‘भो ! अब म पनि खोरेत काङ्ग्रेस हुन्छु’

‘भो ! अब म पनि खोरेत काङ्ग्रेस हुन्छु’


अरुलाई बदल्न नसके आफू बदलिनुपर्छ ! खोरेत काङ्ग्रेस सुध्रिनेवाला छैनन् ! आफैं सुध्रिनु जरुरी छ ! अब मेरो मष्तिष्कमा खोरेत प्रवेश गरिसकेको छ ! म पुर्णतया खोरेत काङ्ग्रेस भैसकेको छु ! यसरी विरोध मात्रै बोलेर मलामी घटाउनु हुन्न भन्ने ब्रम्हज्ञान प्राप्त भएको छ !!
✍ ज्ञानमणि भुर्तेल

बीपी भन्नुहुन्थ्यो- ‘पञ्चायत मरेको घोडा हो ! यसलाई चावुक लाउँदिन !’ काङ्ग्रेस र मृत घोडामा कुनै भिन्नता रहेन ! अनि चावुकको अर्थसमेत छैन !

विद्रोही परिवारमा जन्मेर होला बोली फुट्दै विद्रोह सिकियो ! मावली जिजुहजुरबुबा त्रिलोचन न्यौपानेले राणा प्रधानमन्त्री हप्काएरै विद्रोह बाटै वि.सं. १८७७ सालमा न्यौपानेका लागि गोगने बिर्ता दिलाउनु भएको थियो रे ! मावलिको समेत सेप परेकोले होला, सहीलाई सही र गलतलाई गलत भन्ने विवेक प्राप्त भो ।

दुई जना मात्रै भेला हुँदासमेत राजनैतिक चर्चा हुने परिवारबाट ०७ साल सुनियो, ०१७ सुनियो अनि ०१९ मा आँखा खुलेदेखि पञ्चायत देखियो । पञ्चायती ज्यादती देख्न थालियो ! अलि बुझ्ने भएपछि काकाबाउ अनि दाजुहरूले भोगेको त्रास र यातना साक्षत्कार गरियो ! बीपी, सुवर्ण किशुनजी, गणेशमानबारे सुन्दै गइयो ! नेता देख्नुभन्दा अघि नै उहाँहरूका बारेमा काकाबाउहरूबाट सुनेकै भरमा पुर्णपरिचित जस्तो भैसकेको थियोे भने थप अध्ययनबाट झनै परिचित गरायो ! नेताप्रतिको सम्मान चुलिँदै गयो ! श्रद्धा बढ्दै गयो !! पञ्चायतप्रति घृणा थपिँदै गयो ! पञ्चहरूले हाम्रा नेतालाई ‘देश बेच्ने’ विभुषणबाट विभुषित गरेकोमा ‘बच्चा बेच्ने पञ्जावी त यति डरलाग्दा हुन्छन् भने देश बेच्ने कस्ता होलान् ?’ भन्ने बालसुलभ भ्रम बीपीलाई पहिलोपटक देख्दा तोडिएपछि जनमतसंग्रहताका ‘बहुदल ल्याउँ.. देश बचाउँ’ चिच्याउँदै दाजुहरू सँगै साइकलको पछि झुण्डिएर गाउँगाउँ घुमियो ! बहुदलको हारसँगै केही समयको निराशालाई अग्रजको उत्साहले उर्जाशील बनायो !

बहुदल प्राप्तिका लागि त्यसपछि दस वर्ष कुर्नुपऱ्यो ! गणेशमानजीको आह्वानमा सारा प्रजातन्त्रवादी एक भएर पछि लागे । आफू पनि कुदियो, जेल पसियो, मुद्धा खेपियो तर हरेस खाइएन ! इतिहास छेक्न हुन्न, सहीलाई सही र गलतलाई गलत नै भन्नुपर्छ । ०४६ को जनआन्दोलन हाँक्ने दुई झापाली युवा कृष्ण सिटौला र जगदीश काफ्ले थिए ! बहुदल आगमनपछि पहिलो सत्ताको नसाले सकिए दोस्रो रक्सीको नसाले सकियो भनेर कलममार्फत चिच्याएको चिच्याएकै छु ! यी दुईको गलत गतिविधि देख्दा आँसु झार्नुको विकल्प छैन !

बहुदल आयो ! ब्रम्हाण्डै पोल्टामा परेझैँ भो ! बिस्तारै पोल्टो भारी लाग्न थाल्यो ! नेतालाई विचलनले घेर्न थाल्यो ! झापा पनि यसको अपवाद रहेन ! कुनै समय कृष्ण सिटौलाका लागि मुखपत्र बनेको आलोक र सिटौलाको प्रारम्भिक राजनैतिक उत्थानमा आलोक साप्ताहिकको भूमिका अहिलेका खोरेत काङ्ग्रेसले कल्पनासमेत गर्न सक्दैनन् ! ब्यक्तिगत विरोध कसैको पनि हुन्न र हुनुपनि हुँदैन ! कोही सामान्य ब्यक्तिका लागि कुनै आग्रह नरहन सक्छ तर पदीय जिम्मेवारीमा रहेर पदीय मर्यादा कायम नगरी पार्टीहित पिरित काम गर्दा आफूले श्रद्धाको श्रेणीमा राखेको ब्यक्तिलाई सचेत गराउनु कार्यकर्ताको कर्तव्यभित्र पर्ने ठानेर लिखत या मौखिक रूपमा कर्तब्य निर्वाह गर्दै गइयो ! त्यति नगर्दा बीपीले भनेझैँ टुलुटुलु हेरेर बस्ने दास हुोइन्थ्यो, दास हुन सकिएन ! समस्याको जड त्यहीँ नै थियो ! सचेतताको पोकोलाई खोरेत काङ्ग्रेसले अनावश्यक घोचो देखे ! भाव बुझ्न सकेनन् अनि बुझ्ने प्रयत्न पनि गरेनन् !

नेता जति–जति माथि उक्लिँदै गए उति नै बेथितिको प्वाँख फैलिँदै गयो ! भाइचारा खुम्चिँदै गयो ! आफ्नै सहयात्री सिध्याउने खेल खेलिन थाल्यो अनि त्यसो नगर्न गरिएको आग्रहलाई खोरेत काङ्ग्रेसले विरोध देख्न थाले ! जबकि त्यो ब्यक्तिगत विरोध नभएर पार्टीहित खातिर गरिएको सचेतना आग्रह थियोे ! पद धारण गरेपछि पदिय मर्यादा कायम राख्नुपर्छ भन्ने आग्रह थियो ! यो सत्य हो कि कुनैबेला नरम भएर बोलियो त कुनैबेला गरम भएर ! कुनै बेला मीठो त कुनैबेला तितो पोखियो होला !

पञ्चायतकालमा विकृति-बेथिति विरुद्ध जिब्रोले चिच्याउने बानी परेको गणतान्त्रिककालमा कलमी व्यङ्ग्यमार्फत चिच्याउन थालियो ! व्यङ्ग्य लेखनको उच्चकोटिको पात्र छानिने क्रममा उखान अन्कल पहिलो नम्बरमा पर्ने हुँदा उहाँलाई नै दन्काइयो ! उखान अंकललाई दन्काउँदा काङ्ग्रेसीहरू दङ्ग ! ‘वाह ! क्या ठोक्नुभो दाइ’ देखि ‘सारै मीठो दनक लेखिस् भाइ, लेख्न चैँ नछोड्नु नि’ सम्मका अर्तिका फुल बर्सिने ! जंगली अङ्कललाई लेख्दा उस्तै !

बिकार त बिकार नै हो ! बिकृति त बिकृति नै हो । आफ्नो मान्छेको बिकार चैँ अपुङ्गो मान्न सकिएन ! आफ्नो पार्टी र आफ्नै आदरणीय नेताको बिकृतिलाई स्वीकृति दिन सकिएन ! देउवाका लागि व्यङ्ग्य अर्ति लेख्दा सुदूरपश्चिमको गंगा न्यौपाने नामको खोरेत काङ्ग्रेसले ‘तँ कहाँ छस् ? भन्… त्यहीँ आएर सिध्याइदिन्छु’ सम्म भ्यायो ! स्थानीय तहमा त्यस्तै ! प्रदेशमा उस्तै ! सिध्याउने धम्की त आएको छैन तर फुलेर पाउरोटी भएको चैँ सुनिँदै छ ! ‘बामपन्थीको खोतली खोतली लेख्नुपर्छ, काङ्ग्रेसको लुकाउनुपर्छ दाइ’ भन्दै मलाई पत्रकारिता सिकाउने नकुलकाजीको भाषामा ‘पत्रकार गर्ने’ टाउकोमा चस्मा लाउने प्रिय भाइ अचेल अलिपर पुगेको छ ! कुनै समय एमालेबाट निर्वाचित भद्रपुरे मेयर उपर कोभिड भ्याक्सिन चोरीबारे कुनै काङ्ग्रेसी चुइँक्क बोल्न नसकेको अवस्थामा मेरो दनक साभार गर्दै राहत महसूस गर्नेहरू नै आफू पदासिन भएपछि उस्तै प्रकृतिको व्यबहार गर्न थालेपछि पदीय मर्यादा कायम गर भन्दै गरिएको आग्रह उछ्रेर पाउरोटी भएकाहरूलाई ‘रुमाली रोटी’ हुन विनम्र आग्रह छ ! पुर्व मेयर पदीय जिम्मेवारीमा नरहँदा अहिले मेरालागि सामान्य जीवन भाइ छ ! हामीबीच सौहार्दता छ ! आत्मीयता छ ! विगतमा मेयरले पदिय मर्यादाविपरीत काम गर्दा घोचेकै हो ! अहिले उ मेयर छैन ! सामान्य जीवन श्रेष्ठ छ ! घोचपेच पनि जरुरी छैन !

तर हैन रैछ ! अरुलाई बदल्न नसके आफू बदलिनुपर्छ ! खोरेत काङ्ग्रेस सुध्रिनेवाला छैनन् ! आफैं सुध्रिनु जरुरी छ ! अब मेरो मष्तिष्कमा खोरेत प्रवेश गरिसकेको छ ! म पुर्णतया खोरेत काङ्ग्रेस भैसकेको छु ! यसरी विरोध मात्रै बोलेर मलामी घटाउनु हुन्न भन्ने ब्रम्हज्ञान प्राप्त भएको छ !! कुनै समय विश्वप्रकाशका लागि चियापान निषेध गर्नसक्ने खोरेत काङ्ग्रेसले मेरालागि घाट निषेध गर्न सक्छन् ! बैतर्नीपुलमै ढाट लाउन सक्छन् !

त्यसैले आज उप्रान्त तलदेखि माथिसम्मै जिन्दावाद भजन गाउने तयारीमा छु ! मेरो सभापतिका कारण काङ्ग्रेस प्रजापरिषद् हुँदैछ भन्दा पिछडावर्ग महिला कोटबाट सांसद हुँदै भर्खरै कृषि समितिको सभापति हुनुभएकी किसानपुत्री आदरणीय राष्ट्रिय भाउजूको मन दुख्न सक्छ ! शास्त्रले आमापछिको पदवी भाउजूलाई दिएको छ ! आमासमान आदरणीय भाउजूको चित्त दुखाउने पक्षमा अब म छैन ! दाजु भाउजू दुवै जिन्दावाद सभापतिले गरेका प्राडो पजेरो÷आईजिपी÷राजदुत÷न्यायाधीश महाअभियोगदेखि प्रजातन्त्र दरबारमा बुझाएको आदि–इत्यादि सबै सही ! काङ्ग्रेस चिन्ता गर्दै सुधारमा लाग्ने टोटल्ली गलत !

सभापति मात्र किन ? केन्द्रमा बसेर काङ्ग्रेस नगदेबाली बनाउँदै चोकचोक गल्लिगल्ली हुँदै अमेरिकासम्म मान्छे बेच्ने खाण राण बाण जोसुकै हुन्, सबै जिन्दावाद !! जसरी भएपनि विधान फलुदा बनाएरै भएपनि सत्ता हत्याउनैपर्छ भन्ने पवित्र मान्यता बोक्ने प्रदेशनेता जिन्दावाद ! विधान विपरीत घाँस-पराल/गाई-गोरु समेत बटुल्दै जिल्ला समिति नामको मवेशीमेला संचालक जिल्ला सभापति पनि जिन्दावाद ! मेरो अघिल्लो लेख ‘कुमार बुढाथोकी.. हु आर यु ?’ पछि आक्रोश पोख्दै पत्रकारिता सिकाउने भाइको अर्तिको पोको आगामी दिनमा फुकाउने धोको तिलाञ्जलि दिँदै पत्रकारिताको गुरु मान्दै ज्ञात अज्ञात खोरेत काङ्ग्रेससँग सहमति जनाउँदै जय नेपालको न्यानो अभिवादनसहित जिन्दावाद !!

यति गरेपछि प्रिय बैनीको नजरमा ‘अन्तर्राष्ट्रिय छुच्चो दाजु’ पनि भइन्न होला कि ? न त कुनै हल्दारले ‘तपाईंलाई क्षेत्रिय प्रतिनिधि बनाइयो ! काङ्ग्रेसकै खेदो गर्नुहुन्छ ! के ताल हो ?’ भन्दै हप्काउँदै काङ्ग्रेस छोड्ने उर्दी जारी गर्ला ! कुनै प्रिय भाइको ‘ज्ञानमणि दाइलाई जति गरेपनि आफ्नो बनाउन सकिएन’ भन्ने गुनासो पनि सुन्नु नपर्ला !

अब पुर्णतया ‘खोरेत शरणम् गच्छामी’ जपेर बस्ने हो ! पुर्णकालिन खोरेत काङ्ग्रेस हुने हो !! काल पर्खिने हो !!

तर काल आगमनअघि खोरेत काङ्ग्रेसले एउटा अन्तिम इच्छा पूरा गर्दिए बैतर्नी तर्न सहज हुने थियो !

सबै खोरेत खुलामञ्चमा भेला भएर सर्वाङ्ग नग्नताका साथ सामुहिक रूपमा मलद्वार प्रदर्शन गर्दै बिष्ट्याइदिए त्यो बिष्टा अपुङ्गो मान्दै खोरेत आरति गाउने तीव्र इच्छा छ !
मेरो यो अन्तिम इच्छा पूरा होला त ?