विरोधिको पनि दशैँ पर्व !

विरोधिको पनि दशैँ पर्व !


✍ मोहन लामा रुम्बा

धेरैलाई लाग्दो होला दशैँ पर्व सिर्फ नेपाली सनातनीहरूले मात्रै मनाउने गर्छन् भनेर ! होइन नि हौ साथीहरू… विदेशीहरूलाई पनि त्यत्तिकै लाग्छ जति हामीलाई लाग्ने गर्छ ! विदेशीहरूले पनि हाम्रो यही पर्वको ‘छेक’ पारेर उनीहरूको आफ्नो विनाबर्दीका सेनाहरूलाई दशैँविरुद्धमा अभियान छेंड्न ठुलै धनराशि खर्च गर्नु परेको हुन्छ ।

उदाहरण-

(१) मिडियामा…

दशैँको टीकाअगाडि सडकमा कतै गाडी दुर्घटनामा परेर यात्रुहरूको मृत्यु हुन पुगेछ भने त्यस्ता समाचारलाई ‘यात्रुहरू दशैँको टीका थाप्न भनेर घरमा जाँदा गाडी दुर्घटनामा ठहरै मरे’ भनेर समाचारको हेडलाइन दिइन्छ भने दशैँको टीका सकेपछि सवारी दुर्घटनाको समाचारचाहिँ ‘घरमा वृद्ध बुबाको हातबाट टीका थापेर फर्कंदै गर्दा बाटोमा ठहरै परे’ भन्दै बढाइचढाइ गरिन्छ ।

एकपटक सोंच्नुस् त– कुनै हिन्दुबाहेकका जाति धर्मको पर्वमा यसरी ‘ईद’ मनाउन भनेर घरमा जाँदा.. क्रिस्टमस मनाउन जाँदा… या मनाएर फर्कंदा गाडीमा ठहरै भन्ने समाचार आउँछ ? सबैलाई थाहा छ– आउँदैन । त्यसैले यो पनि एक प्रकारको बिकाउ मिडियाहरू प्रयोग गरेर दशैँप्रति वितृष्णा बढाउने तथा दशैँको बदनाम गर्न खोज्ने मनोवैज्ञानिक आक्रमणको एउटा उदाहरण हो ।

(२) बुद्धिजीवी लेखक साहित्यकार…

पश्चिमी फण्डिङबाट बाँच्ने नेपालका सुकिला–मुकिला तथाकथित बुद्धिजीवीहरूलाई पनि दशैँको बेला भ्याइनभ्याइ हुन्छ । यतिबेला दशैँसम्बन्धी आलोचनात्मक लेख लेख्नुपर्ने हुन्छ, दशैँको टुपीदेखि पुच्छरसम्म खोतलेर पत्रपत्रिकामा लेख छपाएर आइएनजीओलाई दिनुपर्ने हुन्छ ।

के तपाईंलाई थाहा छ ? हिन्दुबाहेकका कुनै जाति समुदाय धर्मावलम्बीको पर्वको मुखमा त्यो पर्वसम्बन्धी समालोचनाको नाउँमा, समीक्षाको नाउँमा आन्द्राभुँडी केलाएर कुनै बुद्धिजीवी लेखक साहित्यकारको लेख आउँछ ? पक्कै तपाईंको जवाफ् हुने छ– हिन्दु बाहेक कुनै धर्मको आउँदैन ! यति भएपछि बुझ्नुस् हाम्रा बुद्धिजीवी लेखक साहित्यकारहरूले पनि दशैँको उछित्तो काड्न नै सही लेख लेखेर भए पनि आफ्नो मालिक खुशी पारेर दशैँ मनाउने गर्छन् !!

(३) फण्डेट जातिवादी :

पश्चिमी देशबाट फण्डेट जातिवादी संघसंस्थालाई पनि यही दशैँको बेला भ्याइनभ्याइ चटारो पर्छ, किनकि यही बेला प्रोग्रामको प्याकेज आउँछ अरु बेला भन्दा बढी, त्यसैले जतिसक्दो यही बेला प्रोग्राम आयोजना गर्न हतारो पर्ने गर्छ ।

️✍ दलित मोर्चाको प्रशिक्षणमा ‘त्यो महिषाशुर दलितको राजा हो, तिनलाई मारेको दिन हो दशैँ, त्यसैले हामी दलितले दशैँ मान्न हुँदैन’ भन्दै दशैँ मनाइरहेका हुन्छन् !

️✍ तामाङ मोर्चा : ‘त्यो रिन्छेन दोर्जे तामाङको राजालाई मारेको दिन पारेर हिन्दुले मानेको पर्व हो, त्यसैले हामी तामाङले दशैँ मान्न हुँदैन’ भन्दै दशैँ मनाइरहेका हुन्छन् !

️✍ मगर मुक्तिमोर्चा : ‘त्यो पृथ्वीनारायण शाहले हाम्रो मगर राजा मानसिंह खड्का मारेको दिन हो त्यसैले हामी मगरले दशैँ मान्न हुँदैन’ भन्दै यिनिहरूले पनि मनाइरहेका हुन्छन् !

️✍ राई र लिम्बुवान मोर्चा : ‘त्यो जंगबहादुरले दशैँ नमनाउँदा रामरिदम हाङलाई मारेको दिन हो, त्यसैले हामी राई लिम्बूले दशैँ मान्न हुँदैन’ भन्दै मनाई रहेका हुन्छन् !

️✍ गुरुङलाई ‘त्यो पृथ्वीनारायण शाहले हाम्रो घले राजा मारेको दिन हो, त्यही खुसियालीमा मनाएको दशैँ हो त्यसैले हामीले मान्न हुँदैन’ आदि–आदि यसरी प्रशिक्षण भाषण तालीम सेमिनार गोष्ठी यो दशैँमा भ्याइनभ्याइ हुन्छ । त्यसैले यो दशैँ पर्व विदेशी दातालाई पनि आफ्नो ‘फुट सोल्जर’ बिना बर्दीका साम्राज्यवादका सिपाही परिचालन गर्न पाल्न धौ–धौ हुन्छ भलै विरोधमा नै किन नहोस् तर विरोध गर्नकै लागि पनि दशैँ मान्न त मान्छन् मोराहरूले !!

️✍ अर्कोतिर तिब्बती प्रभावमा परेका गुम्बामा पनि यही बेला भ्याइनभ्याइ हुन्छ । माघ पुर्णिमाको तिथिमा बस्नुपर्ने मौनव्रत (न्युङने) यही दशैँमा राख्छन्, किनभने तामाङहरू दशैँ मान्न जाला भनेर ! उता चर्चमा पनि एक हप्तासम्म निरन्तर प्रार्थना तथा विभिन्न कार्यक्रम आयोजना गर्छन् । यसो गर्नुको कारण मानिआएको परम्परागत दशैँ पÞmेरि मान्न जाला भनेर मन भुलाउन यस्तो आयोजना गर्ने गर्छन् । ठिक त्यही काम गुम्बामा न्युङने भन्दै आयोजना गर्छ । जे होस्, दशैँ बाहिस्कारको नाउँमा भ्याइनभ्याइ यतातिर पनि हुन्छ ।

✍️ अर्को पनि झन् रोचक छ- बकर ईद पर्वमा सुतेको प्राणीप्रतिको मायामोह यही दशैँको बेला आन्द्राभुँडीदेखि माया जागेर आउँछ ! टाढा जान पर्दैन एउटा सानु उदाहरण लिउँ, यसपालिको ‘बकर ईद’मा कुनै संस्थाले कपनडाँडामुन्तिर रोहिंग्य शरणार्थी शिविरमा बस्ने इस्लाम दाजुभाइलाई पर्व मनाउन भनेर होला दुई ट्रक जति राँगाभैंसी ल्याएर झा¥यो । बकर ईदमा सबैले काटेर खाए, एकैदिन काट्दा रगतको आहाल भयो त्यो क्षेत्रमा । त्यो रगतको आहाल भन्दा मास्तिर ठूलो–ठुलो कपन गुम्बा छ तर सबै सुनसान छ, मौन बस्छ । त्यसरी त्यतिबेला मौन बस्ने गुम्बाहरू पनि यही दशैँको छेकमा बौरिन थाल्छ ! प्राणीको माया जाग्न थाल्छ र प्राण दान कार्यक्रम भन्दै “छेतार“ कार्यक्रमको आयोजना गर्छ !!

बडो अचम्म हो नि ! गुम्बाको मुन्तिर बकर ईदमा प्राण गएको प्राणी र दशैँमा प्राण गएको प्राणीमा भिन्नता !! जे होस्, यो पनि दशैँ मानेकै भन्नुपर्छ, भलै हिन्दु बौद्धमा मनोवैज्ञानिक फाटो ल्याउने परियोजना नै किन नहोस् !?

️✍ अर्को, सामाजिक संजालतिर ‘तामाङले दशैँ मान्दैन ल्होछार मान्छ !’ भन्दै पोस्ट गर्नेको भिड लाग्छ, तर क्रिष्टमस आउँदा ‘तामाङले क्रीष्टमस मान्दैन ल्होछार मान्छ’ भन्ने आउँदैन, बरु शुभकामनाको ओइरो जान्छ ! त्यसैले सामाजिक संजालमा पनि दशैँको रौनक अर्कै हुन्छ, भलै विरोधमा होस् तर मान्छन् !

️✍ यस्तै, शाकहारी आन्दोलन पनि बेजोडको छ, क्रिश्चियनको पर्वमा दशैँमा भन्दा बढी राँगा बोका जान्छ मेरो शक्तिखोर इलाकामा अर्को इस्लामको त प्रत्येक घरले एउटा बोका गाई गोरु उँट बली दिनैपर्छ । तर, त्यतिबेला कतातिर सुत्न जान्छन् कुन्नी.. यही दशैँको छेकमा बौरेर आउँछ यो साइत जुर्नु पनि संयोग मात्रै होइन होला, किनभने शाकहारी आन्दोलन त स्वास्थ्यसँग जोडिएको सधैंभरीको लागि एजेन्डा हो ! तर वर्षको एकपटक मात्रै आउने पर्व नै कुरेर बस्नु भनेको त कुछ-कुछ तो जरुर है !!