आजको पञ्चाङ्ग एवम् राशिफल (१५ कात्तिक २०८० बुधबार, १ नोभेम्बर २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (१५ कात्तिक २०८० बुधबार, १ नोभेम्बर २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर शरद ऋतु वि.सं. २०८० कार्तिक १५ गते तद्अनुसार सन् २०२३ नोभेम्बर १ तारिख बुधबार कार्तिक कृष्णपक्षको चतुर्थी तिथि रोहिणी नक्षत्र ६ः३० पर मृगशिरा नक्षत्र परिघ योग बब करण आनन्दादिमा शुभ योग चन्द्रमा वृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः१५ मा भयो र सूर्यास्त सांझ १७ः१८ बजे हुनेछ ।

आजको राशिफल

मेष – कृषिकर्ममा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने समय छ । पितृधनको उपयोगबाट विशेष लाभ उठाउन सकिनेछ । अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन्, सतर्कता अपनाउनुहोला । विशेष योजना गोप्य राख्नु हितकर हुनेछ । सहयोगको आशा देखाउनेहरूमाथि भर नपर्नुहोला । मिठो भोजन प्राप्त हुनेछ । रोकिएको काममा सफलता मिल्ने योग छ ।

वृष – पठन-पाठनमा प्रगति हुनेछ र रोकिएका काम सम्पादन हुने समय छ । विशेष सभा-समारोहमा सहभागी बन्ने मौका जुट्ला । अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुऱ्याउनुहोला । स्वास्थ्यप्रति विशेष सजगता अपनाउनुहोला । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । पारिवारिक समस्याको समाधान मिल्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन – रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ । आम्दानी बढ्नेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । दाम्पत्य जीवन रमाइलो रहनेछ । व्यापारमा पनि फाइदै हुनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । पराक्रमका साथै बौद्धिकता र रचनात्मकता बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । शत्रुपक्ष परास्त हुनेछ ।

कर्कट – केही खर्च बढे पनि दिगो फाइदा हुने काम प्राप्त हुन सक्छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिने समय छ । मेहनतले धेरैको मन लोभ्याउने उपलब्धि हासिल होला । जीवनशैलीमा परिवर्तन आउन सक्छ । शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । पारिवारिक सुख मिल्ननेछ ।

सिंह – व्यवसायमा लगानी बढाउन सकिने दिन छ । स्वास्थ्यका लागि खानपानमा सचेत रहनुहोला । पुराना समस्या दोहोरिन सक्छन्, सचेत रहनुहोस् । मुख्य काममा बाधा हुँदा मन खिन्न हुनेछ, तथापि प्रयत्न गर्दा आश मारेको फल प्राप्त हुन सक्छ । परिस्थिति अप्ठ्यारो देखिए पनि केही काम बन्नेछन् । टाढाको यात्रा गर्ने अवसर जुट्न सक्छ । हितैषीजनको साथ मिल्नेछ ।

कन्या – नयाँ कामको प्रस्ताव आउने र विगतको सफलताले थप काम गर्न हौसला मिल्ने समय छ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । टाढिएका मित्रजन नजिकिनाले हर्ष बढ्ला । तपाईंको कामको धेरैले तारिफ गर्नेछन् । आयआर्जन पनि राम्रै हुनेछ । धर्मकर्ममा आकर्षण बढ्नेछ । पारिवारिक सुखशान्ति र पराक्रम बढ्नेछ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ ।

तुला – मान-सम्मान बढ्नेछ भने बोलीको भरमा काम सम्पादन हुने योग छ । विचारले धेरैलाई आकर्षण गर्न सक्नुहोला । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । चुनौतीहरू स्वतः हट्नेछन् । भाग्यले नचिताएको फाइदा दिलाउन सक्छ । तामसिक काममा आकर्षण बढ्ला । धन मान महत्वमा कमी आउनेछैन । समस्याको समाधान मिल्नेछ ।

वृश्चिक – नवीन योजना सिद्धिका लागि अनिच्छित सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्न सक्छ । पढाइलेखाइमा खास समय दिन नसकिएला । हुलमुलमा धनमाल हराउन सक्छ, सचेत रहनुहोला । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ । साझेदारीको काममा सफलता प्राप्त हुनेछ । आरोग्यता बढ्नेछ । दाम्पत्यसुख बढ्नेछ ।

धनु – सामर्थ्य बढ्नेछ । विछोडिएका परिवारजनसँग भेटघाट हुने समय छ । विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त होला । समुदायको भलाइ हुने काम सम्पादन गर्न सकिनेछ । विभिन्न अवसर जुटे पनि अरूलाई आश्वासन दिने बानीले भने दुःख पाइनेछ । जिम्मेवारी बढिरहनेछन् । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ । खर्च बढ्न सक्छ, योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।

मकर – नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ भेटिनेछन् । तर सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । पतिपत्नीबीच पनि घरसल्लाह नमिल्न सक्छ । आजको दिन सवारीसाधनको प्रयोगमा विशेष सावधानी अपनाउनु हितकर होला । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । व्यावसायिक काममा खर्च बढ्नेछ । नियमकानूनले साथ दिनेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ – राम्रै फाइदाको योग छ । सहयोगीहरूले काममा साथ दिनेछन् । विगतको श्रमबाट राम्रै धनलाभ हुनेछ । कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरू जुटिदिनाले आँटेका कामहरू सजिलै बन्नेछन् । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । प्रशंसकहरू बढ्नेछन् । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मीन – नयाँ काम र हातामा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्यांकन होला । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । नयाँ ज्ञान सिक्ने र व्यवसायमा लाभ लिने समय छ । सामाजिक कामको दायित्व बढ्ला । साझेदारीको काम बन्नेछ । समस्याको समाधान मिल्नेछ ।