काठमाडौं गौचरणमा पहिलो विमान अवतरण

काठमाडौं गौचरणमा पहिलो विमान अवतरण


इतिहास
✍ सुनिल उलक

२००४ फागुन ९ गते देशको प्रधानमन्त्री तथा श्री ३ को रूपमा राणाहरूको तेश्रो पुस्ता अर्थात् भीमशम्शेरका छोरा पद्मशम्शेरले देश छोडेर राँचीतर्फ लागे । जसले गर्दा चन्द्रशम्शेरका छोरा मोहनशम्शेरले प्रधानमन्त्रीको अनुपस्थितिमा सरकार चलाए । तर पद्मशम्शेरले राजिनामा नदिएसम्म प्रधानमन्त्री तथा श्री ३ बन्न नपाएका मोहन शम्शेरले राँचीमा छोरा विजयशम्शेरलाई पठाए । अन्ततः २००५ बैशाख १८ मा पद्मशम्शेरले आफ्नो राजिनामा राजा त्रिभुवनलाई पठाएपछि विधिवत मोहन शम्शेर नेपालको प्रधानमन्त्री तथा श्री ३ बने ।

देशको कायममुकायम प्रधानमन्त्री बनेका मोहन शम्शेरले यातायातको कुनै सडक सञ्जाल नजोडिएको देशमा विमानसेवा सञ्चालन गर्न सकेमा विभिन्न क्षेत्रमा विकास गर्न सकिने अवधारणा भारतीय राजदूत सुरजीतसिंह मजीठियासामु गरेका थिए । मजीठिया भारतीय वायुसेनाको पूर्व पाइलट रहेको हुँदा उनमा विमानसेवाको सम्भाव्यतासम्बन्धी केही ज्ञान थियो । उनले पशुपति मन्दिरको गौचरणको रूपमा घाँसे समथर भागलाई विमानस्थलमा परिणत गर्न सकिने सुझाव दिएपछि अझ केही समथर बनाउन लगाए ।

आफ्नो भतिजा भारतीय वायुसेवामा पाइलटको रूपमा कार्यरत रहेको हुँदा उनले भतिजा दलिपसिंह मजीठियालाई विमानको अवतरण सम्बन्धमा सल्लाह गरे । भारतीय प्रधानमन्त्रीको सहमति पाएपछि कायममुकायमको रूपमा प्रधानमन्त्री रहेका मोहन शम्शेरले विमान अवतरणको अनुमति दिए ।

दोश्रो विश्वयुद्धको समाप्तिपछि अमेरिकी सरकारले युद्धमा प्रयोग भएका जहाजहरूलाई कवाडीको मोलमा बिक्री गर्न थालेको थियो । यसरी विमान सस्तो मुल्यमा किन्न पाउँदा मजीठिया परिवारले पनि दुईवटा सानो विचक्राफ्ट बोनान्जा–३५ मोडलको विमान खरिद गरेको थियो । सामान्य मर्मतपछि दुवै विमान उडाउनयोग्य भयो । यो विमान दलिप सिंह मजीठियाले उडाउने गर्दथ्यो । चार जनामात्र अटाउने सानो विमान भारतका विभिन्न शहरमा उडाइरहेका दलिपसिंहले काठमाडौंमा जहाज उडाउन अनुमति पाएपछि आफ्नै काका नेपालको लागि भारतीय राजदूत सुरजीत सिंह मजीठियालाई काठमाडौंबाट दिल्ली लैजानको लागि विमान लिएर आए ।

बैशाखको महिना, आकाशमा बादल डम्म लागेको थियो । केही वर्षात् भए पनि विमान अवतरण गर्न सक्छु भन्ने आँट उनले गरेका थिए । पहिलो प्रयास विफल भयो । गौचरणको घाँसे मैदानमा वर्षातले गर्दा विमान अवतरण गर्न असहज थियो । आकाशमा फेरि एक-दुई चक्कर लगाए अनि बिस्तारै जहाज अवतरण गरे । उनको दोश्रो प्रयास सफल भयो ।

यसरी २००५ को बैशाख ११ गते नेपालको इतिहासमा एउटा कोशेढुङ्गा गाडियो । नेपालमा पहिलो पटक जहाज अवतरण भयो । यसले विकासको फड्को मार्ने अडकल काटियो । जहाज अवतरण सफल भएपछि सबैभन्दा पहिले उनको काका भारतीय राजदूत सुरजीत सिंह मजीठियाले उनलाई अंकमाल गरे । राजा त्रिभुवन तथा कायममुकायम प्रधानमन्त्री रहेका मोहन शम्शेरलगायत राणा उच्चपदस्थहरू पनि गौचरण पुगेका थिए । सबैको खुशीको सिमा थिएन ।

यो विमानको अवतरणपछि ठूलो डकोटा विमानको सम्भाव्यताको अध्ययन भयो । जसको फलस्वरूप हिमालयन एभिएशनको डकोटा गौचरणमा सफल अवतरण भयो । खाली आएको यो विमान २००६ फागुन ९ गते काठमाडौबाट कलकत्ताको लागि चार्टर्ड विमानको रूपमा केही यात्रु लिएर फर्कियो ।

यहाँ प्रस्तुत गरिएको तस्बिरमा गौचरणमा विमानको छेउमा उभिएको राजा त्रिभुवन तथा विमानको पाइलट दलिपसिंह मजीठियालाई देख्न सकिन्छ । साथै विमानको छेउमा राणा उच्चपदस्थहरू पनि देख्न सकिन्छ । त्यो समय राजा त्रिभुवनलाई जहाज चढेर काठमाडौंको आकाशमा चक्कर काट्न मन लागेको थियो । तर सुरक्षाका कारण मजीठियाले अस्विकार गरेका थिए ।

(प्रस्तुत फोटो दलिपसिंह मजीठियाको ब्यक्तिगत संग्रहबाट साभार । – लेखक)