चितवनमा पहिलो चलचित्र अवार्ड आयोजना गर्दै ‘लक्की मिडिया हाउस’

चितवनमा पहिलो चलचित्र अवार्ड आयोजना गर्दै ‘लक्की मिडिया हाउस’

घ.वि. सम्वाददाता
0
Shares

चितवन, चितवनमा ‘लक्की मिडिया हाउस’को आयोजनामा चलचित्र अवार्ड हुने भएको छ । यही असोज २५ गते उक्त कार्यक्रम आयोजना गर्न लागेको आयोजक संस्थाले जनाएको छ। आयोजक संस्था ‘लक्की मिडिया हाउस’ले जिल्लामा पहिलोपटक चलचित्र अवार्ड गर्न लागेको जानकारी दिएको छ ।

मिडिया हाउसले ‘लक्की फिल्मी अवार्ड, २०८०’ का नामबाट चितवनमा अवार्ड कार्यक्रमको आयोजना गर्न लागेको हो । कार्यक्रमका संयोजक तथा मिडिया हाउसका महाप्रबन्धक हरि कार्की (लक्की)ले नेपाली सिने जगतको संरक्षण र जगेर्ना गर्न मोफसलबाटै अवार्ड कार्यक्रम आयोजना गर्न लागिएको बताउनुभयो।

‘चलचित्र उद्योगको प्रवद्र्धन र प्रोत्साहन, कलाकारलाई हौसला र सम्मान’भन्ने नाराका साथ आयोजित उक्त अवार्डमा विभिन्न १० विधामा मनोनयनको काम सम्पन्न भएको छ । उत्कृष्ट सम्पादक, अभिनेत्री, अभिनेता, निर्देशक, चलचित्र गायिका, गायक, सङ्गीतकार, लेखन, र छायाकार लगायतको दश विधाको मनोनयन सार्वजनिक भएको हो ।

विधाबाहेक निर्णायक, लोकपृयलगायतका विधामा अवार्ड प्रदान गरिने कार्कीले जानकारी दिनुभयो । असोज २५ गते चितवन सिनेप्लेक्स सिजी मल, भरतपुरमा विशिष्ट चलचित्रकर्मीको साथमा भव्यरुपमा कार्यक्रम आयोजना हुने आयोजकले जनाएको छ ।

विसं २०७१ मा चितवनमा स्थापना गरिएको लक्की मिडिया हाउसले मोफसलमा रहेर नेपाली सिनेमा बजारको प्रचार र यसकोे प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ ।