बाइडेन र सीद्वारा सैन्य सम्बन्ध पुनःस्थापित !

बाइडेन र सीद्वारा सैन्य सम्बन्ध पुनःस्थापित !


अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका चिनियाँ समकक्षी सी जिनपिङ सैन्य सञ्चार पुनःस्थापना गर्न सहमत भएका छन् ।

विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएका यी दुई मुलुकबीचको बढ्दो तनावलाई द्वन्द्वमा परिणत हुनबाट रोक्ने उद्देश्यले आयोजित पहिलो शिखर सम्मेलनमा चार घन्टाको वार्ताका क्रममा दुई राष्ट्रप्रमुखहरूले हात मिलाए अनि ऐतिहासिक क्यालिफोर्निया एस्टेटको एक बगैँचामा टहलिएका थिए ।

चीनले अमेरिकामा घातक महामारीका लागि जिम्मेबार औषधि फेन्टेनाइलको उत्पादनमाथि रोक लगाउने बारेमा पनि बाइडेन र जिनपिङ सहमत भएका छन् ।

चीन र ताइवानको ‘पुनःएकीकरण’ रोक्न नसकिने भन्दै चिनियाँ राष्ट्रपति सीले आफ्ना अमेरिकी समकक्षीसमक्ष ताइवानलाई हतियार आपूर्ति रोक्न आग्रह गरेसँगै दुवै नेताले ताइवानको विषयमा आफूलाई टाढा राखेका एएफपीले जनाएको छ ।

सन् २०२२ नोभेम्बरमा बालीमा वार्तामा सहभागी भएयता यी दुई नेताबीच भेट भएको थिएन । यसै वर्षको फेब्रुअरीमा अमेरिकाले कथित चिनियाँ जासुसी बेलुनलाई गोली हानेपछि दुई मुलुकबीचको सम्बन्ध चिसिएको थियो ।

सन् २०११ देखि नै सीलाई चिनेको उल्लेख गर्दै बाइडेनले क्यालिफोर्नियाको फिलोली एस्टेटमा पत्रकार सम्मेलनमा भनेका छन्, ‘हामीले अहिलेसम्मको सबैभन्दा रचनात्मक र फलदायी वार्ता गरेका छौँ ।’ द्वन्द्व वा आकस्मिक द्वन्द्वमा नफसियोस् भनेर अमेरिकाले दृढरूपमा प्रस्तुत हुँदै गएको चीनसँग ‘जोडदार’ तर ‘जिम्मेबारीपूर्वक’ प्रतिस्पर्धा गर्ने राष्ट्रपति बाइडेनको भनाइ छ ।

“हामी कुनै पनि फोन उठाउन सक्छौँ, सिधै फोन गर्न सक्छौँ र हाम्रो कुरा तुरुन्तै सुनिनेछ भन्नेबारेमा उहाँ र म सहमत भएका छौँ”, राष्ट्रपति बाइडेनले प्रष्ट्याएका छन् ।

उनका अनुसार सम्भावित द्वन्द्वबाट बच्न उच्चस्तरीय अमेरिका-चीन सैन्य सञ्चार पुनःस्थापना गर्न ‘आलोचनात्मकरूमा महत्त्वपूर्ण’ थियो । तत्कालीन अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेपछि चीनले सन् २०२२ जुनमा अमेरिकासँगको सैन्य सञ्चार तोडेको थियो ।

दुवै पक्ष कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स)का साथै आगामी महिना दुबईमा हुने कोप२८ शिखर सम्मेलनअघि जलवायु परिवर्तनसम्बन्धी सहयोगलाई अझ गहिरो बनाउन सहमत भएका बताइएको छ ।