पच्चीस हजारभन्दा बढीले अवलोकन गरे अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी

पच्चीस हजारभन्दा बढीले अवलोकन गरे अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी


काठमाडौंमा आयोजना भएको ‘दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी-२०२३’ मा करिब २५ हजारभन्दा बढीले अवलोकन गरेका छन् । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ र करेन्ट मिडिया एण्ड रिसर्च सेन्टर प्रालिको संयुक्त आयोजनामा भृकुटीमण्डपमा भएको प्रदर्शनीको उपभोक्ताले नेपालका नवप्रकाशन, विदेशी चर्चित तथा धार्मिक पुस्तक रुचिकासाथ खरिद गरेको पाइयो ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घका केन्द्रीय सदस्य एवं प्रदर्शनी आयोजक समितिका संयोजक राजेन्द्र तिवारीले इतिहासमै पहिलोपटक व्यवस्थित र अन्तर्राष्ट्रियस्तरको पुस्तक प्रदर्शनी आयोजना गरिएको प्रतिक्रिया दिए । नेपालसहित विश्वका १५ देशका प्रकाशक, उत्पादक र व्यवसायीको सहभागिता रहेको प्रदर्शनीमा हरेक दिन पाँच हजारभन्दा बढीले प्रदर्शनीको अवलोकन गरेको उनले बताए ।

उनले भने, ‘हाम्रो मुख्य चाहना भनेको पठन संस्कृतिको विकास कसरी गर्न सकिन्छ । पाठकहरूले चाहेको समयमा चाहेको पाठ्यपुस्तक कसरी उपलब्ध गर्न सक्छन् त्यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भनी मुख्य उद्देश्य राखेर मेलाको आयोजना गरिएको हो ।’

प्रदर्शनीका क्रममा हरेक दिन पठक संस्कृतिसम्बन्धी गोष्ठी गरियो, जहाँ सरकारी अधिकारी, व्यवसायी, राजनीतिक दलका नेता एवं सरोकारवालालाई आमन्त्रण गरेर पठन संस्कृतिको प्रवर्द्धनमा तपाईँको भूमिका के भनी बहस र अन्तक्र्रिया चलाइएको थियो ।