हरेक बिहान १५ मिनेट योगाभ्यास गर्न गृहको निर्देशन

हरेक बिहान १५ मिनेट योगाभ्यास गर्न गृहको निर्देशन

घ.वि. सम्वाददाता
0
Shares

काठमाडौँ , उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा गृह मन्त्रालय र उपत्यकास्थित विभाग, कार्यालयका अधिकृतस्तरका सबै कर्मचारीलाई हरेक बिहान १५ मिनेट योगाभ्यास गराइने भएको छ ।

मन्त्रालयले आज एक सूचना जारी गरी मन्त्रालय र उपत्यकाअन्तर्गतका विभाग कार्यालयका अधिकृतस्तरका सबै कर्मचारीलाई हरेक दिन बिहान १०ः१५ भित्र अनिवार्यरूपमा कम्तीमा १५ मिनेट योगाभ्यास / ध्यान गरेर मात्र आ–आफ्नो कार्यजिम्मेवारी प्रारम्भ गर्ने व्यवस्था मिलाउन भनेको छ ।

साथै, अन्य कर्मचारीलाई योग प्रशिक्षण प्रदान गरिसकेपछि सोहीअनुरूप योग / ध्यान गर्ने व्यवस्था र वातावरण बनाउनुहुनसमेत मन्त्रालयले निर्देशन दिएको छ । गृहमन्त्रीको सचिवालयका उपसचिव भीमकान्त शर्माले आज एक सूचना जारी गरी उक्त जानकारी दिनुभएको हो ।

अधिकृतदेखि उच्च तहसम्मका कर्मचारीको सहभागितामा एक दिवसीय ध्यान विज्ञान कार्यक्रम सञ्चालन भइसकेको र अन्य तहका कर्मचारीका लागिसमेत निकट भविष्यमै प्रशिक्षण प्रदान गरिने योजना रहेको मन्त्रालयले जनाएको छ ।

यसअघि गृहमन्त्री श्रेष्ठले सबै कार्यालय र प्रहरी युनिटमा योगाभ्यास सुरु गर्ने बताइसक्नुभएको थियो । उहाँले सरकारी कार्यालयको काम प्रभावकारी बनाउन पनि नियमित योगाभ्यास जरुरी रहेको बताउँदै आउनुभएको छ । रासस