भ्रान्तिको वशमा प्रचण्डको क्रान्ति !

भ्रान्तिको वशमा प्रचण्डको क्रान्ति !


आकाशको चील देखाएर भुइँको कुखुरा चोर्ने सस्कृतिबाट आएका प्रचण्डहरूले जुन वादका कुरा गरेपनि यिनले अन्तिममा गर्ने भनेको बर्बाद मात्र हो, हामी आफ्नो आँखैअघिल्तिर देश बर्बाद भएको टुलुटुलु हेरिरहन बाध्य निरीह पात्र हौँ ।
✍ देवप्रकाश त्रिपाठी

माओवादीको आवरणमा नेपाली राजनीतिमा क्रियाशील प्रचण्डले पुनः क्रान्ति र सङ्घर्षको नारा लगाउन थालेका छन् । खुला राजनीतिमा प्रकट भएको दुई दशक बित्नै लाग्दा पनि ऊनी आफू निमित्तनायकका रूपमा प्रयोग भएको हेक्का राख्दैनन् ! साँच्चै आफैले, आफ्नै मनले, आफ्नै क्षमता र बुतामा देशको राजनीतिक परिवर्तन भएको भ्रमबाट प्रचण्ड अझै मूक्त हुन सकेका छैनन् । वास्तवमा जनताको भान्सा स्वस्थ, सफा, सस्तो र स्वादिलो हुनु परिवर्तन हो, पुरानो कामचलाउ झुपडीको स्थान सुविधाजनक घरले लिनु क्रान्ति हो, खाल्डाखुल्डीसहितको साँघुरा सडकको कष्टपूर्ण यात्रा गर्नुपर्ने अवस्थाबाट मूक्ति पाउनु र, फराकिलो सडक भएर सूरक्षित यात्रा गरि समयमै गन्तब्यमा पुग्न सक्ने अवस्था बन्नु क्रान्ति हो । झमेलायुक्त प्रशासनिक कार्य ब्यबहारबाट सुशासनमैत्री जनमुखी प्रशासनमा रूपान्तरित हुनु क्रान्ति हो । ब्यापारिक प्रयोजनका शिक्षा र स्वास्थ्य केन्द्रहरूको सट्टा निःशुल्क र गुणस्तरीय शिक्षा र स्वास्थ्य सुविधा उपलब्ध हुने अवस्थाको नाम क्रान्ति हो । स्वदेशमा रोजगारी र सवल अर्थतन्त्रको विकाश, स्वधर्म संस्कृति, मौलिक सभ्यता र इतिहासको संरक्षण हुने ब्यवस्थाको बहाली नै क्रान्ति हो र, नेपाली पासपोर्टले हरेक मुलुकको अध्यागमनमा सम्मान पाउने अवस्थाको नाम क्रान्ति हो । तर के प्रचण्डले यस्तै क्रान्ति खोजेका हुन् त ? दुई दशक लामो शासन अभ्यासले प्रचण्डले खोजेको क्रान्ति के रहेछ भन्ने स्पष्ट गरेको छैन र ? तथापि यिनी अझै क्रान्ति र सङ्घर्षको झाँसा दिन छोड्दैनन्, छोडिरहेका छैनन्, किन ?

खासमा क्रान्तिबारेको प्रचण्डको बुझाइ आफू सत्ताको अधिपति बन्नु मात्र हो, उनको यस्तै अति महत्वाकाङ्क्षालाई सारथि बनाएर अदृष्य शक्तिले आफ्नो लक्ष्य पूरा गरेका हुन् । सत्ता प्राप्त गरिसकेपछि पनि क्रान्ति र सङ्घर्षको कुरा गर्न प्रचण्ड हिच्किचाउँदैनन्, बिनासङ्कोच ऊनी सडक सङ्घर्षमा जाने घोषणा गर्दैछन् ! सडकमा हुनेले सङ्घर्षमार्फत आफ्ना अभीष्ट पूरा गर्न खोज्छन् र, सरकार र सत्ताविरुद्ध तिनको सङ्घर्ष लक्षित र केन्द्रीत हुनेगर्छ । तर देशकै कार्यकारी प्रमुखको आह्वानमा हुने सडक सङ्घर्षचाहिँ कसका विरूद्ध लक्षित हुने होला ?

यसरी सत्ता हातमा आइसकेपछि पनि सङ्घर्ष र क्रान्तिको आह्वान लेनिन, स्तालिन र माओले पनि गरेका हुन् । माओ त्से तुङले त सन् १९६६ देखि (उनी बाचुन्जेल) १९७६ सम्म सांस्कृतिक क्रान्तिका नाममा आफ्ना विरोधी सिध्याउने खुङ्खार अभियान नै सञ्चालन गरेका थिए । स्टालिनले पनि पार्टीभित्र र बाहिरका विरोधी निर्मुल गर्न सङ्घर्षको आह्वान गरेका थिए र, त्यसक्रममा उनले पार्टीभित्रका मात्र करिब चौरान्नब्बे हजार विरोधीको हत्या गराएका थिए । सम्पूर्ण सत्ताको मालिक भइसकेपछि आफ्नो सत्ता अकण्टकताको रक्षाका निम्ति माओ र स्टालिनले सङ्घर्षको आह्वान गरेका थिए, तर प्रचण्ड सत्ताको एकलौटी मालिक होइनन् र, हुने स्थिति पनि छैन । तथापि उनमा सङ्घर्ष र क्रान्तिको ह्याङओभर अझै जिवित देखिन्छ । अहिले उनिबाट प्रकट चाहना र विचारचाहिँ फासिवादी हो, जसको अभ्यास हिटलर, मार्कोस, ह्युगो चावेज, रोबर्ट मुगावेलगायतले आ-आफ्नो समयमा गरेका थिए । विधिवत प्रक्रियाबाट सत्तामा पुग्ने र, राज्य संयन्त्रलाई सम्पूर्ण रूपले आफ्नो काबुमा लिने, कार्यकर्ताका रूपमा देशब्यापी लठैतहरूको सन्जाल खडा गरेर समाज र सडक समेतलाई आफ्नै नियन्त्रणमा राखेर शासन गर्ने अवधारणालाई फासिवादी शासन ब्यवस्था भनिन्छ । आधुनिक विश्वमा जसको पहिलो अभ्यास इटालीका मुसोलिनिले गरेका थिए । समाजवाद र राष्ट्रियताकेन्द्रीत भएको दाबीसहित उनले गठन गरेको फासिस्ट पार्टीले चुनाव जितेर उनी सत्ताको अधिपति बनेका थिए । त्यसपछि आवधिक निर्वाचन पनि गराइरहने र आफैमात्र विजयी बनिरहने मुसोलिनीको शैलीलाई संसारले फासिवादका रूपमा चिन्न थाल्यो । दोस्रो विश्वयुद्धको अन्त्यसँगै मुसोलिनी सडकमा पत्नीसहित मारिएपछि मात्र उनको बाईस वर्ष लामो फासिवादी शासनबाट इटालीका जनताले मुक्ति पाएका थिए ।

प्रचण्डले सम्पूर्ण सत्ताको मालिक बन्ने सपनाबाट अहिलेसम्म आफूलाई मूक्त गर्न सकेका रहेनछन् । नयाँ दिल्लीमा भएको बाह्रबुँदे सम्झौतामार्फत नेपालको खुला राजनीतिमा अवतरण भएका प्रचण्डलाई आफ्नो शक्तिको श्रोत के हो भन्ने राम्रोसँग थाहा नभएको होइन, तथापि उनी आफैले आफ्नै क्षमतामा परिवर्तन गरेको फुर्ति निर्लज्ज ढङ्गले गर्ने गर्दछन् । महादेवको घाँटीमा बस्न पाउने सर्पले पनि गरुडलाई तर्साए झैँ प्रचण्ड घरी न घरी भ्रमित हुने गर्छन् र फुङ्कार छोड्छन् ।

मार्कोसले फिलिपिन्समा पनि त्यही शैली अवलम्बन गरेका थिए । समाज र सडक नियन्त्रणमा लिन मार्कोसले खडा गरेको दस्तालाई भिजिलान्ते भनिन्थ्यो । पच्चीस वर्ष लामो मार्कोसको शासन जन आन्दोलनले बिस्थापित गरिदिएपछि उनको सहारा बनेको पश्चिमी शक्ति उनलाई बास दिन पनि मन्जुर भएन । उपयोगिता सकिएपछि आफ्नै पपेट या एजेण्ट भएर सेवा पुऱ्याउनेहरूलाई पनि चिन्दैनन् अन्तर्राष्ट्रिय सक्तिकेन्द्रहरू, मार्कोसको हकमा पनि त्यस्तै भयो । भेनेजुएलाका बामपन्थी ह्युगो चाबेजले पनि फासिवादी शासनको अभ्यास गर्दै समाज र सडक नियन्त्रणमा लिनका निम्ति कार्यकर्ताको विकराल सन्जाल खडा गरेका थिए । जनताको नाममा आवश्यकताअनुसार सडकमा निस्केर उपद्रव मच्चाउने र विरोधीहरूलाई आतङ्कित तुल्याएर सत्तालाई सुरक्षा दिने तिनै लठैतहरूलाई भेनेजुएलामा चाविष्टा नामले चिनिन्छ । अहिले मादुरोले प्रयोग गर्ने पनि तिनै चाविष्टा हुन् ।

नेपालमा पहिले पञ्चायतकालमा सत्ताको पक्षमा सडकमा भिड्न निस्कनेहरूलाई मण्डले भनिन्थ्यो । चाविष्टा अर्थात् भिजिलान्ते अर्थात् मण्डलेहरूले गर्ने चरित्रको काम यतिबेला अखिल, नेविसङ्घ, युवासङ्घ, तरुण दल, वाइसीएल, प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेण्टर लगायतका भातृसंस्थाहरूले गरिरहेका हुन्छन्, तर यिनलाई अहिलेसम्म एउटै नामले चिन्ने गरिएको छैन, त्यसैले भिजिलान्ते, चाविष्टा या नयाँ मण्डलेका रूपमा यिनलाई बुझ्न थालियो भने त्यसलाई गलत मान्नुपर्ने हुँदैन । आफ्नो पक्षको सत्तामाथि सङ्कट आउँदा यिनिहरू माहुरी होइन अरिङ्गाल झैँ सडकमा निस्कन्छन् र, विपक्षीलाई तर्साएर/र्काएर फर्कन्छन् ।

प्रजातन्त्रमा पार्टीको भूमिका सहजकर्ता या समन्वयकर्ताको मात्र हुनेगर्छ । निर्वाचनमा विधिवत उम्मेदवार खडा गरिदिने, विचार दर्शन र कार्यक्रम दिने र, सत्तामा पुगेपछि एड्भाइजरी जिम्मेवारी मात्र पार्टीले निर्वाह गर्ने व्यवस्था-अवस्थालाई कानूनीराज भनिन्छ । तर कम्युनिष्ट या कुनै पनि चरित्रको एकदलीय अधिनायकवादी निरङ्कुशतामा पार्टीको भूमिका सर्वोपरी तुल्याइएको हुन्छ । २०६३ को परिवर्तन यता सर्वदलीय सहमतिका नाममा जसरी काम हुन थाल्यो त्यो नै अधिनायकवादी अभ्यास हो । यस्तो अभ्यासले दलीय सर्वोच्चताको नाममा ब्यक्तिविशेषको निरङ्कुशतालाई प्रोत्साहन र संस्थागत गरिरहेको हुन्छ । यतिबेला कोही नगरप्रमुख गौहत्यालाई दुरुत्साहन गर्छन्, मन्दिर परिसरमा चर्च घुसाएर गृहयुद्धको पृष्ठभूमि बनाउँछन् ! कोही सिंहदरबारको फोहोर नउठाउने, अदालतको आदेश नमान्ने र सिंहदरबार जलाइदिने धम्की गौरवका साथ दिन्छन् ! सरकार प्रमुख बनेका प्रचण्ड आफै संविधान विपरीत जातीय राज्य बनाइदिने घोषणा गर्छन् ! प्रधानमन्त्री आफै अराजकता, अशान्ति र भ्रष्टाचारको श्रोत बनेका छन् भनियो भने गलत हुनेछैन ।

प्रचण्डले सम्पूर्ण सत्ताको मालिक बन्ने सपनाबाट अहिलेसम्म आफूलाई मूक्त गर्न सकेका रहेनछन् । नयाँ दिल्लीमा भएको बाह्रबुँदे सम्झौतामार्फत नेपालको खुला राजनीतिमा अवतरण भएका प्रचण्डलाई आफ्नो शक्तिको श्रोत के हो भन्ने राम्रोसँग थाहा नभएको होइन, तथापि उनी आफैले आफ्नै क्षमतामा परिवर्तन गरेको फुर्ति निर्लज्ज ढङ्गले गर्ने गर्दछन् । महादेवको घाँटीमा बस्न पाउने सर्पले पनि गरुडलाई तर्साए झैँ प्रचण्ड घरी न घरी भ्रमित हुने गर्छन् र फुङ्कार छोड्छन् । २०६५ सालमा प्रधानमन्त्री बनाइएपछि प्रचण्डले नेपाली सेनालाई आफ्नो हातमा लिएर ‘कू’ को प्रपञ्च रचेका थिए । पशुपतिनाथको पुजारी बदल्न नसकेपछि आफ्नो सामर्थ्य बुझ्नुपर्थ्यो प्रचण्डले, बुझेनन् ! त्यसपछि प्रचण्डले दोस्रोपटक अधिनायकवाद लाद्ने प्रयास २०७५ मा नेकपा गठन भएपछि गरेका थिए । संविधानमा उल्लिखित प्रावधान (समाजवादमा जाने) र संसदीय हैसियत (त्यतिबेला झण्डै दुई तिहाईको सङ्ख्या थियो) लाई प्रयोग गर्दै समाजवाद (एकदलीय)मा छलाङ मारिहाल्नुपर्छ भन्ने प्रचण्डको भनाइ थियो । र, त्यस्तो प्रयासमा असहमत भएकोले पनि केपी ओलीसँग प्रचण्डको दूरी बढेको थियो । केपीलाई गाली गर्दै लेखिएको अठारबुँदे गालीपत्रमा प्रचण्डले यसबारे स्पष्ट रूपले उल्लेख गरेका छन् ।

विधिवत प्रक्रियाबाट सत्तामा पुग्ने र, राज्य संयन्त्रलाई सम्पूर्ण रूपले आफ्नो काबुमा लिने, कार्यकर्ताका रूपमा देशब्यापी लठैतहरूको सन्जाल खडा गरेर समाज र सडक समेतलाई आफ्नै नियन्त्रणमा राखेर शासन गर्ने अवधारणालाई फासिवादी शासन ब्यवस्था भनिन्छ ।

उमेरले सत्तरी वर्ष पुगेपछि प्रचण्डलाई अन्तिम एकपटक एकदलीय अधिनायकवादी सत्ता स्थापनाको रहर जागृत भएको देखिन्छ । अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरू बदलिने दिशामा तीव्रतर गति देखापरेको, अमेरिका र युरोप क्रमशः रक्षात्मक बन्दै गएको र, रसिया र चीनसमेत नयाँ शक्तिकेन्द्रमा रूपान्तरित हुँदै गरेको यस स्थितिमा नेपालभित्र बामपन्थीहरूको एकीकृत शक्ति निर्माण गर्दै चीन र रसियाको छाताभित्र ओत लाग्ने सपना प्रचण्डले देख्न थालेका छन् । यो स्पष्ट छ कि चीन र रसिया विश्वशक्ति केन्द्र बनेपछि बहुदलीय प्रजातन्त्रको भविष्य सङ्कटमा पर्नेछ र, स्थायी शासक र शासन ब्यवस्था प्रोत्साहित हुने अवस्था अब बन्ने देखिन्छ । आफैले निर्णायक मत दिएर निर्लज्ज ढङ्गले पारित गरेको एमसीसी परियोजनामा अड्चन पैदा गर्न प्रचण्डद्वारा सडक सङ्घर्षको धम्की दिएर कसलाई खुशी तुल्याउन खोजिएको हो, यो नबुझिएको विषय होइन । चीन भ्रमणको पूर्वसन्ध्यामा छिमेकी मित्रराष्ट्र चीनलाई मायाजालमा पार्ने उद्देश्यले मात्र प्रचण्डबाट सङ्घर्षको धम्की आएको हो । सहयात्री दल र जनतालाई पटक–पटक झुक्क्याउँदै आएका प्रचण्डले चीनलाई पनि धेरै पटक अल्मल्याइसकेका छन् । उनले त्यसबेला चीनलाई एमसीसी अनुमोदन नहुनेमा पूरै विश्वास दिलाएका थिए ।

प्रचण्डसहित वर्तमानमा संसद्भित्र क्रियाशील दलहरू पश्चिमाहरूको जन्जालबाट मूक्त हुन सम्भव देखिन्न । प्रचण्डले देखाएको र हामीले देखेको क्रान्ति, प्यासले ग्रस्त हरिणले गृष्म ऋतुको मध्यान्हमा कालोपत्रे गरिएको सडकलाई पानी देखेर निरन्तर दौडिए जस्तै हो, जसको प्यास बाटो नफेरेसम्म कहिल्यै मेटिने छैन । तथापि, उनले एकैपटकमा अमेरिका र चीनको ध्यानाकर्षण आफूतिर गरेका छन्, फेरि पनि दुईमध्ये एउटाले धोका पाउने निश्चित छ र, त्यस्तो धोका चीनले नै पाउने सम्भावना ज्यादा देखिन्छ । आकाशको चील देखाएर भुइँको कुखुरा चोर्ने सस्कृतिबाट आएका प्रचण्डहरूले जुन वादका कुरा गरेपनि यिनले अन्तिममा गर्ने भनेको बर्बाद मात्र हो, हामी आफ्नो आँखैअघिल्तिर देश बर्बाद भएको टुलुटुलु हेरिरहन बाध्य निरीह पात्र हौँ, जय मातृभूमि !