आजको पञ्चाङ्ग एवम् राशिफल (६ कार्तिक २०८० सोमबार, २३ अक्टोबर २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (६ कार्तिक २०८० सोमबार, २३ अक्टोबर २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर शरद ऋतु वि.सं. २०८० कार्तिक ६ गते तद्अनुसार सन् २०२३ अक्टोबर २३ तारिख सोमबार आश्विन शुक्ल पक्षको नवमी तिथि श्रवण नक्षत्र शूल योग तैतिल करण आनन्दादिमा सिद्धि योग चन्द्रमा मकर राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः०९ मा भयो र सूर्यास्त साँझ १७ः२६ बजे हुनेछ । महानवमी ।

आजको राशिफल

मेष – दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने समय छ । नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिने सम्भावना रहेकोले विचार पुऱ्याइ काम गर्नुहोला । स्वादिष्ट भोजनमा मन रमाउनेछ । तार्किक क्षमताले मानसम्मान दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् । आमोदप्रमोदमा रमिरहनुहुनेछ ।

वृष – सोचेको काम आज सफलतापूर्वक सम्पन्न हुने देखिन्छ । तर नजिकका साथीभाइ टाढिन सक्ने योग छ । अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । आफन्तजनबाट टाढिनुपर्ने समय छ । धर्म कर्ममा आकर्षण बढ्ला । आरोग्यता रहनेछ । यात्रापरक काम बन्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

मिथुन – बाध्यात्मक कार्यमा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ, तर नसोचेको ठाउबाट धनलाभ हुने योग छ । काम बिग्रने डरले भने आज सताइरहला । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । आफ्नै कमजोरीले विवादमा परिने सम्भावना रहेकोले सचेत रहनु हितकर होला । शत्रुपक्षमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – आजको दिन दौडधुप बढ्ला । ऋण रोग र शत्रुप्रति विशेष ध्यान दिनुपर्नेछ । धनलाभको सम्भावना र टाढाको यात्राको पनि योग रहेको छ । आज कृषिबाट सामान्य लाभ उठाउन सकिनेछ भने परिवारमा मातृमाध्यमबाट काम बन्न सक्छ । कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने अवसर पनि मिल्नेछ । सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन् । बौद्धिकता र रचनात्मकता बढ्नेछ । दामपत्यसुख बढ्नेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ । समग्रमा दिन रमाइलैसँग बित्नेछ ।

सिंह – पराक्रम र आरोग्यता बढ्नेछ । पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका मिल्ला । ठूलै फाइदाको आश्वासन पनि पाइनेछ । कामको तारिफ हुनेछ । विशेष योजनाहरू बन्नेछन् भने टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ । स्वास्थ्यको लागि मसलाजन्य खानाबाट आज विशेष सावधान रहनुहोला ।

कन्या – सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने समय छ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रशन्न रहला । असंयम व्यवहारले सम्बन्ध बिगार्न सक्छ, सजग रहनुहोला । बलभन्दा बुद्धिको उपयोग गर्न सक्दा फाइदा हुनेछ । आज खर्चचाहिँ केही बढ्न सक्छ । आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् । प्रेमपात्रसित भेटघाट हुनेछ भने प्रेमभाव बढ्ला । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । समस्याको समाधान मिल्नेछ ।

तुला – व्यस्तता बढ्नेछ । प्रतिस्पर्धी परास्त हुने समय छ । सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । पारिवारिक जमघटमा मन रमाउनेछ, तर भेटघाटको अलमलले नोक्सान पुऱ्याउन सक्छ । अवसर आए पनि मौकामा लाभ उठाउन नसकिने योग रहेकोले विशेष सतर्कता अपनाइ काम गर्नु हितकर हुनेछ । ठूलै प्रयत्न गर्दा सामान्यमात्र फाइदा हुनेछ, ध्यान राख्नुहोला । आरोग्यता रहनेछ । इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।

वृश्चिक – काममा लगानीको समय छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । विदेश भ्रमणका लागि प्रयत्न गर्दा सफलता मिल्नसक्ने समय छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । धनआर्जनको अवसर जुर्न सक्छ । उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । साथीभाइको सहयोग प्राप्त हुनेछ । पराक्रम र आरोग्यता बढ्नेछ । कार्यसफलता मिल्नेछ ।

धनु – मेहनतले प्रशस्त लाभ उठाउन सकिनेछ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । काममा विशिष्ट व्यक्तित्वको सहयोग प्राप्त होला । सहयोगीहरूबाट अलिक धोका पाइने सम्भावना रहेकोले सचेत रहनुहोला । खर्च सामान्य बढ्ने र बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्ने योग रहेकोले सावधानी अपनाउनुहोला ।

मकर – कर्मबल र ब्यस्तता वृद्धि हुनेछ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन होला । साझेदारीमा पनि फाइदा हुनेछ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ, तर स्वास्थ्यको लागि आज खानपानमा विशेष सावधानी अपनाउनु हितकर होला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । शत्रुपक्ष परास्त होलान् ।

कुम्भ – अवसरले पछ्याउनेछन् । बोलीको प्रभाव एवं कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ । आत्मविश्वास बढ्नेछ । रोकिएका काम बिस्तारै बन्नेछन् भने नयाँ काम समेत हातपर्ला । अनावश्यक वादविवादमा परिने योग रहेकोले बोली र व्यवहारमा संयमता अपनाउनुहोला । चुनौतीका बाबजुद आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दायित्व पूरा गर्नुहुनेछ ।

मीन – आजको दिन सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । तथापि, होसियारीसाथ काम लिनुपर्ने समय छ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । कृषिकर्म र व्यावसायिक काममा राम्रै फाइदा हुनेछ । पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा पनि फाइदा हुनेछ । आयबल बढ्ला । वार्तामा सफलता मिल्नेछ । समस्याको समाधान प्राप्त होला ।