्रवासीले ज्यान गुमाएका थिए ।