भ्रममा नपर्न कार्की बैंक्वेटको आग्रह

भ्रममा नपर्न कार्की बैंक्वेटको आग्रह


अभियन्ता प्रसाईंको अभिव्यक्तिबारे यस्तो छ कार्की बैंक्वेट सञ्चालकको प्रष्टिकरण

काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटले चर्चित मेडिकल व्यवसायी एवम् नागरिक अभियन्ता दुर्गा प्रसाईंद्वारा गरिएको दाबी सत्य नभएको प्रष्टिकरण दिएको छ ।

राष्ट्र, राष्ट्रियता र धर्म संस्कृति बचाउने उद्घोषसहित गणतन्त्रको विरोधमा मंसिर ७ गते राजधानीकेन्द्रित प्रदर्शन गर्न लागेका प्रसाईंले आन्दोलनको समर्थनमा लाखौँ जनता राजधानीमा भेला हुने र त्यसरी काठमाडौं आएका हजारौँ जनतालाई कार्की बैंक्वेटले खाने/बस्ने सुविधा प्रदान गर्ने भनी एक टिभि अन्तर्वार्ताका क्रममा अभिव्यक्ति दिएपछि सो कुरा सही नभएको कार्की बैंक्वेटका प्रोप्राइटर दिलबहादुर कार्कीले स्पष्ट पारेका हुन् ।

काठमाडौं आएका आफ्ना ४० हजार नागरिकलाई बबरमहलको कार्की बैंक्वेटले खाना खुवाउने प्रतिबद्धता जनाएको भनी प्रसाईंले दाबी गरेपछि गृहमन्त्री स्तरबाटसमेत कार्कीसँग सोबारे जानकारी लिइएको बुझिएको छ । यसरी उपल्लो स्तरबाटै खोजिनीति हुन थालेपछि तनावमा परेका बैंक्वेट सञ्चालकले स्पष्टिकरण दिएका हुन् ।

प्रसाईंसँग आफ्नो दोहोरो चिनजान र बोलचालसमेत नभएको जिकिरका साथ सञ्चालक कार्कीले ‘उहाँ (दुर्गा प्रसाईं) ले किन यस्तो कुरा गर्नुभयो मलाई थाहा छैन’ भन्दै अनभिज्ञता प्रकट गरेका छन् । कार्की बैंक्वेटले हजारौँ नागरिकलाई खाना र बस्ने सुविधा उपलब्ध गराउँछ भन्ने प्रसाईंजीको अभिव्यक्तिको भ्रममा नपर्न सञ्चालक कार्कीले आग्रह गरेका छन् ।