बुर्किना फासो नरसंहारमा करिब १०० जनाको मृत्यु

बुर्किना फासो नरसंहारमा करिब १०० जनाको मृत्यु


पश्चिम अफ्रिकी देश बुर्किना फासोमा भएको नरसंहारमा करिव सय जना सर्वसाधारणको मृत्यु भएको छ । युरोपेली संघको कूटनीतिक सेवाले जनाएअनुसार बुर्किना फासोको उत्तर-मध्य क्षेत्रको जाओन्गो गाउँमा भएको नरसंहारमा महिला र बालबालिका सहित करिब एक सय सर्वसाधारणको मृत्यु भएको खबर छ ।
जाओन्गो गाउँ बोल्सा शहरबाट करिब ६० किलोमिटर टाढा छ । घटनाको कारण र संलग्नता बारे अहिलेसम्म कुनै जानकारी सार्वजिनक भएको छैन । अभियोजक साइमन ग्यानोउलाई उद्धृत गर्दै एएनआईले जनाएअनुसार अहिलेसम्म घटनाको यथेष्ट प्रमाण भेटिएको छैन ।

बुर्किना फासो सन् २०२२ को जुलाईदेखि सैनिक शासनको अधीनमा छ। सैन्य अधिग्रहण पछि जन्टाले सुरक्षालाई प्राथमिकता दिएको छ तर इस्लामवादी समूहहरूलाई नियन्त्रण गर्न संघर्षरत छ ।

विभिन्न किसिमका आतङ्ककारी आक्रमणबाट सयौं नागरिकको मृत्यु भएको छ । बुर्किना फासो हिंसाको केन्द्रबिन्दु बनेको छ । अल कायदा र इस्लामिक स्टेटसँग सम्बन्धित इस्लामवादी समूहहरूका गतिविधि विशाल सहेल क्षेत्रमा फैलिएको छ ।

एम्नेस्टी इन्टरनेशनलका अनुसार गरिब राष्ट्रको ठूलो भाग ‘युद्ध अपराध र मानवअधिकार उल्लङ्घन गर्ने’ सशस्त्र समूहहरूको घेराबन्दीमा छ । यसै वर्षको अप्रिलमा छुट्टाछुट्टै गाउँहरूमा कम्तीमा ४४ जनाको ज्यान गएको थियो । जुन जन्टा अधिकारीहरूले इस्लामवादी आतङ्कवादीहरूलाई दोष लगाएका थिए ।

अप्रिलमा नै सैन्य पोशाकमा सशस्त्र व्यक्तिहरूले सोही क्षेत्रको एउटा गाउँमा गरेको आक्रमणमा १३६ जना नागरिक मारिएका थिए ।