आज हल्का वर्षाको सम्भावना

आज हल्का वर्षाको सम्भावना


हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । हाल देशका सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका अधिकांश भू-भागमा सामान्य बदली रही थोरै स्थानमा मेघ गर्जन/चट्याङ हल्का वर्षा भइरहेको छ भने बाँकी भू-भागमा आंशिक बदली रहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकारी दिएका छन् ।

आज कोशी, बागमती र गण्डकी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ । पछिल्लो तीन घण्टा यता विशेष गरी कोशी प्रदेशको इलामा, झापा, मोरङ र सुनसरी तथा गण्डकी प्रदेशको म्याग्दी आसपास क्षेत्र र लुम्बिनी प्रदेशको बर्दिया क्षेत्रमा वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

काठमाडौंमा अपराह्नपछि मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको र अहिले काठमाडौंको वायुको तापक्रम २३ डिग्री सेन्डीग्रेड रहेको तथा पारदर्शिता आठ किलोमिटर रहेको मौसमविद् झाले बताउनुभयो । आज काठमाडौंमा अधिकत तापक्रम २९ देखि ३१ डिग्री सेन्डीग्रेडको बिचमा रहने सम्भवना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैगरी आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी भू-भागको थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा कोशी र गण्डकी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख छ ।