किङ मेकर सरदारका नाति पक्राउ !

किङ मेकर सरदारका नाति पक्राउ !


प्रचण्डलाई प्रधानमन्त्री बनाउन पटक-पटक नयाँदिल्ली धाउने ब्यक्तिका रूपमा चिनिएका प्रितम सिंहका नाति अङ्गदलाई प्रहरीले पक्राउ गरेको छ । अङ्गदलाई गुण्डागर्दीमा संलग्न भएकोले पक्राउ गरिएको प्रहरी सूत्रले जनाएको छ । ललितपुरस्थित एक ब्यक्तिको विवाह समारोहमा सहभागी भएका अङ्गदले केही समयअघि सोही समारोहमा सहभागी एक ब्यवशायी एवम् समाजसेवीमाथि हातपात गरेका थिए । अङ्गदका विरूद्ध ललितपुर जिल्ला प्रहरी परिसरमा उजुरी परेको थियो । अङ्गदले काठमाडौं उपत्यकामा रहेका सरदारहरूलाई आफ्ना हजूरबुबाको नाम (प्रितम सिंह) लिएर सताउँदै आएका थिए ।

प्रितम सिंहका एकमात्र छोरा महेन्द्र सिंहको निधन भइसकेको छ । अङ्गद उनको एकमात्र नाति हुन् र, गुण्डागर्दी गर्दै आएका छन् । प्रितम सिंहले कुनै समय यातायात ब्यवशायको क्षेत्रमा राम्रै योगदान दिएका भएपनि पछिल्लो समयमा उनी विवादास्पद बनेका छन् । देशभरिका सरदारबाट नगद सङ्ग्रह गरेर वीरगन्ज र बुटवलमा निर्माण गरिएको गुरुद्वारा परिवारको सदस्यको नाममा राखेर, सोही गुरुद्वारा बैंकमा धितो राखी ऋण लिएको विषयमा अहिले मुद्दा चलिरहेको छ ।

केही साताअघि प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक-पटक दिल्ली जानुभएको रहस्योद्घाटन एक सार्वजनिक समारोहमा गरिदिनुभएको थियो । त्यसयता प्रितम सिंहलाई ‘किङ मेकर’ सरदारका रूपमा पनि चिन्न थालिएको छ ।