चाकडी महात्म्य !

चाकडी महात्म्य !


✍ बलराम उपाध्याय सिलवाल

श्री गणेशाय नमो नमः । अर्कोले जे गर्यो मैले त्यही गर्नुपर्छ भन्ने छैन । अर्को रक्स्याहा भो त म नि रक्स्याहा होउँ त ? मान्छेको आफ-आफ्नो मूल्य मान्यता र सिद्धान्त हुन्छ । महात्मा गान्धी अहिंसाको पुजारी रहेर त विश्वविख्यात हुन सके । सिद्धान्त फेर्ने ताकछोपुवा कत्तिखेर भड्खालोमा जाकिन्छ, उसलाई पत्तो हुन्न ।

चाकडीबाजको स्वत्व हुन्न, परजीवी सरह जिउँछ । चाकडी बिना उसको भुँडी पूजा हुन्न । त्यसैले ऊ चाकडी बजाउन झिसमिसेदेखि नेताको ढोका ढुक्छ । यस्ता ढुकुवाहरू नै यस मुलुकको अधोगतिको कारक तत्व हुन् । राणाकालमा त जागिर खान र कोपभाजनबाट बच्न चाकडी बजाउनु परो । गणतान्त्रिक नेपालमा किन चाकडी गर्नुपरो र ? आउरेबाउरेको चाकडी नगरेको बेस । कन्फ्युसियसको जिब्रो होइन, दाँत हुने हो । मैले मात्रै चाकडीको प्रतिपक्षण गरेर के गर्ने ? मुलुक नै चाकडीमय हुँदो छ । चाकडी र घुस बिना काम नबन्ने भो ।

मुट्ठीभरका नेताहरूलाई स्वर्ग छ संघीयता । अरूलाई त उजाड उजाड छ । भ्रष्टाचार कसरी निर्मूल गर्न सकिन्छ भन्नु पर्नेमा भ्रष्टाचार कम गरौं भन्ने नेता परेसि उँधो फाल लाग्ने पक्का भो । चुनावपिच्छे करातिलो राजनेता खोज्यो आखिर गैतरामे नेता हात लाग्छ ।

सेना/प्रहरीको चेन अभ् कमाण्ड भत्काउनु हुन्न । यिनीहरूलाई राजनीतिमुक्त राख्नुपर्छ अन्यथा मुलुकले दुर्दशा भोग्नुपर्छ । पञ्चायतराजमा पुलिस देखेर कुथुराउने मनुवा अचेल आईजिपि/प्राइम मिनिस्टरलाई आँखा तर्ने भो । अनुशासन रहेन, मनुष्य गतिछाडा भो । विकृति/विसंगतिको बढोत्तरी । क्षेत्रियता, साम्प्रदायिकता र नश्लताले मणिपुर बनाउला कि को पिर छ ।

राजाको हत्यारा त पत्ता लाग्न सकेन भने अरू मामुली मान्छेको के हविगत होला ? राज्यविहीनता, कानुनविहीनता औ दण्डहीनता मौलायो । व्यक्ति त ठिक नभए बसाइँ सर्छ, मुलुक त बसाइँ सर्ने कुरो भएन है । साँढे झैं निर्विवेकी/मिचाहा छिमेकीहरू परेसि कच्चिनु शिवाय के पो गर्न सकिन्छ र ? देशभक्तको नाउँमा बढी सर्किदा सिजर बनाउन के बेर । ठेक्दारले ठेक्दारी देखाको नि सालौं भइसक्यो, यसको दादागिरी तोड्ने कोही देखिएन । परिणामतः बर्लिनको पर्खाल ढल्यो, सोभियत संघ विखण्डियो ।

धार्मिक सहिष्णुता शून्यिदा मुलुक घर झगडामा जोतिन्छ । डलरेहरूले मुलुकलाई कलहतिर घचेट्दा छन् । विवेकशून्यता । अनेकताभित्रको एकता भाँडिदो । आफ्नो कुकर्मको परिणतिमा पछुताउनु नपरोस् है ।

बारम्बार रिचार्ज गर्नुपर्ने मनुवाहरूसित के कन्फेसन गर्नु ? अमौलिकहरू मौलिकता गुमाउँदा छन्, मकरध्वजको देशमा गुमनामिदा छन् । रसायन नमिलेका स्वार्थी मान्छेहरूसित साथीत्व टिक्दैन । आफूले पढ्न सकेन त अरूले पढेकोमा किन रिस गर्ने होला ? बौद्धिक हुन त बौद्धिकता हुनुपरो नि । सुटिडबुटिड धनाढ्यको बौद्धिकता भनेको त जोग्राफीमा तीन दिन बसेको गफ मात्रै हो । लघुजीवनको ढर्रा देखी नसक्नुको । यमपासमा पर्नेवालो छ तैपनि तरुनीको पिछा गर्दो । जीवनबोध नभएका अधमराहरू । चाउरिने छाला र कुहिजाने सासबोली- किन घमण्ड गर्नुपरो र ? बाउसे सकियो । आजलाई मैजारो । अस्तु ।