महाकान्टो भूकम्पमा गुमाएकाको सम्झना

महाकान्टो भूकम्पमा गुमाएकाको सम्झना


जापानमा सन् १९२३ मा भएको महाकान्टो भूकम्पमा ज्यान गुमाएकाको सम्झना टोकियोमा स्मृतिसभा आयोजना गरिएको छ ।

सेप्टेम्बर १, १९२३ मा जापानको कान्टो क्षेत्रमा ७.९ म्याग्निच्युडको भूकम्प हुँदा एक लाख ४० हजारभन्दा बढीको मृत्यु भएको थियो । भूकम्पपछि भएको हिंसामा ६ हजारभन्दा बढी कोरियाली र सात सय ५० चिनियाँ मारिएका थिए । चीन र दक्षिण कोरियाले हिंसा साम्य पार्ने बहानामा जापानी सैन्यवादीहरूले आफ्ना नागरिकको निर्ममतापूर्वक हत्या गरेको आरोप लगाउँदै आएका छन् ।

स्मृतिसभामा पीडित परिवारका प्रतिनिधिले जापान सरकारलाई माफी माग्न तथा क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका थिए । सभामा जापानस्थित दक्षिण कोरियाली र चिनियाँ दूतावासका प्रतिनिधिले इतिहासको त्यो कालो दिन आफूहरूले नबिर्सने बताउँदै जापानी समाजले पनि आफ्ना शासकहरूबाट भएको जघन्य घटना सम्झनुपर्ने विचार व्यक्त गरेका थिए । स्मृतिसभामा जापान सरकारका प्रतिनिधिहरूको पनि उपस्थिति थियो ।