मार्थाको मायामा अल्झिएको नन्दिताको सम्झौता-२

मार्थाको मायामा अल्झिएको नन्दिताको सम्झौता-२


राष्ट्रियताको भावना तब प्रबल लाग्दछ, जब अन्य मुलुकमा आप्रवासी भई रहन बाध्य भइन्छ भनेर धेरै विद्वान्हरूले बारम्बार लेखेका, बोलेका छन् तर विदेशी मुलुक, खासगरी सम्पन्न विदेशी मुलुकमा रहने अनि भास्सिने प्रयत्नमा मानिस त्यही राष्ट्रियताको भावलाई तीर्ण अनि जीर्ण बनाउँछन् । नेपालमा राजा वीरेन्द्र परिवारको सर्वनास भएपछि समस्त राजनीतिमा पनि त्यसकै हाराहारीमा सर्वत्र विनासहरूको सुरुवात हुन थाल्यो । माओवादीहरूको दबाब तीव्र हुन थाल्यो भने मूलधारका मानिएका पार्टीहरूबीच राष्ट्रिय साझा महत्त्वमा पनि एकमत हुन सकेन । तर, त्यही अवस्थामा नै मूल राष्ट्रिय धारमा माओवादीको प्रवेश भयो । नेपालको तत्कालीन वा नेपालको आधारभूत व्यवस्थालाई कुनै पनि आधारमा नमान्ने माओवादी त्यही व्यवस्थाभित्र, त्यही व्यवस्थालाई आधार बनाएर आए पनि समस्त राजनीतिमा त्यसले अन्योल परिवेशबाहेक केही दिन सकेन । त्यसकै प्रतिफल हो तत्कालीन राजा ज्ञानेन्द्रले देशको बागडोर आफ्नो हातमा लिन सक्षम भए । तर, त्यसरी सजिलै शक्ति आफ्नो हातमा लिए तापनि गलत सहयोगीहरूको साथले गर्दा आफैं नै मूलधारबाट बाहिरिन उनी बाध्य भए । यसरी नेपाल विविध शैली र प्रयोगबाट परिवर्तित भइरहने अवस्थामा भने परिवारलगायत पारिवारिक जीवनमा स्थायित्व खोज्ने लाखौँ जनता विक्षिप्त भइरहेका थिए । त्यही बेलामा नेपालबाट विदेशमा लाखौँ नेपाली भ्ास्सिएका थिए । माओवादी कहरको क्रूर पञ्जाबाट फुत्केर आएको बहाना बनाउँदै नेपालीका भव्य व्यक्तित्वहरू विदेशी मुलुकमा शरणार्थी भएर भविष्यको जोहो गर्न लाग्दै गर्दा भने त्यही सङ्क्रमित नेपालमा त्यही सङ्क्रमित हालतमा रहँदै जिजीविषा धान्न आ-आफ्नो ल्याकतले मूलधारका नेपाली चलायमान भएका थिए । नन्दिताले पनि सानो बुटिक सप सुरु गरिन् । मानिस परिवेश र परिस्थितिजन्य बन्दो रहेछ, त्यस्तै नन्दिता आफू पनि बनेको बताउँछिन् । कहिलेकाहीँ हप्ताको एक या दुई दिन बडो डर र मुस्किलले दोकान खोले तापनि व्यापार शून्य भई गहनाहरू बेची भाडा तिर्नुपरेको बताउने नन्दिता जे र जस्तो अवस्था भए पनि त्यसको भरपूर सदुपयोग गर्न पछि नपरेकी बताउँछिन् । उनी सानी छोरीलाई बोकेर लाहुरेको घरघरमा पुगी तिनका श्रीमती तथा छोरीहरूलाई शृङ्गार गर्ने काम केही लामै समय गरेको घटना निकै रोचकताका साथ भन्छिन्- ‘कसैलाई समस्या र अभाव फालाफाल त कसैलाई साधन र स्रोत नै फालाफाल ! सानी छोरीका मनभरि जमेर रहेका रहरहरूलाई आमा भएको नाताले सजिलै बुझ्न सके तापनि विवश भई अबुझ बन्नुजस्तो पीडादायी, लोग्ने साथमा नहुँदाको अवस्था पनि लागेन ।’ राघवले अमेरिकामा दिनरात कम पारिश्रमिकमा पनि काम गरी अलिअलि पैसा नेपाल पठाउन थालेपछि भने नन्दितालाई ठूलै राहत मिलेको थियो । छोरीलाई राम्रो स्कुलमा त पढाउन सकिने भइयो भन्ने सन्तुष्टि उनलाई तत्काल महत्त्वपूर्ण लागेको थियो । यता नेपाली चाडपर्वहरू परिवारको सम्झनामा भक्कानिएर रक्सीमय बनाई बिताउनुबाहेक अन्य विकल्प आफूले देख्दै नदेखेको राघव भावुक हुँदै बताउँछन् भने आफ्नो लोग्नेको आवाजमा आएको परिवर्तन र भाषालाई बुझ्न कोसिस गर्दा नसकेपछि मार्था झर्किँदै सोध्छिन्, ‘तपाईंहरूले मेरोबारेमा कुरा गरेको त होइन ? अङ्ग्रेजीमा बोल्नुहोस्, तपाईंहरू दुइटै ।’ राघव त्यसपछि हाँसिदिन्छन् । लाग्थ्यो, हाँसो पनि खुलेर नआउने गरेर उनी सान्दर्भिक भइसकेका रहेछन् आफ्नो बितेका पलहरूको सम्झनासँग ।

माओवादीको संलग्नतामा र अगुवाइमा सरकार बनेको पनि यो दुईपटक हो । आततायी बनेर कहलिएका माओवादीहरूकै सरकार हुने बेलामा पनि नेपाली मूलधारको परिवेशमा भने सामाजिक स्थिरता आएको छैन । हरेक पार्टीहरूले आफ्नो पार्टीको स्वार्थका लागि मात्र सोच्ने र तदनुरूप लाग्ने भएकोले पनि मुलुकमा शान्ति अझै छाएको छैन । आफ्नो स्वार्थभन्दा माथि उठ्न नसकेका पार्टीहरूको तरङ्गबाट आम जनताका सोच पनि पृथक रहन सकेको छैन । त्यसरी लामो प्रहरसम्म अमेरिकामा ग्रिनकार्ड पाउने प्रलोभनमा वा आफ्नो शरणार्थी केसको सुनुवाइ सकारात्मक हुने आशामा बस्दाबस्दा राघव हतासिन थालेका अवस्थामा वार या पार हुने गरेर अर्को मौकाको ताकमा रहेको बताउने क्रममा उनी अगाडि भन्छन्, ‘जीवन जस्तो भोग्यो, त्यस्तै हो रहेछ । परिस्थिति भनेको हावा हो र त्यसैको वहावमा आफूलाई वहन दिनु नै आजको युगमा बुद्धिमानी हो भन्ने मेरो अनुभव रह्यो ।’ अमेरिकामा जम्न सकिने अवस्था नाजुक बन्दै गएकोले राघव यूके छिर्ने दाउमा रहन थाले, गत वर्ष अर्थात् २०११ को सन्दर्भ यो । त्यसका लागि एक यूकेवासी युवतीसँग हेलमेल बढाउन धेरै पहिलेदेखि नै थालिसकेका थिए । नन्दिता सम्झिन्छिन्, ‘कतिपटक उहाँलाई अब र्फकनुस् भने तापनि उहाँ भन्नुहुन्थ्यो, त्यतिका वर्ष बिताइसकेपछि पनि विदेशमा रहने जुगाड नगरी कसरी र्फकनू ?, त्यसै भएर पनि हुनसक्छ, मैले उहाँलाई उहाँले सोँचेजस्तो नगर्न कहिल्यै भनिनँ । वैवाहिक मूल्य र मान्यताहरू नै खल्बलिने गरेर गरिने उपायहरूमा म चुपचाप नै बसेँ र बसिरहेकी पनि छु । जिन्दगी भनेको सम्झौता रहेछ, त्यसैले भन्छु म अब । यत्तिका वर्ष छुट्टिएर बसिसकेपछि अब केही वर्ष किन नपर्खने भन्नेतिर लागेर उहाँलाई सघाएँ ।’ हो, नन्दिताको सहमतिपछि राघव मार्थासँग नजिकिएका थिए र त्यसलाई पक्का बनाउने क्रममा लागिपरे । अवसरहरूको खोजी गरिने प्रयत्नमा खासगरी विदेशी भूमिमा वैवाहिक मूल्य र मान्यताहरू अनि राष्ट्रियता तथा स्वाभिमान आदि गौण भएर रहने रहेछ भन्ने राघव सम्झन्छन् । आखिरत: मार्थालाई कानुनी रूपमा विवाह नै गरेर त्यसैको भरमा उनी यूकेमा स्थायी नागरिक भएर छिरेका छन् । यो विवाहलाई भने, नन्दिता सिर्फकागजी विवाह ठान्छिन्, अझै । विवाहलाई बाटो खुला गर्नका लागि उनले नै नेपालबाट आफ्नो र राघवको सम्बन्धविच्छेद भएको कागज बनाएर पठाएकी थिइन् । उनलाई लाग्छ- विदेशीहरू नेपालीजस्तो वैवाहिक सम्बन्धमा त्यसरी गम्भीर हुँदैनन् र त्यहाँबाट सम्बन्ध टुटेपछि राघव मुक्त हुनेछन् । विश्वासले नै सृष्टिलाई धानेको हुन्छ तर विश्वासमा कति धर्ैय रहन्छ भन्ने त व्यक्तिगत क्षमताको कुरा पनि हो । राघवले पनि त्यस्तै सोच्दासोच्दै वा विश्वास राख्दाराख्दै मार्था गर्भवती भएकी थिइन् र अहिले त एक सानी मायालाग्दी छोरीकी आमा बनिसकेकी छिन् । जुन सम्बन्ध अब यस्तो पक्का अनि जेलिँदो डोरीजस्तै बनेको छ कि राघवले दिनप्रतिदिन जेलिनुबाहेक अन्य केही गर्न सकेका छैनन् । ‘उपायहरूको अभावमा जीवनलाई जसरी चल्छ, चलाउनुबाहेक अन्य योजनाहरू बनाउन म असफल भएँ ।’ यो उनको वास्तविक तथा यथार्थिक निचोड थियो ।(क्रमश: आगामी अंकमा)