सुदूरपश्चिममा आज बूढी पोल्ने पर्व धुमधामका साथ मनाइँदै

सुदूरपश्चिममा आज बूढी पोल्ने पर्व धुमधामका साथ मनाइँदै


  • डम्बर निदाल, डडेल्धुरा

सुदूरपश्चिममा हरेक वर्ष असोज संक्रान्ति अर्थात् आजका दिन बुढी पोल्ने पर्व मनाइँदै छ । प्रत्येक वर्ष असोज संक्रान्तिका दिन राक्षसी स्वभावकी पुतनालाई भगवान् श्रीकृष्णले मारेको सम्झनामा यो पर्व मनाइन्छ ।

भाद्र संक्रान्तिका दिनमा गाउँका स्थानीयले नजिकै रहेको जङ्गलबाट विभिन्न किसिमका स–साना काँडेकाठ (झिँगटा) काटेर एक ठाउँमा थुप्रो (बन्ढुनी) बनाउँछन् । सोही थुप्रो अर्थात् बुढीलाई आज पोलेर वन्ढुनी पर्व अर्थात् बुढी पोल्ने दिनका रूपमा मनाइन्छ । यस पर्वमा गाईबस्तुको हेरचाह गर्ने गोठाला तथा स्थानीयहरूले भाद्र संक्रान्ति अर्थात् ओल्के पर्वको दिन सल्ला, बाँझ लगायतको लिङ्गो ठड्याइ रुखहरू, रुखका हाँगाहरू काटेर एकै ठाँउमा थुपारेर बनाएको बुढीलाई जलाउने चलन रहिआएको छ ।

द्वापरयुगमा राक्षसी पुतनाले राजा कंशको आदेशमा भगवान् श्रीकृष्णलाई दुधको रुपमा विष खुवाएर मार्न लगाएको थियो । भगवान् श्रीकृष्णले थाहा पाएर उल्टै राक्षसी पुतनाको रगत चुसी मारेको खुशीयालीमा यो पर्व मनाउने धार्मीक विश्वास रहेको स्थानीय पण्डित रामचन्द्र भट्टले बताए ।

बन्ढुनी पर्व सुदूरपश्चिमका हरेक गाउँमा मनाइन्छ । यो पर्व सामाजिक र मौलिक पर्व हो । यस पर्वमा बाबियो घाँसबाट महिलाको चुल्ठीजस्तै (लुडी) बनाइन्छ । त्यसमा सुन्दरता थप्न खसर्याका पात र चिमालीका सेता राता र पहेँला फूल जोडेर अति आकर्षक बनाइन्छ । बूढी पोल्न सल्लाको रातो काठलाई राम्रोसँग मसिनो गरेर चिरेर (दियालो वा झरो) को मसाल (राँको) बनाएर सजाइन्छ ।

गाईवस्तुहरूको गोबर थुपार्ने ठाँउमा काँस, अम्रिसोलगायत पाँच जातको घाँसले बेरेको राँको बनाएर राख्ने गर्दछन् । र, बेलुकीपख जलाउने चलन रहेको छ । पुतना राक्षसको आकृतिबाट जलेको खरानीको तिलक गाईलाई लगाउने चलन समेत रहेको छ । यसो गर्दा गोठमा पालिने जनावरलाई कुनै रोग नलाग्ने धार्मिक विश्वास रहेको छ ।

सदियौँदेखि धार्मिक, तथा साँस्कृतिक महत्व बोकेको पर्वका रुपमा बन्ढुनी पर्व रहेको छ । हरेक वर्षको भदौ १ गतेदेखि प्रत्येक स्थानीयले आफ्नो गोरु गुहारमा काँडा र झारपातले बेरेर बनाएको बन्ढुनीलाई हरेक वर्षको असोज १ गते साँझ र कतिपय स्थानमा २ गते बिहान ४ बजे धार्मिक परम्पराअनुसार देवताको चोलो निकाली जलाउने परम्परा छ । बन्ढुनी वा बुढी जलाउँदा सल्लाको झरोको राँको बनाइन्छ । प्रत्येक वृक्षले राम्रो फल दिओस् भनी बाबियो, कासलगायतका वृक्षको डोरी बनाएर बोटबिरुवा तथा घरको छतमाथि राख्ने गरिन्छ । साँझपख सल्लाको दियालो गोठमा लगी गाई बस्तु वरपर गाई बाच्छीपाल बुढी निकाल भन्दै काक्रो मुखमा राखी थुक्ने चलन छ । बन्ढुनी जलाउँदा बालबालिकाहरु ‘गाईबाच्छी पाल ! बूढी निकाल ! थुई बूढी थुई !’ भन्ने गर्छन् ।

कतै कतै बुढी जलाइसकेपछि वारिपारी गाउँका एकआपसमा लुतो लैजाउ भन्ने प्रचलन पनि रहेको स्थानीय लालबहादुर साउदले बताए । सुदूरपश्चिमका विभिन्न पहाडी जिल्लामा बन्ढुनी पर्व मनाउन आज बिहानैदेखि नुवाइधुवाइ गर्ने गर्छन् । बुढी पोली सकेपछि आज राति वा भोलि बिहानसम्म पानी परे गाई अर्थात् लक्ष्मीले जित्ने र नपरे बुढीले जित्ने भन्ने भनाइ पनि रहेको उनले बताए । आज रातभर डडेल्धुराको अमरगढी नगरपालिका-७ पोखरा र १० को राई लगायतका विभिन्न स्थानमा देउडा खेल्ने प्रचलन रहेको छ । स्थानीय एकै स्थानमा भेला भइ देउडा गाउने खेल खेल्ने चलन रही आएको छ ।