पूर्वराष्ट्रपति ट्रम्पको अदालती सुनुवाइको प्रत्यक्ष प्रसारण हुने

पूर्वराष्ट्रपति ट्रम्पको अदालती सुनुवाइको प्रत्यक्ष प्रसारण हुने


एटलान्टाको फुल्टन काउन्टीका एक न्यायाधीशले पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनसँगै अभियोग लागेका अन्य १८ जनाकोे अदालती कारवाही टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिने बताएका छन् ।

ट्रायल युट्युबमा लाइभ स्ट्रिम पनि हुने फुल्टन काउन्टी सुपीरियर कोर्टका न्यायाधीश स्कट म्याकफीले घोषणा गरेका छन् । सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा जर्जिया राज्यमा भएको चुनावी धोखाधडी र आफ्ना प्रतिद्वन्द्वी जो बाइडेनलाई हराउन ट्रम्पसहित १९ जनाले षड्यन्त्र गरेको अभियोगको सुनुवाइ प्रत्यक्ष प्रसारण गर्ने घोषणा भएको हो ।

बिहीबार दायर गरिएको अदालतको कागजातमा पूर्वराष्ट्रपति ट्रम्पले आरोपहरूको प्रकृति र अदालतमा उपस्थित हुने आफ्नो अधिकारलाई पूर्ण रूपमा बुझेको प्रष्टिकरण दिएका छन् । यद्यपि उनले आफूख दोषी नभएको दाबी गर्दै आफूविरुद्ध लगाइएका मुद्दा राजनीतिक रूपमा प्रेरित भएको बताएका छन् । गत साता उहाँले फुल्टन काउन्टीको जेलमा आत्मसमर्पण गरेका थिए ।

अर्बपति व्यापारी ट्रम्पलाई गत अप्रिलदेखि चार पटक आपराधिक रूपमा अभियोग लगाइएको छ तर उनी आगामी वर्ष हुने राष्ट्रपति निर्वाचनमा भाग लिने दृढ निश्चयका साथ अघिबढेका छन् । जर्जियामा उनमाथि जालसाजी गरेको, सरकारी अधिकारीलाई झुठा बयान दिन अभिप्रेरित गरेकोलगायत चार वटा मुद्दा दायर गरिएको छ ।

यसअघि पूर्वराष्ट्रपति ट्रम्पमाथि वयस्क चलचित्रकी नायिका स्टोर्मी डेनियलसँगको यौन सम्बन्ध, त्यसलाई सार्वजनिक नगर्न निजलाई भुक्तान गरिएको ठूलो रकम, आफ्नो निजी निवासमा गोप्य सरकारी कागजात राखेको र ती कागतपत्र सरकारलाई फिर्ता गर्न अस्वीकार गरेको तथा संसद् भवनमा समर्थक परिचालन गरेर तोडफोड र आक्रमण गराएको अभियोग लगाइएको छ ।

सन् २०२० को जनवरी छ तारिखमा अमेरिकी संसद् क्यापिटल हिलमा भएको हुलदङ्गा एवम् आक्रमणमा सात जनाको मृत्यु हुनका साथै संसद्, महानगर र स्थानीय सुरक्षा निकायका एक सय ५० जना सुरक्षाकर्मी घाइते भएका थिए । त्यहाँ ट्रम्पले परिचालन गरेको भीडले अन्धाधुन्ध आक्रमण गरेको आरोप छ ।