इरानमा लागुऔषध पुनःस्थापना केन्द्रमा आगलागी, २७ को मृत्यु

इरानमा लागुऔषध पुनःस्थापना केन्द्रमा आगलागी, २७ को मृत्यु


उत्तरी इरानमा शुक्रबार एक लागुऔषध पुनःस्थापना केन्द्रमा भएको भीषण आगलागीमा कम्तीमा २७ जनाको मृत्यु एको त्यहाँको न्यायपालिकाले जनाएको छ ।

‘लङ्गारुडमा लागुऔषध पुनःस्थापना केन्द्रमा आगो लाग्दा २७ जनाको मृत्यु भएको छ र १२ जनालाई अस्पताल पुऱ्याइएको छ’, तेहरानबाट उत्तरमा गिलान प्रान्तको लङ्गारुड शहरको न्यायपालिकाको मिजान अनलाइन समाचार वेबाइटले प्रान्तीय मुख्यन्यायाधीश इस्माइल सादेघीलाई उद्धृत गर्दै भनेको छ ।

आगलागीको कारण तत्काल थाहा नभए पनि सादेघीले अनुसन्धान जारी रहेको बताएका छन् । केन्द्रमा ४० जनासम्म अटाउन सक्ने मिजानले जनाएको छ ।

स्थानीय आइएसएनए समाचार एजेन्सीले आगलागीको फुटेज सार्वजनिक गरेको छ जसमा रातिको समयमा आगोले आकाश उज्याले भएको र धुवाँको मुस्लो देखिन्छ । अन्य तस्बिरमा आगो निभाएपछि व्यापक क्षति भएका स्थलहरू देखाइएको छ ।

अगस्टमा तेहरानको ग्र्यान्ड बजारमा आगलागी हुँदा कयौँ पसल जले पनि कुनै मानवीय क्षति भएको थिएन । त्यस्तै सन् २०१७ जनवरीमा तेहरानमा १५ तलाको प्लास्को सपिङ सेन्टरमा आगलागी हुँदा १६ अग्निशमनकर्तासहित कम्तीमा २२ जनाको मृत्यु भएको थियो ।