सुन तस्करका ‘जेठान’ जोगिने !

सुन तस्करका ‘जेठान’ जोगिने !


नेपाल प्रहरीको सीआइबीले सुन तस्करीको नालीबेली पत्ता लगाउन झण्डै चौबिसै घण्टा काम गरिरहेको छ । एक साताभन्दा कम समयभित्रै यससम्बन्धी मुद्दाको टुङ्गो लगाएर अदालतसम्म पुऱ्याउनुपर्ने भएकोले सीआइबी दबाबमा परेको हो ।

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलाई भ्रष्टाचारसम्बन्धी विषयमा कदम नचाल्न विभिन्न प्रकारले अड्चन पैदा गरेको भए पनि उनले सुन तस्करीमा संलग्न कसैलाई बाँकी नराख्ने अठोटका साथ काम गरिरहेका छन् । अनुसन्धानमा खटिएका प्रहरीहरू भोकै र अनिँदै काम गरिरहेको जानकारी पाएपछि गृहमन्त्री श्रेष्ठ सोमबार राति आफै खाना लिएर सीआइबीको कार्यकक्षमा पुगेका थिए । सोमबारै पूर्व उपराष्ट्रपतिसमेत रहेका पूर्व गुरिल्ला कमाण्डर नन्दकिशोर पुनका छोरा दिपेश पुनसँग प्रहरीले बयान लिएको थियो । पुनले सुन तस्करीमा आफ्नो कुनै संलग्नता नरहेको बयान दिएका छन् ।

यसअघि कृष्णबहादुर महराका छोरा राहुललाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ । सुन तस्करीका एक प्रमुख ब्यक्ति दावा गुरुङसँग घनिष्टतम् सम्बन्धमा रहेका वर्षमान पुनलाई कारवाहीको दायरामा ल्याउन भने प्रहरीले खुट्टा कमाएको छ । दावाकी पत्नीलाई पुनले बहिनी बनाएकोले दावालाई उनले ज्वाइँ भन्दै आएका छन् । फरार दावासँग मिलेर वर्षमानले तस्करीमा सहभागिता जनाउँदै आएको अनुमान प्रहरीको छ । तर प्रधानमन्त्री प्रचण्ड नै वर्षमानको मुख्य संरक्षक भएकोले निजलाई गिरफ्तार गर्न प्रहरी हच्किएको बताइन्छ । सुन तस्करीमा संलग्न अधिकाङ्श ब्यक्तिको पहिचान प्रहरीले गरिसकेको भएपनि प्रधानमन्त्री पुत्री गंगा दाहाल र वर्षमान पुन तथा केही पूर्व आइजिपीहरूलाई गिरफ्तार गरि कानूनी कारवाहीको पहल गर्ने साहस प्रहरीमा देखिएको छैन ।

फोरेन्सिक ल्याबमा जिम्मेवारी लिएर बसेका ब्यक्तिले माथिल्लो तहका ब्यक्तिहरूलाई बचाउ गर्दै प्रतिवेदन दिने गरेको हुनाले पनि प्रहरी अनुसन्धानमा अप्ठ्यारो परिरहेको बताइन्छ । जे होस्, यसपटकको प्रहरी अनुसन्धानले असी प्रतिशत भन्दा बढी तथ्य पत्ता लगाएर कारवाहीको दायरामा ल्याउनसक्ने सम्भावना देखिएको छ । यद्यपि सीआइबी भने शतप्रतिशत नै सफल हुने दाबीका साथ अनुसन्धानमा जुटेको छ ।