- वसुन्धरा गौतम, काठमाडौं
देशअनुसार भेष अनि समयअनुसारको परिवेश भनेझैँ वर्तमान समयमा चाडपर्वअनुसार छुट्टै पोशाक लगाउने परम्परा नै विकसित हुँदै गएको छ । साउनमा हरिया-पहेँला कपडा साथै पर्वअनुसारको कपडा किन्नेहरूको पसलमा भीड नै लाग्ने गरेको छ । यस्तै श्रीकृष्ण जन्माष्ठमिको अवसरमा पनि आफ्ना स-साना बालबालिकालाई राधाकृष्णको पोशाक किन्न कपडा पसलहरूमा भीड लागेको छ ।
पोशाक व्यवसायी सविता भण्डारीले आफुलाई नजिकमा रहेका विद्यालयबाट नै राधाकृष्णको पोशाक माग भएकोले प्रत्येक वर्षझैँ यस वर्ष पनि बिक्रीमा राखेको बताइन् । पोशाकको गुणस्तर र सामानका आधारमा पोशाक सेटको फरक-फरक मूल्य कायम गरिएको उनको भनाइ छ । पोशाक किनमेलका लागि कृष्ण जन्माष्ठमीको दुई दिन अगाडिदेखि नै भीड लाग्ने गरेको छ ।
धेरैजसो निजी विद्यालयहरूले अनिवार्य रूपमा त्यस्ता पोशाक लगाएर विद्यार्थी पठाउन अपिल गरेका छन् भने सामुदायिक विद्यालयमा अनिवार्य नभएपनि अभिभावक स्वयमले पोशाक लगाएर पठाउन चाहने गरेका देछन् । कपडा किन्दै गरेकी बिष्णुमाया शर्माले अहिलेका बालबालिकालाई आफ्नो संस्कार र संस्कृतिको बारेमा राम्रोसँग परिचित गराउन सके भोलि यसको निरन्तरता हुने हुँदा यस्ताखाले कार्यक्रम विद्यालय स्तरमा अतिरिक्त क्रियाकलापअन्तर्गत राखिनु एकदमै राम्रो भएको बताइन् ।
यस्तै, काठमाडौंका प्रत्येक निजी तथा सामुदायिक विद्यालयमा श्रीकृष्ण जन्माष्ठमीको पूर्वसन्ध्यामा झाँकी देखाउनुका साथै विद्यार्थीलाई यस पर्वको अवसरमा साक्षात्कार गराइएको थियोे ।
यसै अवसरमा भगवान कृष्णको जन्मदेखि पराक्रमको सम्पूर्ण कथा झाँकीमार्फत विद्यार्थीलाई बुझाएको मोरल एकेडेमीकी शिक्षिका मन्जु भट्टले जानकारी दिइन् । साथै उनले यस्ता कार्यक्रमले बालबालिकालाई मनोरञ्जनात्मक तरिकाले संस्कारयुक्त शिक्षा प्रदान गर्नमा टेवा पुग्नेमा विश्वास व्यक्त गरिन् ।
प्रतिक्रिया