प्रचण्ड-देउवा सहकार्यको आयु !

प्रचण्ड-देउवा सहकार्यको आयु !


नेपालको एउटा छिमेकी मुलुकलाई शत्रु थापेर लड्न अदृष्य शक्तिहरू नेपाललाई रणमैदान बनाउन अग्रसर हुँदैछन् ! युक्रेनी भूमिलाई प्रयोग गरेर रसियासँग लडेझैँ पहिले चीन र त्यसपछि भारतसँग लड्न नेपाली भूमिको दीर्घकालीन रणनीतिक उपयोगका निम्ति यतिबेला अनेकौँ प्रयास भइरहेको बुझिन्छ ।
✍ देवप्रकाश त्रिपाठी

नेपाली समाज र देशको अवस्था यतिसम्म कुरुप हुनसक्ला भन्ने तीन दशक अघिसम्म अनुमान होइन कल्पना पनि गरिएको थिएन । समाजमा एक प्रकारको बेग्लै अनुशासन र संस्कार थियो, राज्यसत्ताको व्यवहार प्रजातन्त्रसम्मत नभएपनि राष्ट्रियतामा आँच आउन दिइने छैन र, देश बेचिने छैन भन्ने विश्वास आम तवरमा गरिन्थ्यो । नेपालको एकीकरण यस भूगोलमा बसोबास गरिरहेका सबैथरी नेपालीको साझा प्रयासबाट भएको थियो र, जुन दिन नेपालमा जातीय या धार्मिक विवाद प्रारम्भ हुन्छ, यो देशको अस्तित्व विसर्जनको सुरुवात पनि त्यही बिन्दुबाट हुन्छ भन्ने अनुभूति हिजो हरेक नेपालीमा थियो । अहिले आफ्नो पेटभन्दा महत्वपूर्ण देश हुनसक्दैन भन्ने विचार जबर्जस्त स्थापित हुँदैछ र, संसारमा तालिवानहरू किन जन्मिदारहेछन् भन्ने कुराको झलक नेपालको वर्तमानले देखाउँदैछ ।

हिजोको पुस्ता घरजम आफ्नै देशमा बसाउने सोच्दथ्यो, स्वजातीय वर या कन्या हुनुपर्छ भन्ने मान्यता सबैमा थियो, आफ्नै देशको विद्यालय र महाविद्यालयमा अध्ययन गर्ने र, देशमै केही गर्ने इच्छा राख्दथ्यो । देउसी, भैलो, उधौली उभौली, देउडा र सोरठीमा रमाउँदथ्यो, आफ्नो प्रतिष्ठाका निम्ति पनि देशको नाम राख्ने सपना र अठोट बोक्दथ्यो । आजको पुस्ता न देशमा पढ्ने सोच राख्छ, न देशमा केही गर्ने प्रतिबद्धता ! जहाँ हिजोको पुस्ता भात खान धान उमार्थे, आजको पुस्ता पैसो उमार्न आफैलाई बिक्रीमा राख्छन् ! मन्दिर र गुम्बा दुवैलाई आफ्नै आस्थाको केन्द्र ठानिन्थ्यो, मस्जिदप्रति पनि उदारताका साथ सम्मानभाव प्रकट हुने गर्दथ्यो । आमाबुबालाई भगवानको अवतार मानिन्थ्यो, जेष्ठ नागरिक, गुरु र पाहुनालाई उच्च सम्मानभाव राखिन्थ्यो । आफ्नै देशमा कमाउने र रमाउने मानसिकता हरेक नेपालीमा भेटिन्थ्यो । तर अहिले उल्लिखित सबै कुराहरू एकादेशका कथा जस्ता प्रतीत हुन्छन् । आजको पुस्ता शिक्षित, चेतनशील र गतिशील छ, त्यसैले उनीहरू आफ्नो जिन्दगीको महत्वप्रति पूर्ण सचेत छन् । हिजोको पुस्ता देशभक्त र राष्ट्रवादी हुँदाहुँदै पनि संसारलाई आफ्नो ठान्दथ्यो, आजको पुस्ता आफैलाई संसार ठान्दछ, त्यसैले बाँकी संसारप्रति चासो राख्नु उसको धर्म भित्र पर्दैन । एकथान कारसित नागरिकता साट्न तयार हुने पिँढीका मानिसको जिम्मामा देश दिएर बिदा हुँदैछ नेपालको पुरानो पुस्ता !

आज भारतीयहरू भारतप्रति गौरवान्वित छन्, गौरव गर्ने स्थितिमा भारत पुगेको छ । छिमेकी मित्रराष्ट्र चीनका नागरिक पनि चिनियाँ भएकोमा गौरव गर्ने हैसियतमा पुगेका छन् । तर हामी नेपालीचाहिँ जङ्गलबाट को पहिले आएको हो भन्ने झमेला र झगडाको निहुँ निकालेर आपसमा भिड्ने तम्तयारी गर्दैछौँ ! नेपालको अस्तित्व जातीय एकता र सामाजिक सद्भावको परिणाम भएकोले नेपाल विघटन गराउन जातीय र धार्मिक द्वन्द्व गराउनुपर्ने हुन्छ भन्ने तथ्यबोध नेपालका बैरीहरूले पहिले नै गरेका हुन् । त्यसो त आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहले चार वर्ण छत्तीस जातको साझा फूलवारी नै नेपाल भएको सन्देश उतिबेला नै दिएका हुन् । पृथ्वीको सन्देशलाई बैरीहरूले राम्रोसँग बुझे र, नेपाल भत्काउन कहाँबाट सुरु गर्नुपर्छ भन्ने थाहा पाए । जातीय र धार्मिक विवाद उत्पन्न गराएपछि मात्र नेपालको विखण्डन र विघटन सम्भव हुन्छ भन्ने बुझेर नै उनीहरूले आधुनिक नेपालका ‘चन्द्रशेखर उपाध्याय र गजराज मिश्रहरू’ मार्फत देश बर्बादीको बिजारोपण गरेका हुन् र, हामीले चाहिँ आफ्नै देश विरूद्धका एजेण्डालाई क्रान्ति, महान उपलब्धि र अग्रगमनका रूपमा अवलम्बन गरेका हौँ ।

आजको पुस्ता शिक्षित, चेतनशील र गतिशील छ, त्यसैले उनीहरू आफ्नो जिन्दगीको महत्वप्रति पूर्ण सचेत छन् । हिजोको पुस्ता देशभक्त र राष्ट्रवादी हुँदाहुँदै पनि संसारलाई आफ्नो ठान्दथ्यो, आजको पुस्ता आफैलाई संसार ठान्दछ, त्यसैले बाँकी संसारप्रति चासो राख्नु उसको धर्म भित्र पर्दैन । एकथान कारसित नागरिकता साट्न तयार हुने पिँढीका मानिसको जिम्मामा देश दिएर बिदा हुँदैछ नेपालको पुरानो पुस्ता !

राजनीतिक विचार दर्शन जुनसुकै भएपनि त्यसले चार वटा तत्व ग्रहण गरेको हुनुपर्छ, पहिलो राष्ट्रियता, दोस्रो प्रजातन्त्र, तेस्रो सूरक्षा र चौथो समृद्धि । तर हाम्रो इतिहासको अध्ययन गर्दा राष्ट्रियतामा केन्द्रीत हुनेले प्रजातन्त्रको उपेक्षा गर्ने र, प्रजातन्त्र खोज्नेले राष्ट्रियता बिर्सिने गरेको देखिन्छ । द्वितीय विश्वयुद्ध अगाडि प्रविधिको उच्च विकास भइनसकेको र संसार पनि स्थिर नरहेको हुँदा त्यसअघिको इतिहासलाई थाती राख्न सकिन्छ । नेपालमा विक्रम सम्वत २००७ को परिवर्तन प्रजातन्त्रको नाममा भएको थियो, उक्त परिवर्तनले राष्ट्रियतालाई महत्व दिएन, त्यसैले मन्त्रिमण्डलको बैठकमा समेत विदेशीको उपस्थितिलाई ग्राह्य तुल्याइएको थियो । २०१७ सालको परिवर्तन राष्ट्रियता केन्द्रीत भएकोले त्यसले प्रजातन्त्रप्रतिको सम्वेदनशीलता र अपरिहार्यतालाई उपेक्षा गऱ्यो । २०४६ को परिवर्तन धेरै हदसम्म सन्तुलित थियो, त्यसैले राष्ट्रियता र प्रजातन्त्रमैत्री भएको महसूस गरिन्थ्यो, तर प्रजातन्त्र स्थापनाको आधी दशक पूरा नहुँदै प्रजातन्त्रविरूद्ध हिंसात्मक युद्ध सुरु भयो । त्यस्तो घातक युद्ध सुरु हुँदा एउटा मोर्चाको नेतृत्व शेरबहादुर देउवाले सम्हालेका थिए भने अर्को मोर्चाको कमाण्ड गर्ने प्रचण्ड थिए । त्यसबेला सम्वाद र सहमति नगर्दा झमेला उत्पन्न हुन्थ्यो त्यसै गरे, अहिले उनिहरूबीच सहमति बन्दा मात्र देश बर्बादीका एजेण्डा अनुरुप काम हुनसक्थ्यो, त्यसैले एउटै मोर्चामा बसेर अगाडिको यात्रा तय गर्दैछन् । मिल्नुपर्ने बेलामा भिड्नेहरू अहिले देशविरूद्धका एजेण्डा र गतिविधिसँग भिड्नुपर्ने समयमा चाहिँ मिलिरहेका छन् । दुवैथरिको एउटै लक्ष्य छ संविधानको रक्षा गर्नु ! देश रहे या नरहे पनि संविधान रहनुपर्छ भन्ने मान्यतामा प्रचण्ड र देउवा लगायतका राजनीतिजीवीहरू प्रतिबद्ध देखिन्छन् ।

त्यसबेला सार्वभौमिक अखण्डता भङ्ग गरेर कृत्रिम ढङ्गले प्रदेशहरू प्रकट गराउने कार्यको नेतृत्व काङ्ग्रेसबाट सम्भव ठानिएन । इसाइकरणका निम्ति धर्मनिरपेक्षता लाद्ने अभियानको नेतृत्व पनि काङ्ग्रेसबाट सम्भव थिएन । टोल-टोलमा राजाहरू उमारेर अराजकता फैलाउनका निम्ति गणतन्त्र स्थापना अपरिहार्य बनेको थियो, तर काङ्ग्रेस त्यसनिम्ति पनि तयार थिएन । समाज र राज्यलाई जगैदेखि कमजोर तुल्याउन जातीय विभाजनको ‘वैधानिक खाडल’ खन्न पनि काङ्ग्रेस राजी हुन सक्दैनथ्यो । त्यसैले काङ्ग्रेसको शेरबहादुर देउवालाई सरकारको र प्रचण्डलाई विद्रोहीतर्फको नेतृत्व सुम्पिएर एउटै अदृष्य शक्तिले २०५२ सालमा खेल सुरु ग¥यो । दस वर्षपछि २०६२ सालमा विद्रोही भनिएको पक्ष र संस्थापनपक्ष बीच सम्झौता गराइयो र, त्यसको अर्को दस वर्षपछि २०७२ सालमा संविधानको रूपमा नेपाली राष्ट्रियताविरूद्धको एउटा दस्ताबेज जारी गरियो, अब अर्को दस वर्ष अर्थात वि.सं. २०८२ सालभित्र नेपाल पूर्ण रूपले अदृष्य शक्तिको कब्जामा पर्न यहाँ चरम द्वन्द्वको अवस्था सिर्जना गर्नुपर्ने भएकोले नियोजित रूपमा नियन्त्रित द्वन्द्वको अवस्था सृष्टि गरिँदैछ ।

आज भारतीयहरू भारतप्रति गौरवान्वित छन्, गौरव गर्ने स्थितिमा भारत पुगेको छ । छिमेकी मित्रराष्ट्र चीनका नागरिक पनि चिनियाँ भएकोमा गौरव गर्ने हैसियतमा पुगेका छन् । तर हामी नेपालीचाहिँ जङ्गलबाट को पहिले आएको हो भन्ने झमेला र झगडाको निहुँ निकालेर आपसमा भिड्ने तम्तयारी गर्दैछौँ !

माओवादी युद्धको चरित्र हार या जितमा मात्र टुङ्गिने प्रकारको हुन्छ भन्ने जान्दाजान्दे पनि शेरबहादुर देउवाले २०५८ सालमा सहमतिका लागि संवाद भन्दै युद्धविरामको नाटक रचेर माओवादलिाई थप सशक्त बन्न सघाएका थिए । बलियो भएर सेनाको ब्यारेकमै आक्रमण गर्ने शक्ति आर्जन गरेपछि युद्धविराम भङ्ग भएको थियो । त्यसपछि सङ्कटकाल घोषणाको नौटङ्की गर्ने देउवाले नै पहिले होलेरी घटनामा माओवादीलाई बचाइदिएका थिए ।

माओवादीका नाममा अदृष्य शक्तिले हाशील गरेको उपलब्धिको रक्षा गरिदिने जिम्मेवारी अब काङ्ग्रेसको काँधमा आएको छ । तर काङ्ग्रेस एक्लैबाट उपलब्धिहरूको रक्षा हुन नसक्ने भएकोले माओवादीसँगको सहकार्य ‘मालिकहरू’को प्राथमिकतामा परेको हो । नेपालको एउटा छिमेकी मुलुकलाई शत्रु थापेर लड्न अदृष्य शक्तिहरू नेपाललाई रणमैदान बनाउन अग्रसर हुँदैछन् ! युक्रेनी भूमिलाई प्रयोग गरेर रसियासँग लडेझैँ पहिले चीन र त्यसपछि भारतसँग लड्न नेपाली भूमिको दीर्घकालीन रणनीतिक उपयोगका निम्ति यतिबेला अनेकौँ प्रयास भइरहेको बुझिन्छ । अनुकुल सत्ता र सरकार निर्माण गरेर जापान, दक्षिण कोरिया र साउदी अरेबियामा जस्तै सम्झौतामार्फत नै नेपाललाई सैन्यबेस बनाउने ‘उनीहरू’को पहिलो विकल्प हो । काङ्ग्रेस, एमाले र माओवादीको पुरानो पुस्ताले नेपाल राज्य कमजोर बनाउन, राष्ट्रिय एकताको स्थिति भङ्ग तुल्याउन र, नेपाल विरूद्धको दस्तावेज जारी गरेर हरेक अवान्छित क्रियाकलापलाई वैधता प्रदान गर्नेसम्मको योगदान दिइसकेपछि अब यिनीहरूको औचित्य तिनका दृष्टिमा समाप्त भइसकेको छ । त्यसैले उनिहरूले पुराना नेता काम लाग्दैन भन्नेहरू समक्ष प्रस्तुत गर्न पुराना दलभित्र नयाँ नेताका रूपमा ‘जिलेन्स्की’हरू तयारी अवस्थामा राखिएका छन् ।

पुराना पार्टी नै काम लाग्दैन भनी ठान्नेहरूका निम्ति जिलेन्स्कीहरूको झुण्ड खडा गरेर रातारात नयाँ पार्टी बजारमा ल्याइएको छ । अदृष्य शक्तिको मुख्य सचेतना नेपाली राष्ट्रवादी शक्तिको अभ्युदय होला कि भन्नेतर्फ देखिन्छ । पुराना शक्तिको विकल्प बनेर देशभक्त राष्ट्रवादी शक्ति प्रकट भएमा आफ्नो अहिलेसम्मको लगानी र प्रयास खेर जाने भएकोले उनीहरू यसतर्फ निकै सचेत देखिन्छन् । वास्तवमा अदृष्य शक्तिको दृष्टिमा शेरबहादुर र प्रचण्डहरूको औचित्य समाप्त भइसकेको भएपनि इन्दिरा गान्धीको सत्तारोहण नहुँदासम्म लालबहादुर शास्त्रीलाई प्रयोग गरिएकै शैलीमा काम गरिदिने पात्रका रूपमा मात्र यिनको प्रयोग भइरहेको हो । अर्थात्, महाभारतको युद्धमा भीष्मको बध गराउन शिखण्डीको प्रयोग गरिए जत्तिको मात्र हो आजको पुराना नेताहरूको भूमिका ! जिलेन्स्की पुस्ताको हातमा पक्ष र प्रतिपक्ष राजनीति गइसकेपछि देउवा र प्रचण्डलगायतले भोग्ने नियति निकै दर्दनाक हुनेछ । तत्कालका निम्ति मात्र निभ्ने बेलाको बत्तीजस्तै प्रचण्ड र देउवाहरू जिन्दावाद भएका या भनिएका हुन् ।

घातक युद्ध सुरु हुँदा एउटा मोर्चाको नेतृत्व शेरबहादुर देउवाले सम्हालेका थिए भने अर्को मोर्चाको कमाण्ड गर्ने प्रचण्ड थिए । त्यसबेला सम्वाद र सहमति नगर्दा झमेला उत्पन्न हुन्थ्यो त्यसै गरे, अहिले उनिहरूबीच सहमति बन्दा मात्र देश बर्बादीका एजेण्डा अनुरुप काम हुनसक्थ्यो, त्यसैले एउटै मोर्चामा बसेर अगाडिको यात्रा तय गर्दैछन् । मिल्नुपर्ने बेलामा भिड्नेहरू अहिले देशविरूद्धका एजेण्डा र गतिविधिसँग भिड्नुपर्ने समयमा चाहिँ मिलिरहेका छन् ।

नेपाल अझै सङ्कटको भुमरीतर्फ ‘नोजडाइभ’मा बढ्दैछ । देशलाई समृद्धिको दिशामा लैजाने न दृष्टि छ, न इमान र प्रतिबद्धता छ, न संविधान र कानून छ, न प्रशासनिक नीति व्यवहार र बाह्य चाहना छ ।

२०८४ को निर्वाचन भन्दा अगाडि नै नेपाललाई हिन्दूराष्ट्र बनाउन अन्तिम प्रयास हुनेछ र, बाह्यशक्तिको सैन्य आश्रयस्थल बनाउने प्रयास पनि निर्णायक चरणमा पुग्नेछ । एउटा दबाबपूर्ण स्थिति निर्माण भएपछि प्रमुख राजनीतिक दलहरूलाई संविधान संशोधन गरेर विधिवत हिन्दूराष्ट्र घोषणा गर्नुपर्ने ठाउँमा पुऱ्याइने सम्भावना एकातिर छ भने अर्कोतिर ?

अर्कोतिर यही संसद्भित्रबाट अनुकुल सरकार गठन गराएर काम पट्याउने अभ्यास हुँदैछ । उनीहरू एकसाथ अनेक विकल्प अपनाएर नेपालको राज्यसत्ता पूर्ण रूपले काबुमा लिने र सैन्यबेस बनाउने रणनीतिक योजनामा रहेको देखिन्छ । उनिहरूले संसद्भित्र आफू अनुकुल स्थिति निर्माण गर्न नसकिने ठानेमा संसद्बाहिरबाट नै अनुकुल परिस्थिति निर्माण गरिने सम्भावना छ । त्यसनिम्ति राष्ट्रिय सेना, अदालत र राष्ट्रपति निकायको सम्पूर्ण उपयोग गरिनेछ । राष्ट्रपतिलाई समेत विश्वासमा लिएर सैन्य सहयोग र समर्थनमा एक पूर्व प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने र सोही सरकारसँग सैन्यबेससम्बन्धी बृहत् सम्झौता गरिने सम्भावना प्रबल हुँदै गएको छ । हो, त्यही प्रधानन्यायाधीश नेतृत्वको सरकारलाई भ्रष्टाचारविरूद्ध भरमार उपयोग गर्दै प्रचण्ड, केपी, शेरबहादुर, माधव र उपेन्द्र लगायतलाई कसुरदार प्रमाणित गरेर काराबास पठाउने र, वाहवाहीकै बीच विशेष सम्झौतामार्फत बाह्य सेना भित्र्याउने अर्को वैकल्पिक अभ्यास पनि भइरहेको बुझिन्छ ।

बाह्यशक्ति नेपाललाई नेपालविरूद्ध उपयोग गर्ने निर्णायक चरणमा प्रवेश गरेकाले हाम्रा वास्तविक दुःखका दिन त अब बल्ल सुरु हुने भएका छन् । पशुपतिनाथको कृपाबाट बनेको देश भएकोले उनै भोलेनाथले रक्षा गर्ने ठान्दै धैर्य गरेर बस्नुको विकल्प भनेको आन्तरिक युद्धमा होमिनु मात्र हो । हामीले बुरुण्डी, र्‍वाण्डा, अफगानिस्तान, युगोस्लाभिया, घाना, इथियोपिया, म्यानमार, नाइजेरिया र सुडान लगायतका गृहयुद्ध देखिसकेका छौँ । युद्धपछि पनि खोजिने आखिर मेलमिलाप नै भएकोले त्यस्तो मेलमिलाप अहिले नै खोज्नु बुद्धिमानी हुनेछ, जय मातृभूमि !!