म, तँ र पाईं

म, तँ र पाईं


✍ दुर्गाकिरण तिवारी

आफ्नो ऐश्वर्य र,
आफ्नै वर्णन गरेर नथाक्ने ऊ
आफ्नै मुठ्ठी कसेर दोस्रो उपकारीको
खुब प्रसंसा गर्छ, मुस्कुराउँछ
मानौँ- उपकारी स्वयम् हो
धेरै बुझेझैँ गर्छ, हँ मा हँ मिलाउँदै
मुन्टो हल्लाइरहन्छ
विवेकको अधकल्चो
वर्तमानको व्युहमा अल्झिएको छ
आफैंले आफैंलाई भुलेको छ
आफ्नै मानार्थ खुसीमा
मपाइँत्व जपिरहन्छ, अहङ्कारमा
समय कटाइरहन्छ, अहम्कै
पर्दाभित्र रहेर ।
मध्यम
पुण्यको खेती गरिरहन्छ
आफ्नो छाक कटौती गर्छ
रहर कटौती गर्छ, आफूसँग दोस्रोलाई
उभ्याउछ र संवेदनाले हेर्छ
दोस्रोको संवेदना बुझ्छ ।
ऊ मुठ्ठी कसेर खुब खुसी छ
कात्रो भुल्छ, घाट भुल्छ
जीवनको मर्म भुल्छ, जन्म र मृत्यु भुल्छ
आफ्नै स्वाभिमानलाई विनिमय गर्दै
बजार स्थापित गरिरहन्छ
बेइमानीको बजार गर्छ विनिमयमै
साँच्चिकै भुल्छ शास्वत सत्य
ऐश्वर्य चटक्कै छोड्नु पर्छ
आत्मा उडेर जान्छ, शरीर धुवाँ हुन्छ
विलीन हुन्छ नभमा ।
मध्यम,
मर्दा लाने एउटा कात्रो
आफैं जोहो गर्छ, निर्धक्क खुट्टा तन्काउँछ
आफूले कमाएको मलामी सम्झिँंदै
सन्तोषले लामो स्वास फेर्छ
सोच्छ- अन्त्य एउटै हो ! सबै जानु छ
आखिर घमण्ड र मपाइँ केका लागि ?
मात्र गर्न चाहन्छ जीवन बोध
त्यसैले आज ऊ
परमार्थको खोजीमा छ ।