के सन्देश दिँदैछन् राजनीतिक दल ?-दिनेश नेपाल

के सन्देश दिँदैछन् राजनीतिक दल ?-दिनेश नेपाल


वसन्त ऋतु सँगसँगै प्रेम, सद्भाव र मेलमिलापको सन्देश लिई आउने फागुपर्व नेपालका जनता र राज्य सञ्चालकहरूले पनि मनाएको त देखियो तर यस पर्वले अंगालेको मर्म र उद्देश्यलाई शासकहरूले आत्मसात् गरेको जनताले अनुभव गर्न पाएनन् । एकातिर साना दलहरूले संविधान तीन दलहरूको दस्तावेज भएमा हामीलाई स्वीकार हुने छैन भन्नु र अर्कोतिर तीन दलहरू पनि आ-आफ्ना छुट्टै अडानमा यथावत् रहनुलाई नेपालका दलहरूमा फागुपर्वको पवित्र सन्देश प्रवाहित हुन नसकेकै मान्नुपर्छ ।
वास्तवमा सत्य र असत्यको द्वन्द्व मानवको अस्तित्वसँगै सुरु भएको र सधैं सत्यको विजय निश्चत छ भन्ने यथार्थ फागुपर्वलगायत अन्य थुप्रै सन्दर्भले स्पष्ट पारिरहे पनि नेपालका राजनीतिक दलहरूले यो आत्मसात् गर्न नसक्नु तिनीहरूमा अवस्थित होलिका, रावण र पुतना प्रवृत्तिको चित्रण हो भनेमा अत्युक्ति नहोला । सत्य यो हो कि फागुपर्वको सुरुवात नै सत्यवादीहरू प्रह्लाद, श्रीराम र श्रीकृष्णको विजय याने असत्यमाथि सत्यको विजयपश्चात् मानवलाई सत्यतर्फ लाग्न प्रेरित गर्ने अभिप्रायले भएको देखिन्छ । तर, नेपालका राजनीतिक दलहरूमा अवस्थित आफू सत्य र अरू सबै असत्य भन्ने प्रवृत्तिले त यही दर्शाउँछ कि तिनीहरू होली त मनाउँछन् तर होलिका-प्रवृत्तिलाई दहन गर्न तयार छैनन् । यसले होली पर्वको यथार्थ पनि नेताहरू या राजनीतिकर्मीहरूलाई जनताले आन्दोलनमार्फत सिकाउनुपर्ने देखिन्छ । कतै हाम्रा राजनीतिक दलहरू यसकै पर्खाइमा त छैनन् ?
फागुपर्वलगत्तै सम्पन्न भएको ‘एएफसी फुटबल’ प्रतियोगिताको उद्घाटन सत्रमा जुन उत्साह नेपालका राजनीतिक दलहरूले देखाउँदै सहभागिता जनाए र प्रधानमन्त्रीलाई एन्फाका अध्यक्षले आफूद्वारा गरिने उद्घाटन प्रधानमन्त्रीद्वारा गरिदिन आग्रह गर्नु नेपालका राजनीतिक दलहरूले एक-आपसमा मिली सम्पन्न गरिने जुनसुकै कार्यको विश्व समुदायले सद्भाव र समर्थन गर्दै कदर गर्छ भन्ने तथ्यको उदाहरण हो जस्तो लाग्दछ । तर, जनता र विश्वसमुदायको जति नै समर्थन भए पनि खेल जित्न ‘टिम’का सदस्यबीच ‘टिमवर्क’को ‘स्पिरिट’ र खेलाडीले एक-आपसमा खेल संयोजन गर्न सकेनन् भने खेल हारिन्छ भन्ने तथ्य यसपटकको नेपालको पराजयलाई लिन सकिन्छ । यही स्थिति अहिले देशका र राष्ट्रका राजनीतिक खेलाडीमा स्पष्ट रूपले देखिएको छ । समयभित्र नै संविधान निर्माण गरी देशलाई सङ्क्रमणकालबाट मुक्त गरिदेऊ भनी जनता एकोहोरो भन्दै छन् र विश्व समुदायले पनि सङ्क्रमणकालअनुरूप क्रिया गरी कार्य सम्पन्न गर्नु नै नेपालका राजनीतिक दलहरूको परम् कर्तव्य भएको आशय प्रकट गरिरहेका छन् । तर, राजनीतिक दलहरूचाहिँ आ-आफ्नै ‘गोल’ गर्नेतर्फ लाग्नु कालान्तरमा खेल हारिनु नै हो भनेमा फरक पर्दैन । यर्सथ, जित्नका निम्ति नेपालका राजनीतिक खेलाडीले समुचित तालमेल मिलाउँदै राजनीतिक खेल खेल्नु नै राष्ट्रहित, जनहितको साथमा उनीहरूको पनि हितमा हुन्छ ।
आज देशमा प्रमुख राजनीतिक दलहरू आ-आफू नै ‘गोल’ गरी सम्पूर्ण जस आफूले लिन चाहन्छन् भन्ने तथ्य त ती प्रत्येक दलका दैनिक प्रस्फुटित हुने अभिव्यक्ति र क्रियाकलापहरूबाट स्पष्ट देखाइरहेको छ । उदाहरणका निम्ति एमालेले आफूलाई लोकतान्त्रिक क्रान्तिकारीवादी, काङ्ग्रेस यथास्थितिवादी, माओवादी उग्रवामपन्थीवादी र मधेसवादी दल क्षेत्रीयतावादी हुन् भनी टुँडिखेलमा गरिएको उद्घोषलाई लिन सकिन्छ । यसरी नै माओवादीले सेना समायोजनमा ‘ब्रिगेडियर जर्नेल’को माग र शान्ति समायोजन र संविधान लेखन सँगसँगै लानुपर्छ भनी एकातिर जिद्दी गर्नु र अर्कोतिर नेपाली काङ्ग्रेसले सातबुँदे सम्झौताबाट हामी एक पाइला पनि पछि हट्दैनौँ भनेका सन्दर्भहरूलाई नेपाली राजनीतिक खेलमा सम्बन्धित खेलाडीहरूले पटक्कै ‘टिम स्पिरिट’ देखाएका छैनन् भन्ने यथार्थ झल्किन्छ ।
अब त लाग्न थालेको छ कि नेपाली ‘फुटबल’ खेलाडीलाई जस्तै नेपालका राजनीतिक खेलाडीलाई पनि खेल र ‘टिम स्पिरिट’को प्रशिक्षण दिन ‘ब्रिटेन’ या अन्य विकसित राष्ट्रबाट कुशल ‘कोच’को बन्दोबस्त नेपाली जनताले गर्नुपरेको छ । सायद यसकै निमित्त नै सोझै नभई अप्रत्यक्ष रूपले राजनीतिक प्रशिक्षण दिनका लागि बेलाबेलामा विदेशमा गइराखेका हुन् कि जस्तो लाग्दछ । तर, फेरि नेपालमा त आफ्नो पासपोर्टमा प्रवेशाज्ञा ?भिसा) छ कि छैन भन्ने पनि विदेशीले देखाइदिनुपर्ने मन्त्री छन् । खोइ कसरी यस्ताले राष्ट्रलाई सङ्क्रमणकालबाट मुक्ति दिन्छन्, शङ्कै लाग्छ । यसले त नेपालमा ‘महामूर्खको खोजी फागुपर्वमा गर्नुपर्दैन दिन-दिनै नखोजीकन नै भेटिन्छ भन्ने देखाएको छ । यसबाट त स्पष्ट देखिन्छ कि प्रशिक्षित खेलाडीहरूमा त ‘टिम स्पिरिट’ नमिल्दा खेल हारिँदोरहेछ भन्ने मूर्ख र भ्रष्ट खेलाडीलाई साथमा लिएर डा. बाबुराम भट्टराई कसरी खेल जित्न सफल हुनुहोला, गम्भीर भएर प्रधानमन्त्रीले सोच्नु आवश्यक छ । यदि बेलैमा बाबुरामले यसतर्फ आफ्नो ध्यान केन्द्रित गर्दैनन् भने जनताले कठैबरा बाबुराम भन्नुसिवाय केही पनि बाँकी रहँदैन ।
अहिलेको स्थितिमा राष्ट्रका प्रमुख दलहरू एनेकपा माओवादी, नेपाली काङ्ग्रेस र नेकपा एमालेका नेतृत्वहरूले आ-आफूले नै प्रशिक्षण लिनुपर्नेमा आ-आफ्ना कार्यकर्तालाई प्रशिक्षण दिँदै ठाउँ-ठाउँमा भौंतारिनुलाई जनताले जेठ १४ मा संविधान नबनेपछि जनताको आक्रोशित ज्वालाबाट सुरक्षित राख्ने ‘रिहर्सल’को रूपमा लिन थालेको देखिन्छ । यर्सथ, अहिले बेमौसमको बाजा बजाउँदै हिँड्नुभन्दा दलका नेतृत्वहरूले ‘कम्बाइन स्टडी’ गरी एक-अर्कासँग विद्यमान राम्रा पक्षहरू लिनु र नराम्रा पक्षहरूको न्यूनीकरण गर्दै समयभित्रै शान्तिप्रक्रिया र संविधान निर्माणको कार्य पूरा गर्नु नै बुद्धिमानी ठहरिन्छ । विश्व समुदायद्वारा सम्मान पाइने र जनताको बधाई प्राप्त गरी जनविश्वास हासिल गर्ने एक मात्र उपाय यही हो । यसबाट मात्र फागुपर्वको मर्ममा अवस्थित होलिका प्रवृत्तिको दहन गर्दै प्रेम, सद्भाव र मेलमिलापजस्ता सद्गुणहरू अवलम्बन गरी राष्ट्रलाई सङ्क्रमण र अन्योल स्थितिबाट मुक्त तुल्याएर वसन्तमय वातावरण प्रदान गर्दै जनतालाई हर्षोल्लासपूर्ण राष्ट्रिय संवैधानिक र शान्तिपर्व खेल्नुस् भनेझैँ सन्देश जान्छ ।