धानबाली खेतमै नष्ट, बढ्ने भयो किसानको कष्ट !

धानबाली खेतमै नष्ट, बढ्ने भयो किसानको कष्ट !

घ.वि. सम्वाददाता
0
Shares

कञ्चनपुरको पुनर्वास नगरपालिका-५ उद्रीका देव बोगटीको १० कट्ठा जमिनमा गरेको धानखेती पूरै सखाप भएको छ । धानका बोेट सुकेका र केही बोट रातो-पहेँलो भएका छन् ।

साउनमा दोदा नदीको बाढी खेतमा पसेपछि धानबाली सुक्दै गएको बोगटीले बताउनुभयो । बाढीपछि एकाएक धान सुक्न थालेको र विषादी छर्कदा समेत सुधार नभएको र सबै बाली सखाप भएको उहाँको भनाई छ ।

पुनर्वास-५ उद्रीकै मोहन रानाको तीन बिघा जमिनको धानबाली खेतमै नष्ट भएको छ । उहाँले पाँच बिघा जमिनमा धानखेती गर्नुभएको थियो । साउन तेस्रो साता दोदा नदीमा आएको बाढी बस्तीसम्मै पुगेर डुबान भएको थियो । डुबान भएको पानी घटेपछि एकाएक धानबाली सुक्न थालेको हो । उहाँका अनुसार पानी जमेको ठाउँमा दुई/तीन दिनसम्म गन्ध आइरहेको थियो भने पानी पनि कालो थियो । कृषि गरेर वर्षभरि खानलाई जोहो गर्ने किसान धानबाली खेतमै सुकेपछि चिन्तित भएका छन् ।

धान सुकेर खेतमै पूरै नष्ट भएपछि त्यसैको उत्पादनले आफ्नो जीवन चल्ने गरेकोमा आफ्नो आधार नै मासिएपछि चिन्तामा परेको किसान रामकिसन चौधरीले बताउनुभयो । डेढ बिघामा ५० बोरा धान फलाउने गरेको र त्यसैबाट वर्षभरि खान अनि परिवारको खर्चको जोहो गर्ने गरेको उहाँले बताउनुभयो ।

रोपाइँमा लागेको खर्चसमेत उठाउन गाह्रो हुने उहाँले बताउनुभयो । अरुबेला पनि बाढी आउनेगरेपनि यस्तो क्षति भने नगरेको र यसपटक एक्कासी धान कसरी सुक्यो भन्ने कुरा थाहा नभएको उहाँको भनाई छ । पुनर्वास नगरपालिकाको सिमरी, उद्री, परासन र दोदा नदी किनारकै तीन सय बिघाभन्दा बढीको धानबाली सुकेर र कुहिएर सखाप भएको छ ।

खेत नजिकै रहेको भागेश्वर सुगर मिलले छाडेको केमिकल नालामा मिसिएर त्यही पानीले धान सुकेको किसानको भनाइ छ । सुगर मिलले सिमरी नाला छेउमै डस्ट राखेको र त्यसबाटै केमिकल नालामा मिसिएर खेतमा पुगेको रमेश रानाले बताउनुभयो ।

कृषि ज्ञानकेन्द्र कञ्चनपुरले क्षति भएको धान र उक्त क्षेत्रमा जमेको पानीको नमुना सङ्कलन गरी परीक्षणका लागि काठमाडौँ पठाएको छ । ‘परीक्षण रिपोर्ट आएको छैन, धान क्षतिको विवरण सङ्कलन भइरहेको छ’, कृषि ज्ञान केन्द्रका सूचना अधिकारी हरिदत्त जोशीले भन्नुभयो, ‘दुई सय हेक्टरभन्दा बढी जमिनमा क्षति पुगेको अनुमान छ ।’