छापामारलाई सेनापति बनाउने षड्यन्त्र !?

छापामारलाई सेनापति बनाउने षड्यन्त्र !?


राजनीतिक प्रशिक्षण प्राप्त एक हजार मात्र सेनालाई राष्ट्रिय सेनामा घुसाउन सकियो भनेपनि पूरै सेना आफ्नो नियन्त्रणमा आउनसक्ने विश्वास प्रचण्डको थियो । तर ब्यवहारमा त्यस्तो भएन, माओवादी छापामार र राष्ट्रिय सेनाका मानिस तेल र पानी झैँ छुट्टिएर बसे ।

‘माओवादी गुरिल्ला’लाई नेपाली सेनाको उच्च तहमा निरन्तरता दिने निर्णयको सर्बत्र विरोध भएको छ । २०६३ सालमा हिंसात्मक गतिविधिको विकल्पमा शान्तिपूर्ण कपटका माध्यमबाट सम्पूर्ण सत्ताप्राप्तिको रणनीतिक चाल चल्ने निर्णयका साथ खुला राजनीतिमा आएका प्रचण्डले नेपाली सेनालाई काबुमा लिन सुरुदेखि नै अनेकौँ प्रयत्न गर्दै आएका छन् ।

करिब चार हजारको सङ्ख्यामा रहेका माओवादी छापामारहरूको सङ्ख्या बढाएर एकतिस हजार पुऱ्याएका प्रचण्डले प्रमाणीकरणमा परेका उन्नाइस हजार छापामारलाई राष्ट्रिय सेनामा घुसाउने योजना बनाएका थिए । लामो समयको रस्साकस्सीपछि यमबहादुर अधिकारीको कमाण्डमा करिव एक हजार छापामारलाई बढीमा एउटा बढुवा खानेगरी राष्ट्रिय सेनामा सामेल गरिएको थियो । त्यसबेला यमबहादुरलाई मेजर तहको विशेष पद सिर्जना गरेर राखिएको थियो ।

राजनीतिक प्रशिक्षण प्राप्त एक हजार मात्र सेनालाई राष्ट्रिय सेनामा घुसाउन सकियो भनेपनि पूरै सेना आफ्नो नियन्त्रणमा आउनसक्ने विश्वास प्रचण्डको थियो । तर ब्यवहारमा त्यस्तो भएन, माओवादी छापामार र राष्ट्रिय सेनाका मानिस तेल र पानी झैँ छुट्टिएर बसे । २०६३ को परिवर्तनपश्चात् २०६५ मा प्रचण्ड प्रधानमन्त्री बनेका बेला बहालवाला सेनापति रुकमाङ्गद कटवाललाई हटाएर आफ्नो अनुकुलका जनरल कुलबहादुर खड्कालाई सेनापति बनाइ पूरा सेनालाई आफ्नो नियन्त्रणमा ल्याउने प्रयास पनि प्रचण्डबाट भएको हो, उनको त्यस्तो प्रयास पनि सफल हुन सकेन । बरू उल्टै आफूलाई प्राप्त प्रधानमन्त्री पद नै गुमाउन प्रचण्ड बाध्य भएका थिए । त्यसयता प्रचण्ड निकै होशियारपूर्वक सेनालाई आफ्नो काबुमा ल्याउने प्रयत्न गरिरहेका छन र, उनको अन्तिम योजना यमबहादुर अधिकारीलाई सेनापति बनाएर सम्पूर्ण सेनाको एकलौटी मालिक बन्नु भएको बुझिन्छ ।

अन्य उपायले काम नचलेपछि आफ्नै छापामारलाई सेनापतिको जिम्मेवारीसम्म पु¥याउने र, सेनालाई आफ्नो कमाण्डमा राखेर सम्पूर्ण सत्ताको मालिक बन्ने सपना प्रचण्डले देखिरहेका छन् । त्यसैले २०७५ सालमा एमालेसँग मिलेर नेकपा बनेपछि प्रचण्डले पूर्व सहमतिविपरीत छापामार यमबहादुरका निम्ति बेग्लै पद सिर्जना गरेर जनरल पदमा बढुवा गराउन सफल भएका थिए । त्यसअघि बाबुराम भट्टराई नामक व्यक्ति प्रधानमन्त्री भएका बेला जनरल पवन पाँडेलगायतको गुप्त सहयोगमा अधिकारीलाई मेजरबाट कर्णेल बनाइएको थियो । यसपटक प्रधानमन्त्री हुँदा तिनै यमबहादुर (सहायक रथी)को कार्यकाल तीन वर्षका लागि थप गर्ने निर्णय मन्त्रिमण्डलबाट गरियो । त्यसरी म्याद थप गर्न प्रधानसेनापति प्रभुराम शर्माको सहमति र सिफारिस भएको बुझिन्छ ।

कसको दबाबमा परेर प्रभुराम यमबहादुरको कार्यकाल लम्ब्याउन तयार भएका हुन् बुझ्न सकिएको छैन, तर उनले सिफारिस गर्नुलाई नै आश्चर्यजनक मानिएको छ । अहिले म्याद बढाएपछि नियमावली संशोधन गरेर यमबहादुरलाई सेनापति बनाउन ढोका खुल्ने बताइएको छ । कदाचित यमबहादुरलाई प्रधानसेनापति बनाउन प्रचण्ड सफल भए भने पूरा राष्ट्रिय सेनाको कमाण्ड प्रचण्डको हातमा पुग्नेछ, त्यसपछि सैन्य आडमा नै प्रचण्डले आफ्नो एकलौटी सत्ता चलाउने सम्भावना बढ्नेछ । प्रचण्डको यस्तै नियत बुझेर यमबहादुरको म्याद थप गरेको विषयलाई लिएर सर्वत्र विरोध भएको छ ।