पहिचान र एकताको प्रतीक- ॐ

पहिचान र एकताको प्रतीक- ॐ


मन्त्रिस्तरीय निर्णयबाट ‘संयुक्त अक्षरहरू हटाउने’ निर्णय सदर भएपश्चात ॐ, श्री लगायतका संयुक्त अक्षरहरू सङ्कटमा परेका छन् । कसैलाई मन लागे ॐ र श्री जस्ता संयुक्त अक्षर राख्ने अनि मन नलाग्दा हटाउने हुन सक्ने खतरा बढेको छ । यो नेपाली भाषालाई अपाङ्ग बनाउने, भाषिक रूपमा नेपालीलाई कमजोर बनाउने र भावी पिँढीले आजसम्म लेखिएका देवनागरिक लिपिका दस्तावेजहरू पढ्न नसक्ने बनाउने कुनियत चाल हो ।
✍ नरोत्तम श्रेष्ठ

ॐ श्री गणेशाय नमः
ॐ नमः शिवायः
ॐ रामाय नमः
ॐ नमो भगवते वासुदेवायः
ॐ मणिपद्मे हुँ
ॐ माने पेमे हुं
ॐ किराँतेश्वर नमः

नेपाल पवित्र वेद र वेदान्त शास्त्रहरूको उद्गमस्थल हो । देवहरू ब्रह्मा, विष्णु, महेश्वर तथा देवीहरू- सीता, पार्वती, सतीदेवी, शैलजा जस्ता शक्तिपीठ र शक्तिरुपिणीहरूको उद्गमस्थल यही तपोभूमि हिमालय पर्वतको काखबाट हिमाल, पहाड र तराई जोड्ने, मुक्तिनाथ र लुम्बिनी जोड्ने, जनकपुर र पशुपति जोड्ने, छिन्नमस्ता र गोसाइँकुण्ड जोड्ने एक पवित्र पहिचान र एकताको प्रतीक हो- ॐ ।

यतिबेला ॐ लगायतका झर्रो नेपाली शब्दहरू नेपाली शब्दकोशबाट हटाउने निर्णयले भाषा-संस्कृतिप्रति अगाढ प्रेम गर्ने हरेक नेपालीको मथिंगल घुमिरहेको छ । बोलीचालीको भाषामा प्रयोग हुने अर्थात् ‘झर्रो’ शब्दको प्रयोगबिना नेपाली साहित्य अधुरो छ । नेपाली शब्दकोशबाट ॐ लगायत अन्य झर्रो नेपाली शब्दहरू जस्तैः कच्याकुचुक, खुजुमुज्ज, झटपट, ह्वारह्वार, ग्वारग्वार्ती, आदि शब्दहरू हटाउन ०७४ साल असारमा प्रज्ञा प्रतिष्ठान, शिक्षा मन्त्रालयलगायत र सिफारिस समितिले निर्णय गरेको रहेछ । सरकारले २०७४ सालमा गरेको निर्णयविरूद्ध अधिवक्ता स्वागत नेपाल र पत्रकार टपेन्द्र कार्कीले २४ भदौ २०७४ मा ‘विदेशीको षड्यन्त्रमा संयुक्त अक्षरहरू हटाएर नेपाली भाषाको चीरहरण गर्न खोजिएको’ भन्दै सर्वोच्चमा रिट दर्ता गराएका थिए । त्यसबेला ०७४ भदौमा सर्वोच्च अदालतमा परेको रिटमा अहिले ६ वर्षपछि सर्वोच्चले सुनुवाइ गर्न थालेको छ ।

ॐ सहितका शब्द हटाउने गरी सरकारले गरेको निर्णयविरुद्ध २०८० साल असोज ४ गते सर्वोच्च अदालतले ‘एमिकस क्युरी’ मगाउने आदेश गरेको छ । ‘ती शब्दहरू हटाउने निर्णय कार्यान्वयन नगर्नु नगराउनु’ भन्दै त्यति बेला नै अदालतबाट अन्तरिम आदेश भएर ‘स्टे अर्डर’ भएकोले अझै कार्यान्वयन गरिएको छैन र त्यसको पूर्ण सुनुवाई अहिले हुँदै गरेको छ । अदालतले कुनै पनि मुद्दामा विज्ञहरूको राय-सल्लाह लिन चाहेमा सहयोगीका रूपमा बोलाउन सक्छ । त्यस विषयमा विज्ञहरूसँग छलफल गर्छ । त्यही विज्ञ समूहलाई अदालती भाषामा ‘एमिकस क्युरी’ भनिन्छ ।

‘शब्दकोश’ भनेको भाषाको शब्द, शब्दको अर्थ, व्याकरण, वाक्यमा प्रयोग, लिपि, उच्चारण, शाब्दिक विचार तथा अन्य सम्बन्धित जानकारी रहेको शब्द संग्रहणी बुझिन्छ । ‘शब्दकोश’ भनेको यसले शब्द भण्डारण बढाउँदै जानु हो, जसले भाषा अध्ययन र अनुवादमा महत्वपूर्ण भूमिका खेल्दछ । शब्द चाहे श्लील होस् वा अश्लिल, शब्दकोशमा राखिएको हुन्छ, हटाइँदैन । बरु शब्दकोशमा शब्द बढाउने गरिन्छ । नयाँ शब्द, आगन्तुक शब्द आदिलाई शब्दकोशमा राखेर शब्दकोशमा वार्षिक रूपमा शब्द बढाउने गरिन्छ । एकपटक शब्दकोशमा प्रविष्ट गरिएका कुनै पनि शब्दहरू हटाउनु हुँदैन, बरु थप्दै जानुपर्छ । यहि नै शब्दकोशको मूल मर्म हो ।

यस अर्थमा ‘ॐ’ ‘श्री’ लगायत नेपाली झर्रा शब्दहरू नेपाली शब्दकोशबाट हटाउने निर्णय शब्दकोशको मूल मर्मलाई नै प्रहार गर्दै नेपाली भाषा र धर्म-संस्कृतिप्रतिको नग्न हस्तक्षेप हो । धर्म, संस्कृति, परम्परा, सम्पदा, पहिचान जस्ता हाम्रा एकताको सूत्रहरू कमजोर बनाएर राष्ट्रको सार्वभौमिकता र अखण्डता नै कमजोर बनाउने, साम्प्रदायिक द्वन्द्व प्रगाढ गर्ने, आफ्नो मौलिक संस्कृति नष्ट गराइ देश पराइको इशारामा नाच्न विवश पार्ने षड्यन्त्रपूर्ण कर्तुत हो ।

अहिले एकैछिनलाई शब्दकोशको मूल मर्मलाई यतिकैमा थाति राखि ‘ॐ’ को शाब्दिक अर्थ विष्लेषण गरौँ है त । ‘ॐ’ शब्द हो कि अक्षर हो त ? ‘अ + ऊ + म’ यी तीनवटा वर्ण मिलेर बनेको सन्धि हो- ‘ॐ’ । अघिल्लो एकाइको पछिल्लो ध्वनि र पछिल्लो एकाइको अघिल्लो ध्वनीबीच मेल भएर ध्वनि र रूपमा परिवर्तन भएर ‘ॐ’ को निर्माण भएको हो । यस अर्थमा ‘ॐ’ संयुक्त अक्षर अर्थात् शब्द नै मान्न सकिन्छ । केवल १२ मन्त्र भएको सबैभन्दा छोटो उपनिषद्को रचना ई.पू. ८०० सालमा नै ऋषिहरूले गरेको मानिन्छ । ‘अ’ अर्थात् आदि, जसले व्रह्मलाई बुझाउँदछ । ‘ऊ’ अर्थात् उन्नति, जसले विष्णुलाई चिनाउँदछ । ‘म’ अर्थात् मृत्यु, जसले महेश्वरलाई बुझाउँदछ ।

अब ‘ॐ’ शब्दको सुरुवात कसरी भयो- इतिहास खोतलौँ न त । विशेष गरेर वैदिक मन्त्रमा प्रयोग गरिने ‘ॐ’ हाम्रा ऋषि–महर्षिहरू ध्यान मग्न हुँदा ध्यानको मात्रा बढ्दै जाँदा ब्रह्माण्डको गतिको कारण उनीहरूले आफ्से आफ सुनेको शब्द हो भन्ने मान्यता छ । ॐ उच्चारण गर्दा भित्रैबाट श्वास बाहिर आउने हुनाले जिन्दगीको अन्तिम श्वास फेर्नका लागि सहज हुने कुरा श्रीमदभागवत गीतामा श्रीकृष्णले अर्जुनलाई बताउनुभएको छ । ॐ लाई सृष्टिकै प्रथम ध्वनि मानिन्छ । ब्रम्हाण्डमा भौतिक निर्माण अस्तित्वमा आउनुअघि जुन प्राकृतिक ध्वनि थियो- त्यो नै ॐ को गुञ्जन थियो भनिन्छ । यसैले ॐ लाई ब्रम्हाण्डको आवाज पनि मानिन्छ ।

खगोलको अध्ययन गर्ने अन्तराष्ट्रिय संस्था नासाले विभिन्न ग्रहहरूको आवाजहरू रेकर्ड गर्ने क्रममा नासाले रेकर्ड गरेअनुसार ‘ॐ’लाई सुर्यको ध्वनि हो भनिएको छ । यसर्थ ॐ आफैंमा यस्तो सम्बोधन हो, जुन ब्रह्माण्डको गतिबाट निस्कने अनन्त ध्वनि हो । ब्रह्माण्डको ध्वनिको गतिलाई भगवान् शिवको ताण्डव नृत्यसँग पनि तुलना गर्न सकिन्छ । भगवान् शिवको ताण्डव नृत्यलाई विश्वप्रसिद्ध भौतिकशास्त्री फ्रिचफ काप्रा (Fritjof Capra) ले परमाणुको वरिपरि चक्कर लगाउने इलेक्ट्रोनको गतिसँग तुलना गरेका छन् । इलेक्ट्रोन परमाणुको वरिपरि ९६० किलोमिटरप्रति सेकेण्डको गतिमा घुम्छ अर्थात् यो गतिले नेपालको पूर्व-पश्चिम लम्बाई १ सेकेण्डमै पार गर्छ । इलेक्ट्रोन न कण हो न त तरङ्ग । त्यही भएर यसको न त शुरु छ, न अन्त नै न त यसको कुनै निश्चित स्थान नै हुन्छ । यो क्वाण्टम एनट्याङ्गलमेन्ट (Quantum Entanglement) एकैपटक पुरै ब्रह्माण्डमा जुनसुकै ठाउँमा प्राप्त हुन सक्छ । त्यसैले यो सर्वव्यापी छ- ठ्याक्कै हामीले जप्दै आएको अनादी, अनन्त अपरम्पार, सर्वव्यापी ‘ॐ’ जस्तै ।

नेपाली शब्दकोश उत्पत्ति हुनुभन्दा अगाडि नै सन् १८११ मा प्रकाशित पुस्तकमा KIRKPATRICK ले ॐ शब्द उल्लेख गरेका थिए । नेपाली शब्दकोशमा मात्र होइन, अङ्ग्रेजी शब्दकोश ‘Oxford Dictionary’ मा पनि ॐ शब्द उल्लेख गरिएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानले संस्थागत रूपमा पहिलो पल्ट २०४० सालमा नेपाली बृहत् शब्दकोश प्रकाशित गरेको हो । त्यस मितिदेखि वि.सं. २०७७ सम्म विभिन्न संस्करण गर्दै यसका दशौँ संस्करण र पुनर्मुद्रण गरी एघारपल्ट छापिसकेको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित शब्दकोशमा ॐ लाई- १. क्रमशः विष्णु, शिव र ब्रह्मालाई बुझाउने अ, उ, म मिलेर बनेको शब्द । २. वेदपाठ गर्दा मन्त्रका रूपमा ऋचाका आगाडि-पछाडि उच्चारण गरिने पवित्र ध्वनि ॐ पणव भनेर परिभाषित गरेको छ । अर्थात् प्रज्ञा प्रतिष्ठानले आफ्नो शब्दकोशमा ॐ लाई ‘ओ’ वर्ण अन्तर्गत ‘ओं’ लेखेर समाविष्ट गर्दै त्यसका विभिन्न अर्थहरू खुलाएको छ र त्यसअन्तर्गत एउटा अर्थमा कोष्ठकभित्र ‘ॐ’ उल्लेख गरेको छ । प्रज्ञा प्रतिष्ठानको शब्दकोशका संस्करणहरूमा ॐ ले छुट्टै अक्षरका रूपमा प्रविष्टि नपाएको र त्यसलाई वर्णानुक्रममा ‘अ’ भन्दा पनि अगाडि राखिनुपर्थ्यो भन्ने तर्क पनि सान्दर्भिक छ । वर्णमालाको हवाला दिएर र केही शब्दकोष निर्माणसम्बन्धी नियमको कुरा वा तर्क तेर्साएर ॐ शब्दलाई निषेध गर्न खोज्नु खेदजनक छ ।

ॐ लाई मान्ने, पूज्ने, उच्चारण गर्नेहरूको समूहलाई ॐकार परिवार भनिन्छ । हिन्दू, बौद्ध, जैन, शिख, किरात, बोन आदि धर्मको मुलमन्त्र ॐ हो । वैदिक सनातन धर्मावलम्बीहरूले हरेक शुभ कार्यको प्रारम्भमा प्रयोग गर्ने मन्त्र ॐ सम्पूर्ण सृष्टिको समन्वयात्मक ध्वनि हो । ॐ को उच्चारणविना कुनै पनि धार्मिक कार्य पूरा हुँदैन । ॐ भाषा र व्याकरणको मात्र विषय नभएर आध्यात्मिक र धार्मिक महत्त्वको विषय पनि बनेको छ । भनिन्छ, ॐ विना सृष्टिको कल्पनासम्म पनि गर्न सकिँदैन । तर, मन्त्रिस्तरीय निर्णयबाट ‘संयुक्त अक्षरहरू हटाउने’ निर्णय सदर भएपश्चात ॐ, श्री लगायतका संयुक्त अक्षरहरू सङ्कटमा परेका छन् । कसैलाई मन लागे ॐ र श्री जस्ता संयुक्त अक्षर राख्ने अनि मन नलाग्दा हटाउने हुन सक्ने खतरा बढेको छ । यो नेपाली भाषालाई अपाङ्ग बनाउने, भाषिक रूपमा नेपालीलाई कमजोर बनाउने र भावी पिँढीले आजसम्म लेखिएका देवनागरिक लिपिका दस्तावेजहरू पढ्न नसक्ने बनाउने कुनियत चाल हो ।

नेपाल सरकारको संयुक्त अक्षर हटाउने निर्णय आधिकारिक रूपमा फिर्ता नभएसम्म वा त्यो निर्णय अर्को मन्त्रिस्तरीय निर्णय गरेर नउल्ट्याइएसम्म वा अदालतले त्यसलाई रद्द नगरेसम्म यो निरन्तर बहस र चासोको विषय बनिरहने छ । सार्वभौमिकता, राष्ट्रियता, राष्ट्रिय एकता, सामाजिक सदभाव, संस्कृति, पहिचान, शान्ति र न्याय बिथोलिने यथेष्ठ कदमहरू छरपष्ट देखिँदा हाम्रा सामाजिक सद्भावका सबै आधारहरू छानिछानि ध्वस्त बनाउने गुरूयोजनासहित हाम्रो एकता अनि मौलिक पहिचानलाई नामेट पार्न हाम्रा शब्द भण्डारसँग नै पौंठाजोरी खेल्ने कपटी चाल रचिएको हो कि भन्ने सन्देह जीवित रहिरहने छ ।
जय मातृभूमि !

(लेखक ‘मातृभूमिका लागि नेपाली’का केन्द्रीय परिषद् सदस्य एवम् उपाध्यक्ष हुन् ।)