मध्यपूर्वका समुन्द्र छेउछाउ अमेरिकी पनडुब्बी जहाज !

मध्यपूर्वका समुन्द्र छेउछाउ अमेरिकी पनडुब्बी जहाज !


इजरायल-हमास युद्धको बीचमा अमेरिकी सेनाले एक असामान्य घोषणा गरेको छ । अमेरिकाको निर्देशित मिसाइल आणविक पनडुब्बी मध्यपूर्वको पानीमा प्रवेश गरेको सेनाले जनाएको छ । यो पनडुब्बी ओहायो क्लासको हो, तर यसको नाम भने अझै खुलाइएको छैन ।

अमेरिकी केन्द्रीय कमाण्डले सामाजिक सञ्जालमा पनडुब्बीको तस्बिर शेयर गर्दै लेखेका छन्- ‘ओहायो क्लासको पनडुब्बी आफ्नो जिम्मेवारी क्षेत्रमा प्रवेश गर्दैछ ।’

सीएनएन रिपोर्टका अनुसार ओहायो पनडुब्बी स्वेज नहरको वरपर कतै देखिन्छ । अमेरिकी केन्द्रीय कमाण्डले पनडुब्बीको नाम भने खुलाएको छैन । हाल अमेरिकी नौसेनासँग चार प्रकारका गाइडेड मिसाइल पनडुब्बीहरू छन् । यसबाहेक अमेरिकासँग टमाहक क्रुज मिसाइलले सुसज्जित एसजीएनहरू पनि छन् । एसजीएनले एक पटकमा १५४ टमाहक क्रुज मिसाइल बोक्न सक्छ।

इजरायल र हमासबीचको युद्धमा अमेरिकाले इजरायलको समर्थन गर्दै आएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले टर्की, इजरायल, इराक, वेस्ट बैंक, जोर्डनसँग मध्यपूर्वको युद्धको अवस्थाका बारेमा बैठक गरिरहेका बेला अमेरिकाले मध्यपूर्वमा आणविक पनडुब्बी तैनाथ गरेको छ ।

एकातिर वार्ताको मञ्च अपनाउने र अर्कोतर्फ समुद्रमा पनडुब्बी परिचालन गरेपछि अमेरिकाको रणनीतिमाथि प्रश्न उठिरहेको छ । पछिल्लो यस कदमका आधारमा अमेरिकाले आफूमाथि भइरहेको आक्रमणको जवाफ दिनसक्छ भन्ने सन्देश मध्यपूर्वलाई दिएको विश्वास गरिएको छ ।

इराक र सिरियामा रहेका अमेरिकी सेनालाई इरानसमर्थित समूहहरूले नियमित रूपमा आक्रमण गर्ने गरेका छन् ।